डाक्टर गोविन्द केसीद्वारा अनशन स्थगित
काठमाडौं । स्वास्थ्य शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा. गोविन्द केसीले भदौ ३ गतेदेखि घोषणा गरेको सत्याग्रह कार्यक्रम स्थगित गरेका हुन् ।
प्रधानमन्त्री देउवा र डा. केसीबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको थियो । वार्तामा देउवाले सार्वजनिक पदहरुमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने र स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्रोतका अनुसार राज्यमन्त्रीको कामनहेरी टिकाटिप्पणी गर्नु उपयुक्त नहुने बताइएको छ । दुई/तीन महिना राज्यमन्त्री उमेश श्रेष्ठको काम हेरेपछि त्यसबारे धारणा बनाउने विषयमा सहमति भएको हो ।
छलफलमा प्रधानमन्त्री देउवा, चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अञ्जनीकुमार झा, स्वास्थ्य क्षेत्रमा सक्रिय पत्रकार दिपक दाहाल, डा. केसीका सहयोगी प्रितम सुवेदी र अधिवक्ता ओम प्रकाश अर्याल सहभागी थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस