दुबीका बिरामीले छालाको स्याहार कसरी गर्ने ?


किन आउँछ सेतो दूबी ?

सेतो दुबी छालालाई रङ दिने कोषिका मेलानोसाइटको विनाशले हुने सौन्दर्य समस्या हो । जसमा दूध रङको धब्बाहरू आउने गर्छ । यसबाट संसारका एक प्रतिशत मानिस प्रभावित छन् । जुनसुकै उमेर वर्ण, जाति, लिंगलाई असर गर्ने भए पनि ७०–८० प्रतिशतमा यो ३० वर्षको उमेर वर्षअघि नै देखा पर्छ ।

यो छालामा मात्र नभएर मुख र यौनांगहरूमा पनि हुन सक्छ । कालो वर्ण हुनेहरूमा दुबी प्रस्टसँग देखिने भएकाले यसलाई लिएर बढी चिन्तित हुने गर्छ । यो समुदायमा यसलाई ठूलो समस्याका रूपमा लिने गरेको पाइन्छ । दुबीको कुनै लक्षण हुँदैन, यो आफैँमा नराम्रो रोग भने होइन । यसको उपचार नगर्दा पनि हुन्छ, तर यससँग सम्बधित सामाजिक, मानसिक र मनोवैज्ञानिक पक्ष भने निकै गम्भीर छ । परिवर्तित बनोटले गर्दा सामाजिक भेदभाव हुने भएकाले व्यक्ति स्वयंको मनोबल कमजोर हुन्छ र सामाजिक एकाग्रताको बाटो रोज्ने गरेको पाइन्छ । यसका कारण ७५ प्रतिशत मानिसमा कुनै न कुनै मानसिक वा मनोवैज्ञानिक असर गरेको हुन्छ । त्यसमध्ये ६२ प्रतिशत डिप्रेसनको सिकार बन्छन् भने आठ प्रतिशतले त आत्महत्याको बाटोसमेत रोज्ने गरेको डरलाग्दो तथ्यांक छ ।

कारण
दुबी के कारणले हुन्छ भन्ने ठोस प्रमाण अझैसम्म पत्ता लागेको छैन । यसका कारणका बारेमा विभिन्न सिद्धान्त भने छन् । जस्तो कि वंशाणुगत ९३०५०, अटोइम्युन, अक्सिडेटिब स्ट्रेस, न्युरल । कारण जे भए पनि अन्त्यमा मेलानोसाइटको विनाश नै हुने हो । केही वातावरणीय तत्वहरू जस्तै– घाम, चोटपटक, घर्षण, मानसिक तनावले पनि यसलाई बढाउँछ । केही केमिकल जस्तै कपाल रंग्याउने केमिकलहरू, रबर, किटनाशक औषधि, छाला सेतो बनाउने कस्मेटिक क्रिमहरूले पनि बढाउन सक्छ । जसलाई केमिकल भिटिलिगो भनिन्छ । दुबी हुने मानिसहरूमा अरू अटोइम्युन रोगहरू पनि हुने सम्भावना हुन्छ ।

प्रकार

  1. सीमित ठाउँमा वा कुनै सेग्मेन्टमा
  2. धेरै ठाउँमा धेरैवटा
  3.  लगभग शरीरको ८० प्रतिशत भाग ओगटेको

रोगको पूर्वानुमान
दुबीको पूर्वानुमान अत्यन्तै अप्रत्याशित छ । धेरै मानिसमा यो बिस्तारै बढ्दै जाने र एउटा समयमा गएर वर्षौँ स्थिर हुने हुन्छ । केहीमा यसको ठ्याक्कै पूर्वानुमान गर्न सकिदैन । तर कुनै कुराहरू भने अनुमान गर्न सकिन्छ । जस्तो कि यदि दुबी कम उमेरमा सुरु भएको छ भने धेरै फैलिने डर हुन्छ, सिमित ठाउँमा छ भने छिट्टै फैलिन रोकिन्छ, रौँ नभएको भाग जस्तै औँलाको टुप्पो, ओठमा ढिलो रङ आउँछ भने कपाल भएको छालामा छिटो आउँछ ।

