हामी फेरि कहिलेदेखि हात मिलाउन सक्छौँ ?

यसबीचमा अभिवादनको यो शैलीलाई चुनौती दिन अरू धेरै शैली आए, हाइ–फाइभ र पछिल्लो दशकको ‘हग’ । यी नयाँ शैलीको चुनौती पनि सामना गरेको ह्यान्डसेक कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु हुनुअघिसम्म जारी थियो । यो महामारी फैलिएपछि भने हात मिलाएको दृश्य मुस्किलले देखिने गरेको छ । धेरैजसोले त हात मिलाउनेबारे सोच्न पनि छाडेका छन् । त्यसो भए, के अब यो चलन हराएर जाला ? वा यसले कोरोना भाइरसको चुनौती पनि सामना गर्ला ?
कोभिड महामारी सुरु भएपछिको अवधिलाई हेर्ने हो भने दृश्य सुखद देखिन्न । ‘हामीले यो अभ्यासलाई भंग गर्न आवश्यक छ,’ अमेरिकाको संक्रामक रोग विज्ञ डा. एन्थोनी फउसी भन्छन्, ‘कोरोना भाइरस संक्रमण फैलाउने मुख्य कारणमध्ये हात मिलाउनु पनि एक हो ।
हात मिलाउँदा तपाईंले श्वास–प्रश्वाससम्बन्धी रोग अर्काे व्यक्तिमा फैलाउने सम्भावना रहन्छ ।’ अभिवादनका यी शैली सुरु भएको समयदेखि नै अस्तित्वको संकटमा देखिएका हुन् । कोभिड महामारीको यो समयमा अझ गम्भीर संकटमा देखिएको छ । ‘हात मिलाउनुको अर्थ सम्मान व्यक्त गर्नु हो,’ न्युयोर्कस्थित शिष्टाचारसम्बन्धी कन्सल्टेन्सी बिउमोन्ट इटिक्विटका संस्थापक माइका मिइअर भन्छन्, ‘तर, अहिले तपाईंले एउटा हात अघि बढाउनुभयो भने गलत काम गर्नुभएको ठहरिनेछ ।’
विज्ञहरूको तर्क सुन्दा अब हात मिलाएर गरिने अभिवादनको यो शैली लोप हुने दिशातर्फ अग्रसर छ । वा यसलाई अहिले सुुषुप्त अवस्थामा रहेको भन्दा हुन्छ । फेरि सुरुवातीकालकै कुरा गरौँ । मिलाउने चलन प्राचीनकालदेखिकै हो । विज्ञहरू हात मिलाउने चलनले दुई युद्धरत पक्षबीच शान्ति ल्याउने काम गरेको अनुमान गर्छन् । तर, फेरि पनि हात मिलाउने शैलीको भविष्य राम्रो छैन । लाखौँ मानिस इतिहासमै पहिलोपटक घरबाट आफ्नो कार्यालयको काम गरिरहेका छन् । बहुराष्ट्रिय ठूला कार्यालय अझै खाली–खाली छन् ।
‘यसको सामना गरौँ,’ शिष्टाचार गुरू थोमस फार्ले भन्छन्, ‘अहिले आफ्नो स्वास्थ्यमा ध्यान दिनु जरुरी छ । यसबारे धेरै चिन्ता गर्न आवश्यक छैन ।’ त्यसो हो भने पनि व्यापार वा व्यवसायकै सन्दर्भ वा व्यक्तिगत जीवनमा कुनै नयाँ व्यक्तिसँगको पहिलो भेट भएकै हुन्छन् । त्यसवेला अभिवादनका कुनै माध्यम त प्रयोग गर्नु नै पर्छ । यो समय हामीसँग हात मिलाउनु वा यो महामारीबाट डराएर बस्नुको विकल्प हुनेछैन ।
पछिल्लो समय हात मिलाउनुको सट्टा अरू केही शैली पनि चलनमा देखिएका छन् । धेरैले एक–अर्काको कुहिना मिलाउने गरेको देखिएको छ । यो चलन कतिपय ठाउँमा चर्चित भएको पनि देखिएको छ । तर, व्यावसायिक क्षेत्रमा यो चलन त्यति सुहाउँदैन । कतिपय ठाउँमा एक–अर्काका खुट्टा ठोकाउने चलन पनि सुरु भएको छ । गत मार्चमा जिम्मी किम्मेलले घुँडा–घुँडा मिलाएर गरिने अभिवादन सार्वजनिक गरेका थिए । यी शैली कम हास्यास्पद छैनन् । त्यसैले सामाजिक रूपमा स्वीकार्य हुने अभिवादनका अरू शैलीको खोजी अझै जारी छ । तर, कहिले भेटिएला ?
