संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन
टिआरसीको अध्यक्षमा केसी र बेपत्तामा गड्तौलाको सम्भावना बढ्यो

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग गठनको प्रक्रिया अघि बढेको छ। सरकारले द्वन्द्वकालीन घटनाका मुद्दा टुंग्याउन सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनको प्रक्रिया अघि बढाएको हो।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले ३४ जना आवेदनको संक्षिप्त सूची सार्वजनिक गरेको छ। उनीहरूलाई वैशाख २४ गतेदेखि २६ गतेसम्म प्रस्तुतीकरण दिने गरी तय गरिएको छ। उजुरी र प्रस्तुतीकरणको मूल्यांकनपछि समितिले पदाधिकारी र सदस्यहरूका लागि सरकारलाई सिफारिस गर्नेछ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष कसलाई चयन गर्ने भनेर लगभग भद्र सहमति भइसकेको स्रोतले दाबी गऱ्यो। कांग्रेसको भागमा टिआरसी र एमालेको भागमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष परेको स्रोतले बतायो।
स्रोतका अनुसार कांग्रेसबाट टिआरसीको अध्यक्ष शेरबहादुर केसी बन्ने गरी तयारी भइरहेको छ। नेपाल बार एसोसिएसनका निर्वतमान अध्यक्ष गोपालकृष्ण घिमिरेलाई बारको अध्यक्ष बनाउने भनिएपनि सर्वोच्च अदालतमा अवहेलना मुद्दा विचाराधीन रहेकाले उनी संक्षिप्त सूचीमा परेनन्। त्यसैले समितिले सिफारिस गरेको खण्डमा शेरबहादुर टिआरसीको अध्यक्ष बन्ने पक्कापक्की जस्तै देखिन्छ। द्वन्द्वपीडितले शेरबहादुरको नाममा व्यापक असहमति जनाए पूर्वनायब महान्यायाधिवक्ता विश्वराज कोइरालाको ‘भाग्य चम्किने’ सम्भावना पनि जीवितै छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने एमालेबाट पूर्वमुख्यसचिव लिलादेवी गड्तौलाको नाम निश्चित जस्तै देखिन्छ। गड्तौलालाई उच्चका पूर्वन्यायाधीश महेश थापाले टक्कर दिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र रहेकाले थापाले गड्तौलालाई उछिन्ने सम्भावना न्यून रहेको छ।
सदस्यहरुमा भने डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिंह सिंजापति, कृष्णप्रसाद सुवेदी, गोपालनाथ योगी, टीकाप्रसाद ढकाल, नरेन्द्रकुमार केसी, मानबहादुर विश्वकर्मा, रेश्मा थापा, राजुप्रसाद चापागाईं, श्रृजना पोखरेल, सन्तोष बाबु सिग्देललगायतको सम्भावना बढी देखिन्छ।
अध्यक्ष र सदस्य दुबैमा हालेका अग्नीप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, विजयसिंह सिंजापति र विश्वराज कोइरालाको सदस्यमा व्यवस्थापन हुने उच्च सम्भावना छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस