परराष्ट्र जान लेखाका उपसचिवबीच मारामार, अवकाशको मुखमा रहेका नियन्त्रक पाण्डेको चलखेल

काठमाडौं। भारतको नयाँदिल्लीस्थित नेपाली आवासीय दूतावासमा कार्यरत लेखाका उपसचिव यदुनाथ भट्टराई तीन वर्षे कार्यकाल सकेर फर्किनेबेला भएको छ। यदुको ठाउँमा जान परराष्ट्र मन्त्रालयका लेखा उपसचिव भेषप्रसाद भुर्तेल खुट्टा उचालेर बसेका छन्। बढुवाको मुखमा रहेका उपसचिव भुर्तेल छोटो समय मात्रै दिल्ली दूतावासमा बस्नेछन्।
भुर्तेल दिल्लीबाट छिट्टै फर्किने भएकाले दिल्ली जाने लाइनमा बस्नका लागि परराष्ट्र मन्त्रालय जान लेखाका उपसचिवबीच मारामार देखिन्छ। परराष्ट्र जाने दौडमा लेखाका उपसचिवहरू निरज केसी, रामचन्द्र शर्मा र मधुसुधन पौडेलबीच मुख्य प्रतिस्पर्धा रहेको मलेनिका स्रोतले बतायो। अवकाशको मुखमा रहेका महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेले निरजलाई परराष्ट्र पठाउन जोडबल गरिरहेको स्रोतले दाबी छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटालाका नाइके नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई ब्रह्मा, विष्णु र महेश्वर ठान्ने पाण्डे मलेनिकाका कर्मचारी प्रशासन शाखा प्रमुख उपसचिव निरज केसीप्रति पनि नतमस्तक रहेको बुझिन्छ। स्रोतका अनुसार ५८ वर्षे उमेर हदका कारण यहीँ वैशाख २९ गते घर जान लागेका पाण्डे निरजलाई जसरी पनि परराष्ट्र पठाएर बिदा हुन चाहन्छन्।
अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेशकुमार घिमिरेभन्दा सिनियर रहेपनि सचिव पाण्डे उनीहरू मातहतको अड्डामा बसेर काम गर्नुले उनको विषयमा थप टिप्पणी गर्नु आवश्यक छैन। तर, अवकाशको मुखमा जसरी पनि सरूवा गर्न लागिपर्नुले पाण्डेले नियत छर्लङ्ग हुन्छ। त्यसमाथि महालेखा नियन्त्रक कसलाई कसरी परराष्ट्र मन्त्रालय पठाउन खोजिरहेका छन् त्यसले पनि उनको गतिविधि शंकास्पद देखिन्छ।
सडक विभाग ताकिरहेका निरज ‘ह्वाट मनी’ कमाउन छोटो समयमै दिल्ली जान पाउने भएकोले सडक हापेर त्यतै जान तम्सिएका हुन्। मलेनिकामा ‘गौंडा ढुकेर’ बसेका ज्ञानेन्द्र ओझा निरजलाई परराष्ट्र पठाएर कर्मचारी प्रशासन शाखा हुँदै सडक विभाग जाने दाउमा रहेका छन्। सडक विभागका उपसचिव रविन कोइरालाले पनि उनीहरूलाई ‘कम्पनी’ दिइरहेका छन्।
परराष्ट्र जान मलेनिकाका कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा प्रमुख उपसचिव रामचन्द्र शर्मा पनि दौडधुपमा रहेका छन्। परराष्ट्रको लिगलिगे दौडमा निरजलाई उछिने फड्को मार्ने रामचन्द्रको प्रयास देखिन्छ। निरज र रामचन्द्रलाई रोकेर परराष्ट्रका लागि लबिइङ गरिरहेका लेखाका अर्का उपसचिव हुन् मधुसुधन पौडेल। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलका निजी सचिव रहेका मधुसुधन पौडेल दोमासे निरज र रामचन्द्रलाई ‘चक्मा’ दिएर परराष्ट्र जाने दाउमा देखिन्छन्। गत असारमा आन्तरिक प्रतिस्पर्धाबाट लेखाको उपसचिव बनेका मधुसुधन अर्थमन्त्रीको निजी सचिव भएकाले उनको सम्भावना पनि बलियो रहेको स्रोतले बतायो। अर्थमन्त्री कै हस्तक्षेप भए पाण्डेले च्यापेका निरज र रामचन्द्र हेरेको हेरै हुने अवस्था आउन सक्छ।
परराष्ट्र जानका लागि मलेनिका कै रेजिना कोइराला र सहरी विकास मन्त्रालयका लेखा उपसचिव हिरा न्यौपाने पनि प्रतिस्पर्धामा रहेको चर्चा छ। झापाली प्रधानमन्त्री भएको नाताले उनी परराष्ट्र जाने सम्भावनालाई नकार्न सकिन्न। तर, हिराले रामचन्द्रका लागि त्याग गर्न सक्ने जानकारहरू बताउँछन्।
मलेनिकामा सरूवा बेथिति
महालेखा नियन्त्रक कार्यालयमा उपसचिवको सरूवामा व्यापक बेथिति देखिएको छ। सरूवा निर्देशिकाविपरीत उपसचिव लावण्य दाहाललाई एक वर्षमै ४ ठाउँमा सरूवा गरिएको हो।
एक वर्षमै दाहाल मेलम्ची खानेपानी आयोजना, राष्ट्रिय सतर्कता केन्द्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै कुमारीचोक पुगेका छन्। कानुनको धज्जी उडाउँदै उनलाई लगातार ४ ठाउँमा सरूवा गरिएको हो। भूमिमा लेखा अधिकृत टिपी भण्डारीसँग लफडा परेपछि उनी कुमारीचोकको प्रमुख बन्न गएका हुन्।
त्यस्तै लेखा उपसचिव हेमराज पौडेल सिंचाइ विभागबाट कुमारीचोक आएको छोटो समयमै आन्तरिक राजश्व विभागमा फड्को मार्न सफल भएका छन्। अवधिभन्दा बढी सिंचाइ विभाग बसेका पौडेल कुमारीचोक हुँदै आन्तरिक राजस्व विभाग पुग्नुले महालेखाको सरूवा निर्देशिका असफल भएको छ। महालेखा नियन्त्रकमा गणेशप्रसाद पाण्डे आएपछि मलेनिकाको सरूवामा व्यापक बेथिति देखा पर्न थालेको हो। जाँदाजाँदै पाण्डेले मलेनिकाका ‘कालोधब्बा’ लगाउने खतरा बढेको छ।
क्याटेगोरी : समाचारट्याग : #ज्ञानेन्द्र ओझा, #डा गणेशप्रसाद पाण्डे सचिव, #निरज केसी, #परराष्ट्र मन्त्रालय, #मधुसुधन पौडेल, #महालेखा नियन्त्रक कार्यालय, #यदुनाथ भट्टराई, #रामचन्द्र शर्मा, #रेजिना कोइराला, #लेखा उपसचिव भेष भुर्तेल, #हिरा न्योपाने
तपाईको प्रतिक्रिया दिनुहोस