अमेरिकामा एक–अर्कासँग भेट हुँदा हात आफ्नै छातीमा राखेर औपचारिकता निभाउने चलन पनि सुरु भएको छ । मुस्लिम संस्कृतिसँग कतै मिल्दोजुल्दो यो शैलीमा इमान देखिने फार्ले बताउँछन् । मिइअरको सुझाब पनि उस्तै छ । उनी आफ्ना विद्यार्थी र आफूसँग सहयोग माग्न आउनेहरूलाई एउटै सुझाब दिन्छन्, ‘एउटा हात आफ्नो छातीमा राख्नुहोस् । त्यसपछि अर्काे हात पछाडि लगेर झुक्नुहोस् । हात मिलाउनुभन्दा यो शैलीको अभिवादन सुरक्षित हुनेछ ।’
भर्खरै भएको एउटा भर्चुअल कार्यक्रममा काल्सवाद क्यालिफोर्नियास्थित स्वान स्कुल अफ प्रोटोकलका संस्थापक इलेइन स्वानले देशभरि रहेका शिष्टाचारसम्बन्धी कार्यालयले धेरै ठाउँमा सर्वसाधारणहरू ‘नमस्ते’ गर्दै शारीरिक दूरी कायम गरेको देखेको बताए । ‘हात नमिलाईकन एक–अर्कासँग बोलिरहँदा साँच्चिकै केही सुरक्षित महसुस हुँदोरहेछ,’ स्वान भन्छन्, ‘छातीमाथि हात राखेर गरिने व्यवहारले एकअर्कालाई अझ नजिक्याउने महसुस हुँदो रहेछ ।’
खेलकुद क्षेत्र पनि एउटा उदाहरण बन्न सक्छ । एक–अर्काबीच हातलाई मुट्ठी बनाएर ठोकाउने (फिस्ट बम्प) अभिवादन खेलकुदमा चर्चित छ । यो शैली बास्केटबलका चर्चित अमेरिकी खेलाडी फ्रेड कार्टरले सन् १९७० तिर भित्र्याएका हुन् । खेलकुदमा यो शैली अहिले पनि निकै चर्चित छ ।
हात मिलाउनुभन्दा यो शैली केही सुरक्षित पनि हुन सक्छ । कम्तीमा यो शैलीमा एकअर्काले औँलाले छुँदैनन् । यसबाट भाइरस चाँडै मुखभित्र पस्ने सम्भावना पनि कम हुन्छ । यो शैलीले कम्तीमा अहिलेको संकटबाट बच्न मद्दत गर्नेछ । यो शैली कोभिड संकटको समय बच्ने प्रयासस्वरूप प्रयोग गरिएका मास्क, स्यानिटाइजर जस्ता विकल्पमध्ये एक हुनेछ । यी परिवर्तन आवश्यक पनि भइसकेका छन् । धेरै कार्यालय फेरि खुल्ने क्रम जारी छ । उनीहरू फेरि पुरानै अवस्थामा फर्कन्छन् भन्ने कुरालाई विश्वास गर्ने हो भने पनि अभिवादनको यो पुरानो शैलीको विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।
न्युयोर्क टाइम्स
तपाईको प्रतिक्रिया दिनुहोस