उपचार
दुबीको रोकथाम सम्भव छ, तर जम्मा १०–२० प्रतिशतमा मात्र यो पूर्ण निको हुन्छ । उपचारको उद्देश्य भनेको थोरैभन्दा थोरै औषधिको प्रयोगमा यसलाई रोकथाम गर्ने हो । यसको उपचार धेरै विषयमा भर पर्छ । दुबीको प्रकार, ठाउँ ९कपाल भएको वा नभएको०, गतिशील वा स्थिर, बिरामीको अपेक्षा इत्यादि ।

उपचार विधिमा लगाउने मलम, खाने औषधि, सेक्ने विधि, रङ छोप्ने कस्मेटिक क्रिमहरू, सर्जरी, प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गर्ने महङ्गा औषधिहरू हुन्छन् । मनोवैज्ञानिक परामर्श पनि एक महत्वपूर्ण उपचार हो ।

यसका उपचार सुविधा सहर बजारमा मात्र हुने हुनाले र लामो समय धाइरहनुपर्ने हुनाले हाम्रोजस्तो देशमा सबै ठाउँमा सम्भव नहुन सक्छ । त्यस्ता ठाउँहरूमा औषधि खाएर घाममा सेकाउने विधि प्रयोग गर्न सकिन्छ । जसलाई पुवा थेरापी भनिन्छ । यदि दुबी ८० प्रतिशतभन्दा पनि बढी ठाउँमा छ भने सेतो भागलाई सामान्य बनाउनेभन्दा पनि बचेको सामान्य भागलाई दीर्घकालीन रूपमै सेतो बनाउने मलमको प्रयोग गर्न सकिन्छ ।

दुबीको सर्जरी अहिलेको निकै चर्चित उपचार विधि हो । यो सबै प्रकारका लागि उपयोगी हुँदैन, तर उपयुक्त व्यक्तिको छनोट गर्न सके यसको राम्रो नतिजा हुन्छ । सर्जरीमा मुख्यतया सामान्य रङ भएको छालालाई दुबी भएको ठाउँमा लगेर प्रत्यारोपण गरिन्छ । यसमा चार–पाँच थरी प्रविधिहरू छन् । यो त्यति जटिल सर्जरी होइन र यसको प्रभावकारिता ८० देखि ९० प्रतिशत छ । समान्य साइडइफेक्टबाहेक यसमा कुनै जोखिम हुँदैन ।

भ्रम

  1. दूध र माछा सँगै खानाले
  2.  अमिलो खायो भने बढ्छ
  3.  दुबी भएकाहरूलाई छालाको क्यान्सर हुने सम्भावना हुन्छ

यी कुनै विषयमा सत्यता छैन, बरु भिटामिन सीयुक्त अमिलो कुराले झनै राम्रो गर्छ । माछामा पाइने ओमेगा ३ भन्ने तत्वले झनै राम्रो गर्दछ । ऐन्टिअक्सिडेन्ट र भिटामिनयुक्त खाना जस्तै फलफूल, हरियो तरकारी, नट्स खानाले केही मात्रामा कम गर्न वा बढ्न नदिन मद्दत गर्छ । तर मदिरा, प्रशोधित मासु, धेरै गुलियो कुरा, ग्लुटेनयुक्त खानेकुरा भने नखाँदा राम्रो हुन्छ । पछिल्लो अध्ययनअनुसार दुबी भएकाहरूमा छालाको क्यान्सरको जोखिम झनै कम देखिएको छ ।

दुबीका बिरामीले ध्यान दिनुपर्ने पक्ष

  1. घामबाट बच्ने
  2. चोटपटक लाग्न नदिने
  3. रबरको जुत्ता वा चप्पलको प्रयोग नगर्ने
  4. कसिलो इलास्टिक भएको कपडा नलगाउने
  5. धेरै तनाव नलिने र यसलाई सहर्ष स्विकार्ने

(भुसाल छाला यौन तथा सौन्दर्य विशेषज्ञका रूपमा माल्दिभ्समा कार्यरत छन् । प्रा।डा। भट्टराई सोसाइटी अफ डर्माटोलोजी एन्ड लेप्रोलोजी अफ नेपालको निवर्तमान अध्यक्ष हुन् ।)

क्याटेगोरी : जीवनशैली, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