केएमसी कलेजले विद्यार्थीमाथि लुट र शोषण गरेको भन्दै विद्यार्थी आए मिडियामा


काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एमबीबीएस र बिडिएसका विद्यार्थीहरुसंग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढि अतिरिक्त शुल्क जवर्जस्ती रुपमा उठाउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आयोगले तोकेकोबाहेक अन्य शुल्क नलिने केएमसीले लिखित प्रतिवद्धता गर्नुपर्ने माग गरेको हो ।

विद्यार्थीहरुले करारनामाको नाममा विद्यार्थीहरुलाई अनावश्यक दबाब दिन नपाइने, ऐच्छिक छात्रावासको व्यवस्था गर्न माग राखेका छन् । विद्यार्थीहरुले शिक्षण शुल्कमा कर लाग्ने भएमा लाग्ने कर विद्यार्थीले तिर्नुपर्ने भन्ने दोधारे कुरा राखेर करारनामामा हस्ताक्षर गराउने कुरामा कदापी मान्य नहुने पनि चेतावनी दिएका छन् ।

चिकित्सा ऐन २०७५ ले निर्दिष्ट गरेको शिक्षण शुल्कबाहेकका सबै शुल्क ऐच्छिक हुन् भन्दै कलेजले लिन खोजेको अतिरिक्त शुल्कहरु विद्यार्थीहरु तिर्न बाध्य नभएको र अबिलम्ब खारेज गर्न माग गरेका छन् । अध्ययन अविधिभर विद्यार्थीले गर्नुपर्ने उपचार र स्वास्थ्य जाँच जस्ता कुराहरुमा ९० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

कार्यक्रममा बोल्दै केएमसी एमबीबीएसकी छात्रा निशिका कोइरालाले उनले आम विद्यार्थीहरुको माग आफुहरुले कलेज समक्ष राखेको बताइन् । कलेजले इन्टेन्सीप शुल्क नदिई विद्यार्थीहरुको श्रमको शोषण गरेको आरोप समेत उनले आरोप लगाइन् । शिक्षण शुल्क अतिरिक्त राखेर २० लाख भित्र के के पर्छन् त्यसको बारेमा विद्यार्थीहरुलाई हालसम्म केही नदिएको बताइन् ।

कलेजले अनिवार्य रुपमा ५ वर्ष छात्रावास बस्नुपर्ने बाध्यता बनाएको भन्दै उनले वाइफाइको पनि सुविधा नदिएको, आफ्नो आवाजबाहिर ल्याउन नपाउने भन्दै दबाब दिँदै आएको बताइन् । उनले भनिन्,‘यो शिक्षा हो की व्यवसाय हो । कि त हाम्रो शुल्क फिर्ता गर्नुपर्यो होइन भने हाम्रा माग पूरा गर्नु पर्‍यो ।’

त्यस्तै, अखिल क्रान्तिकारीकी नेतृ मान्यता थापाले चिकित्सा आयोगले स्वास्थ्य सम्बन्धि विद्यार्थीका सबै समस्या आयोगले गर्ने भनिएपनि आयोगले गर्न नसकेको बताइन् । काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क असुली रहेको उनले आरोप लगाइन् । ‘त्रिभुवन विश्वविद्यालयलाई नचाहिने अतिरिक्त शुल्क काठमाडौं विश्वविद्यालयमा मात्र लिने यो कस्तो माफियातन्त्र हो ।’ उनले भनिन्, ‘मेडिकल माफियाहरुले दिएको यो त ठाडै संविधानलाई चुनौती हो ।’

संविधानभन्दा माथि कोही नभएको भन्दै आयोगलाई माफियाहरुले किन्न खोजेको आरोप लगाइन् । माफियाहरुबाट बिकेका अझै धेरै पार्टीहरु रहेको समेत उनले जिकिर गरिन् । उनले आफ्नो माग पूरा गर्न अलिकति पनि संकोच नराखीकन अगाडि बढ्नसमेत पीडित विद्यार्थीहरुलाई आग्रह गरिन् ।

अर्का विद्यार्थी दयालले चिकित्सा आयोगले तोेकेको सबै पैसा कलेजलाई बुझाएको बताए । कलेजले वाइफाई नभएको, पानी नभएको कोठामा आफुहरुलाई राख्न खोजेको बताए । उनले १३ लाख तिरिसकेपछि प्रशासनले ४० लाख ट्युशन फि भनेको कलेज प्रशासनले ६० लाख रुपैयाँ अतिरिक्त शुल्क लाग्ने सुनाएपछि अभिभावक निकै आत्तिएको सुनाए । विश्वविद्यालयमा निवेदन दिँदा पनि कुनै सुनुवाई नभएको उनले बताए । चिकित्सा शिक्षा आयोगमा जाँदा केएमसीमा गएर सल्लाह गरेर आउनुस् भनेपछि आफूहरुले त्यसै गरेको सुनाए । कलेजले भने रकम तिर्न नसक्ने हो भने आफ्नो बच्चाहरु फिर्ता लैजान भनेको बताए । उनले भने, ‘विश्वविद्यायलमा गएर मागपत्र राख्दा रजिष्ट्रेसन फि लगायत कुनै पनि कलेजका विद्यार्थीहरुलाई अतिरिक्त फि माग्दैनौ भनेपनि हामीलाई जबरजस्ती अतिरिक्त फि लिन खोजियो ।’

हालसम्म कलेजालाई १३ लाख तिरिसकेको भन्दै उनले माग पुरा नभएमा संघर्ष जारी राख्ने बताए ।

केएमसी एमबीबीएसका अर्का विद्यार्थी राजन पाण्डेले चिकित्सा शिक्षा आयोगले एकिकृत म्याचिङ परीक्षा व्यवस्था गरेको सुनाए । केएमसीमा बाध्य भएर पढ्न परेको उनको भनाइ थियो । शिक्षण शुल्क, ट्युशन फि लगायत सबै गरेर ४० लाख लाग्ने भनिएपनि अतिरिक्त शुल्क थपबारे सन्दा आफूहरु आत्तिएको उनले बताए । भर्नाको क्रममा केही नभनेर पछि आएर मात्र ६० लाख रुपैयाँ भनेर ठग्न खोजेको उनले आरोप लगाए ।

औसत मानिसहरुलाई ४० लाख कमाउन ४० वर्ष लाग्ने भन्दै २० लाख कमाउन अभिभावकहरुलाई अझ २० वर्ष लाग्ने बताए । ऐनमा उल्लेख गरिएको शुल्क आफुहरु तिर्न तयार भएको उनले सुनाए । चिकित्सा आयोग पनि अन्योलमा परेको आफुहरुलाई महसुस गरेको बताए ।

आफूहरु पीडित भएको भन्दै उनले आफुहरुको माग सुन्ने कोही नभएको पनि गुनासो पोखे । उनले भने, ‘ऐनमा भएको शुल्क सबैलाई हेरेर निर्धारण गरेको शुल्क हो । निम्न र मध्यम आय भएका विद्यार्थीहरुलाई कलेजको लुटतन्त्रले निकै मर्का परेको छ ।’ अहिलेबाहिर बोल्दै हिड्ने विद्यार्थीहरुलाई कलेजबाट रेस्टिकेट गर्ने धम्की दिएको पनि उनले सुनाए । उनले चेयरम्यानलाई व्यापारीको संज्ञा दिए ।

 

 

 

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