भेरिएन्ट नयाँ–नयाँ आउँछन्, गम्भीर तयारी गर्नु आवश्यक छ
सिकिस्त बिरामीको जीवनरक्षा हुने आसमा मान्छे प्लाज्मा खोज्दै भौँतारिएका छन् । प्लाज्माथेरापीले जीवन रक्षा गर्ने सम्भावना कति छ ?
उपचारमा प्लाज्मा चलाउन थालेको करिब ६० वर्ष भइसक्यो । भ्याक्सिन लिँदा जस्तै एन्टिबडी संक्रमणबाट गुज्रिसकेका मान्छेको रगतमा पनि हुन्छ । एन्टिबडी कसैको धेरै हुन्छ, कसैको कम । उपचारका उपाय पहिचान नभएको महामारीको सुरुवात कालमा प्लाज्माको एन्टिबडीले बचाउँछ कि भनेर उपचारमा थोरै यो विधि प्रयोग गरियो । केहीलाई फाइदा पनि भयो । अमेरिकामा विस्तृत अध्ययन भयो । प्रमाणको आधारमा वृद्धवृद्धा, दीर्घरोग भएकालाई सुरुकै चरणमा प्लाज्मा दिइयो भने मृत्युबाट बचाउन पनि सकिने देखियो ।
गम्भीर भएर अस्पतालमा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्लाज्माले खासै लाभ गर्दैन, डुबिरहेकालाई सिन्काको सहारा भने जस्तो मात्रै हो । अगाडि नै दिइयो भने चाहिँ प्लाज्माले काम गरेर जोगाउन सक्छ । सुरुकै अवस्थामा प्लाज्मा दिनका लागि खोज्नुप¥यो । त्यतिको धेरै प्लाज्मा पाउन पनि गाह्रो छ ।
बिरामी गम्भीर अवस्थामा भएको वेला हतासमा परिवारजनले उपचार मात्र होइन, पूजा–पाठ, भाकलले हुन्छ कि भनेर हरसम्भव यत्न गर्छन् । चिकित्सकले प्लाज्माले गर्छ कि भन्दिए प्लाज्मा खोज्न थाल्छन् । तर, चिकित्सकले त्यो अवस्थामा के गर्ने, के नगर्नेमा सही निर्णय गर्न सक्नुपर्छ ।
गम्भीर अवस्थामा पुगेपछि भाइरसलाई मार्नेभन्दा पनि दबाउने हो । यसमा स्टेरोइड प्रकारका औषधि, अक्सिजन काम लाग्छ भन्ने वैज्ञानिक रूपले प्रमाणित भइसकेको छ । गम्भीर अवस्थामा पुगिसकेकोमा प्लाज्मा प्रभावकारी हुँदैन ।
रेम्डेसिभिर सुईको कालोबजार भइरहेको छ । यसको प्रभावकारिताको प्रमाण के छ ? कि प्लाज्माकै जस्तो फाइदै नहुने अवस्थाका लागि बिरामीका परिवारजन सुई खोज्दाको सास्ती व्यहोरिरहेका छन् ?
कोभिडका दुइटा चरण छन् । पहिलो दुई–तीन दिनदेखि भाइरस मल्टिप्लाई (गुणा) गर्दै विकसित हुँदै जान्छ । शरीरले भाइरसलाई चिनिसकेको हुँदैन । प्रतिरक्षा गर्ने प्रणाली बनाइसकेको हुँदैन । तर, भाइरस यस्तोसँग फैलिँदै जान्छ कि हप्तादिनमा शरीरका कोषहरूमै आक्रमण गर्न थाल्छ ।
कोषहरूमा आक्रमण भएपछि हाम्रै प्रतिरक्षा प्रणालीले हामीलाई बिरामी पार्ने हो । यसवेलामा प्लाज्मा पनि काम छैन, रेम्डेसिभिर पनि काम छैन, कुनै एन्टिभाइरल काम छैन । त्यो वेला हाम्रो रोगप्रतिरोधात्मक क्षमता विकास गर्ने औषधि स्टेरोइड नै हो । यसैले ढिलो भएपछि प्लाज्माका लागि हारगुहार गर्न जरुरी हुन्न । कालोबजारमा रेम्डेसिभिर खोजेर सास्ती व्यहोर्नु पर्दैन ।
दोस्रो लहरमा युवा काफी प्रभावित भए । तेस्रो लहर फैलिए बालबालिका उच्च जोखिममा रहने अनुमान गरिन थालिएको छ । कतिको सत्य हो ?
