सहसचिवको दरबन्दीमा गएका रामेछाप र दैलेखका उपसचिव सिडिओ तानिए


काठमाडौं। गृह मन्त्रालयले निर्देशिकाविपरीत सहसचिवको दरबन्दीमा पठाएका रामेछाप र दैलेखका उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ) तानेको छ। रामेछापका उपसचिव सिडिओ राजुप्रसाद पौडेल र दैलेखका सिडिओ नवराज जैसीलाई गृह मन्त्रालय तानिएको हो।

रामेछापमा अपांग कोटाबाट सहसचिव भएका तनहुँका सिडिओ श्यामकृष्ण थापालाई पठाइएको छ। सिडिओ बनेर जन्मजिल्ला (घर) गएका दैलेखका सिडिओ उपसचिव नवराज जैसीलाई मन्त्रालय तानेर दैलेखमा मन्त्रालयको जगेडामा रहेका सहसचिव बद्रीनाथ गैह्रेलाई सिडिओ बनाएर पठाइएको हो। गैह्रे बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवबाट गृह मन्त्रालय आएका थिए। उनै सहसचिव गैह्रेलाई दैलेखको सिडिओमा पठाइएको छ।

तनहुँको सिडिओमा भने गृह मन्त्रालयको जगेडामा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई खटाइएको छ। अधिकारी नुवाकोटको सिडिओबाट गृहको जगेडामा पुगेका थिए। उनलाई तनहुँको सिडिओ बनाएर पठाइएको हो।

गृहले सहसचिवको दरबन्दीमा रहेका रामेछापका सिडिओ पौडेल र दैलेखका जैसीलाई झिकेपनि अझै ५ जिल्लामा बाँकी छन्। जुम्लाका रामबहादुर शाही, सल्यानका सावित्रा पुन, बैतडीका दिर्घराज उपाध्याय, डडेलधुराका चोमेन्द्र न्यौपाने र डोटीका मोहनराज जोशी सहसचिवको दरबन्दीमा रहेका उपसचिव सिडिओ हुन्। उनीहरू निकै शक्तिशाली देखिएका छन्। गृहमा ठूलो संख्यामा सहसचिव बरन्डामा घुमिरहेपनि उपसचिवले नै सिडिओ बनेर मस्ती मारिरहेका छन्। गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडी सहसचिवको दरबन्दीमा भएका उपसचिव सिडिओका अगाडि निरीह देखिएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #नवराज जैसी, #बद्रीनाथ गैह्रे, #राजुप्रसाद पौडेल, #रामकृष्ण अधिकारी, #श्यामकृष्ण थापा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