समानान्तर कमिटी बनाउन निरन्तरता दिने माधव नेपाल समूहको निर्णय

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले देशभर समानान्तर कमिटी विस्तारको अभियान जारी राख्ने भएको छ ।
बुधबार कलंकीस्थित एक पार्टी प्यालेसमा नेपाल पक्षका स्थायी समिति सदस्यहरूबीच भएको छलफलपछि यस्तो अडान दोहोर्याएको हो ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधान मिच्ने क्रियाकलाप जारी रहेसम्म अभियान नरोक्ने कुरालाई पुनर्पुष्टि गरेको नेता भीम रावलले जानकारी दिए ।
‘जबसम्म केपी ओलीजीका विधान मिच्ने क्रियाकलाप बन्द हुँदैनन्, तबसम्म हामी अगाडि बढ्नुपर्छ भन्ने कुरालाई पुनर्पुष्टि गरेका छौं,’ छलफलबारे जानकारी दिँदै रावलले भने।
नेपाल पक्षले गत चैत ६ र ७ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर देशभर समानान्तर चार महिने अभियान चलाउने निर्णय गरेको थियो ।
आजको छलफलमा अभियानबारे समीक्षा भएको र सफलताका साथ अगाडि बढेको निष्कर्ष निकालिएको जानकारी रावलले दिए ।
‘हामीले देशभर जुन अभियान चलाएका छौं, त्यो सफलताका साथ अगाडि बढिरहेको छ,’ उनले भने, ‘अहिले कोरोना संक्रमणका कारणले गर्दा यसलाई रोक्नु पर्ने भएता पनि हामीले यसलाई जारी गराख्नुपर्द छ ।’
रावलले कोरोनाका कारण केही गतिविधि बन्द भए पनि अभियान भने नरोकिने बताए । उनले भने, ‘अभियानलाई बन्द गर्नेबारे सोचेका छैनौं तर अहिले यो महामारीका समयमा कतिपय गतिविधिहरू बन्द हुन सक्छन वा कम हुन सक्छन् ।’
घोषित अभियान अनुसार नेपाल पक्षले समानान्तर कमिटी निर्माण गरिरहेको छ।
क्याटेगोरी : समाचारट्याग : #एमाले
तपाईको प्रतिक्रिया दिनुहोस