सुरुमा देखिएको भाइरसले बालबालिकामा संक्रमण गराउँदैन, भइहाले पनि लक्षण नहुने अध्ययनले देखाएको थियो । बिस्तारै भाइरस म्युटेसन (रूपान्तरण) हुँदै गएपछि बालबालिकामा पनि संक्रमणको दर बढ्दै गएको छ ।
हाल प्रयोग गरिएका भ्याक्सिनबाट बालबालिका लाभान्वित नहुनु, विद्यालय खोलिनु आदिले अर्को लहरमा बालबालिका बढी प्रभावित हुने अनुमान गरिएको हो । हाल प्रयोगमा आएका खोप १६ वर्षभन्दा माथिकालाई मात्रै प्रयोगमा ल्याइनुले पनि बालबालिका जोखिममा छन् ।
हालसम्म बालबालिकामा संक्रमणले जटिल रूप नलिए पनि भाइरसले शरीरको प्रतिरोधी क्षमतामा पर्ने असरका कारण केही समयपश्चात् अन्य समस्या देखिने गरेको छ । यस्ता केसहरू हाल थोरै संख्यामा हुँदा जोखिम नदेखिए पनि महामारीमा बालबालिकाको ख्याल राख्न आवश्यक छ ।
कोभिड नियन्त्रणका लागि लकडाउन वा निषेधाज्ञा कति लम्ब्याउन सकिन्छ ?
यो बाध्यता हो । निषेधाज्ञा–लकडाउन लम्बिँदै जाँदा खान–बस्नै मुस्किल हुन थालेको छ । ताइवान, न्युजिल्यान्ड आदि देशले लकडाउनविनै संक्रमण नियन्त्रण गरेका छन् । हामीकहाँ दूरी कायम राख्ने, मास्क प्रयोग गर्ने, भीडभाड नगर्ने, बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने जस्ता मापदण्ड पालन गराउन सकिएन ।
भारतमा जस्तो अक्सिजन र बेड नपाउने अवस्था नआओस् भन्नका खातिर मात्रै निषेधाज्ञा आवश्यक भएको हो । अस्पताल भर्ना हुने, संक्रमण र मृत्युदर नघटेसम्म लकडाउन आवश्यक छ, कम्तीमा एक महिना जान सक्छ । धेरै लम्ब्याउने कि नलम्ब्याउने चाहिँ नागरिकको हातमा पनि छ । सुरक्षा सतर्कता एकदमै पालना भए लकडाउन नगरी लड्ने जोखिम मोल्न सकिन्छ ।
संक्रमण व्यवस्थापनका लागि समुदायले आइसोलेसन सेन्टर निर्माण गर्न थालेका छन् । दक्ष जनशक्ति र व्यवस्थापनमा कमी भई ती आइसोलेसन सेन्टर नै संक्रमण सेन्टर बन्ने जोखिम छ कि छैन ?
समुदायमा संक्रमण फैलिन नदिन आइसोलेसन सेन्टर आवश्यक देखिएको हो । पछिल्लो समय अक्सिजन र चिकित्सक आवश्यक पर्ने बिरामीको संख्या बढी हुँदा आइसोलेसन सेन्टरको आवश्यकता झन् बढेको छ । लक्षण नभएका संक्रमित घरमै आइसोलेसनमा बस्न उचित हुन्छ ।
आइसोलेसन सेन्टर व्यवस्थित नहुँदा जोखिम बढ्न सक्छ । अक्सिजन, औषधि चलाउन दक्ष जनशक्तिको सेवा अपरिहार्य हुन्छ । साथै, संक्रमण नियन्त्रणको उपाय नभई आइसोलेसन सेन्टर खोल्न दिनु हुँदैन ।
दोस्रो लहर भारत हुँदै नेपाल आयो । यो हाम्रो लागि कति अपेक्षित थियो ? अर्काे, यो जति घातक देखिएको छ, घातक भाइरसको शक्तिले हो या हाम्रो अव्यवस्थाले हो ?
