राप्ती प्रतिष्ठानमा उपकुलपतिको मनपरी

 डा. भण्डारीको कुकुर उपचार खर्चसमेत प्रतिष्ठानको जिम्मामा


काठमाडौं । लाभको पद र पहुँचमा पुगेका मान्छेहरूले आफ्नो सौखका लागि राज्यकोषलाई कतिसम्म दोहन गर्छन् भन्ने उदाहरण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी विवादास्पद उपकुलपति डा. संगीता भण्डारीको कर्तुत हेर्दा पुग्छ ।

राप्ती प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी सम्हालेदेखि नै विवादमा आएकी डा. भण्डारीले आफ्नो सौखका लागि प्रतिष्ठानको स्रोतको चरम दुरूपयोग गरेको पाइएको छ । कतिसम्म भने भण्डारीले आफ्नो कुकुर उपचार गर्दाको बिलसमेत प्रतिष्ठानबाटै तिराउने गरेको रहस्य फेला परेकाे  छ ।

भेटेरीनरीले आफ्नो घरमा आएर कुकुरको सेवा गरेबापत थमाएको बिलको भुक्तानी डा. भण्डारीले प्रतिष्ठानबाटै गराउने गरेको भेटिएको हो । उनले प्रत्येकपटक कुकुर उपचार खर्च प्रतिष्ठानबाट भराउने गरेको प्रतिष्ठान स्रोतको भनाइ छ ।  उपकुलपति डा. भण्डारीले प्रतिष्ठानको स्रोत साधन कसरी चरम दुरूपयोग गरेकी थिइन् भन्ने कुरा यसबाटै प्रस्ट हुन्छ ।

विवादकैबीच कार्यकाल सकियो

तत्कालिन स्वास्थ्यमन्त्री दिपक बोहराको जोडबलमा नियुक्ति पाएकी उपकुलपति डा. भण्डारीको चार वर्षे कार्यकाल नै विवादास्पद र उपलव्धिबिहीन बनेको प्रतिष्ठानका कर्मचारीहरूको आरोप छ ।

राजनीतिक सन्तुलन मिलाएर प्रतिष्ठानको स्रोत साधन चरम दुरुपयोग गर्ने डिजाइनमा रहेपनि उनले सन्तुलन मिलाउन नसकेको देखिन्छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुकाअनुसार डा. भण्डारी उपकुलपति बने पश्च्यात आफ्नै सिफारिसमा त्रि. वि. शिक्षण अस्पतालका माओवादी समर्थक प्रा. डा. रतेंद्र श्रेष्ठलाई शिक्षाध्यक्ष, एमाले समर्थ डा. ऋतु बराललाई डीन र कांग्रेस समर्थक रामप्रसाद प्याकुरेललाई रजिष्ट्रार नियुक्त गराउन सफल भइन् । उनको आर्थिक चलखेल गर्नथालेपछि शिक्षाध्यक्ष डा. श्रेष्ठ र डिन डा. बरालले प्रतिष्ठान छाडेर हिड्न बाध्य भएको अधिकारीहरु सुनाउँछन् ।

शिक्षाध्यक्ष डा. श्रेष्ठले तत्कालिन स्वास्थ्यमन्त्रीलाई उपकुलपति भण्डारीका अनियमितताका प्रमाणहरुसहित निवेदनसमेत दिएका थिए । तर भण्डारीले सेटिङ मिलाएर निवेदनमाथि कारबाही प्रक्रिया अघि बढ्न नदिए उनी राजीनामा दिएर हिँडेका थिए ।

श्रेष्ठको राजीनामापछि उपकुलपति भण्डारीले तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादव निकट डा. विश्वनाथ यादवलाई शिक्षाध्यक्ष नियुक्त गरिन् तर डा. यादवसँगसमेत ६ महिनामै पानी बाराबार गर्न थालेपछि उनले पनि प्रतिष्ठान छोडेका थिए ।  यादवले भण्डारीविरुद्ध सिनेटमै उजुरी दिएका थिए तर त्यसमाथि पनि कुनै सुनुवाई हुन सकेन ।

उपकुलपति भण्डारीले आर्थिक विवादमा फसाउन खोजेको भन्दै उनकै जोडबलमा नियुक्त रजिष्ट्रार रामप्रसाद प्याकुरेल पनि राजीनामा दिएर हिँडेका थिए । यति धेरै पदाधिकारीसँग झगडा गरेर संस्था अस्थिर बनाउने उपकुलपतिको रुपमा  डा. भण्डारी परिचित छिन् ।

आर्थिक रूपमा निरन्तर बदनाम हुने गरेकी उपकुलपति डा. भण्डारीको कार्यकालमा विभिन्न अनियमितता भएको उजुरीहरु परेको सम्बन्धमा छानबिन गर्न पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको संयोजकत्वमा संसदीय छानबिन समितिसमेत बन्यो । त्यस्तै डा. गुणराज लोहनीको संयोजकत्वमा मन्त्रालयको छानबिन समिति र पुन: सह-सचिव मधुसुदन बुर्लाकोटीको संयोजकत्वमा मन्त्रालयले अर्को छानबिन समिति बनायो । तीनवटै समितिले उपकुलपति भण्डारीमाथि कारबाहीको सिफारिस गरेको थियो । तर, मन्त्रालयले बनाएको छानबिन समितिले दिएको प्रतिवेदन स्वास्थ्य मन्त्रालयबाटै गायब पारिएको छ । कानुनी प्रक्रियामार्फत स्वास्थ्य लाइभले खोजी गर्दा ती प्रतिवेदन भेट्न सकेको छैन ।

यता उपकुलपति भण्डारीले आफ्नो सम्पूर्ण कार्यकाल मेडिकल उपकरण खरिद र कमिसनमा बिताइन् भन्ने आरोप लाग्न थालेको छ । त्यो  विषयमा स्वास्थ्यलाइभले  तथ्य प्रमाणसहित सार्वजनिक गरिसकेको छ ।

विश्वविद्यालयस्तरको भनिएको प्रतिष्ठानमा उपकुलपति भण्डारीको कुनै पनि शैक्षिक कार्यक्रम शुरु गर्ने तथा स्वास्थ्य अनुसन्धानको तर्फ कार्य गर्ने तर्फ कुनै ध्यान रहेको आरोप लाग्दै आएको छ । स्थापनाको पाँचौं वर्षमा पनि कुनै शैक्षिक कार्यक्रम शुरु गर्न नसक्नेमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो बनेको छ ।

शैक्षिक कार्यक्रम शुरू गर्न भन्दा कुकुर पाल्नमै भण्डारीको प्राथमिकता रहेपछि सरकारको राप्तीमा लगानी बालुवामा पानी भएको चर्चा छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