दोस्रो लहर आउँछ, तेस्रो पनि आउँछ भन्ने पूर्वानुमान थियो । श्वासप्रश्वासबाट सर्ने यस्ता भाइरस यसै गरी आउने गरेको विगत छ । कोरोना भाइरस पुरानै हो, आइरहेकै छ । यो (नोवेल कोरोना) भाइरस अझै सिकिस्त पार्ने किसिमको हुनाले वर्षैपिच्छे आउने र हामीबीच रहनेवाला छ ।
रोगप्रतिरोधी क्षमता विकसित हुँदै गएपछि कम सिकिस्त बनाउला, तर यो हराइहाल्नेवाला छैन । त्यसैले हामी तयारी अवस्थामा रहनुपथ्र्यो । पहिलो लहर हाम्रोमा खासै घातक देखिएन ।
सुरुमा देखिएको भाइरसले बालबालिकामा संक्रमण गराउँदैन, भइहाले पनि लक्षण नहुने अध्ययनले देखाएको थियो । बिस्तारै भाइरस म्युटेसन हुँदै गएपछि बालबालिकामा पनि संक्रमणको दर बढ्दै गएको छ ।
सरकार–नागरिक सबै सतर्क भएका पनि हौँ । सीमा बन्द गर्ने, घरभित्रै बस्ने, मास्क लगाउने आदि सुरक्षा सतर्कता अपनाएका थियौँ । लकडाउनको पनि धेरै हदसम्म पालना भएको थियो । मान्छेले दुःख पाए पनि दुःखअनुसारको फल पनि पाइएको थियो । भाइरसले भयानक रूप देखाउन पाएन, मानवीय क्षति थोरै भयो । त्यसपछि हामी नेपालीलाई त कोरोनाले नसक्ने रहेछ भन्ने भ्रम पर्यो ।
कसैले हिमाली चिसो हावा पाएकालाई कोरोनाले केही गर्न सक्तैन भने, कसैले बर्गर खाने पो कमसल हुन्छन्, मसलासहितको तरकारी, दाल–भात खानेलाई कोरोनाले के गर्न सक्छ भन्ठाने । कसैले पूर्वीय सभ्यता किन पश्चिमभन्दा उत्कृष्ट छ भनेर व्याख्या गर्न भ्याए । कुरा पूर्व वा पश्चिमको होइन, वैज्ञानिक–प्रामाणिकताको हो । पोहोर महामारी नियन्त्रणमै रहेको सत्य हो । अहिले किन यस्तो भयावह ? उत्तर स्पष्ट छ, हाम्रो हेलचेक्र्याइँ । हामीले कोरोनालाई जित्यौँ भन्ने भाव सरकारदेखि सर्वसाधारणसम्मै आयो । कतिपय चिकित्सकमा समेत आयो । अहिलेको भाइरस पोहोरको भन्दा फरक छ, म्युटेसन भएको भाइरस हो, दु्रत गतिमा फैलिन्छ ।
युवा उमेरसमूहका मान्छेमा पनि लक्षण देखिइहाल्छ । भाइरसको मात्रा (भाइरल लोड) पनि बढी देखिएको छ । हाच्छ्युँ गर्दा पहिले सयवटा निस्किन्थ्यो भने अहिले लाखवटा निस्किन्छ । भाइरल लोड बढी भएकाले पहिला एकजनाबाट दुईजनामा सथ्र्याे भने अहिले दर्जनमा सर्छ ।
खोपबारे विविध र परस्पर विरोधी धारणा छन् । बेलायतमै पनि खोप लगाएपछि त्यहाँको एउटा सीमान्त समुदाय ‘हामीमाथि परीक्षण गर्न ल्याएको, बहिष्कार गर्नुपर्छ’ भनेर खोपविरोधी अभियान चलाउन पुग्यो । हाम्रोमा पनि सुरुमा खोप लगाउन उति आकर्षित भएनन् । कतिपय चिकित्सक–स्वास्थ्यकर्मीले लगाएनन् । दोस्रो लहर सुरु भएपछि खोप केन्द्रमा एक्कासि भीड हुन थाल्यो । फेरि पनि खोप लगाएकै संक्रमित भए भनेर त्रास छ । साभार नयाँ पत्रिका
क्याटेगोरी : अन्तर्वार्ताट्याग : ##डा. जनक कोइराला
तपाईको प्रतिक्रिया दिनुहोस