एचआईभी बोर्ड फलोअप

एचआईभी बोर्डको विषयमा किन ढाँटे तत्कालीन स्वास्थ्य सचिव डा. मिश्रले ?


काठमाडौं । राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्डको विषयमा आफूलाई थाहै नभएको स्वास्थ्य लाइभसँग प्रतिक्रिया दिने तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्र बोर्डसँग जोडिएको अर्को तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

स्वास्थ्य लाइभको खोजीमा डा. मिश्र एचआईभी एड्स तथा यौनरोग (नियन्त्रण, रोकथाम तथा अधिकार संरक्षण गर्ने) सम्बन्धमा बसेको स्टेरिङ कमिटीको बैठकको अध्यक्षता डा. मिश्रले गरेको तथ्य फेला परेको हो ।

राष्ट्रिय एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्डको विषयमा अनभिज्ञता प्रकट गर्ने डा. मिश्रले नै उक्त स्टेटिङ कमिटीको अध्यक्षता गर्नुले उनले ढाँटेको पुष्टि हुन्छ । डा. मिश्रले स्वास्थ्य लाइभसँग एचआईभी बोर्ड थियो भन्ने कुरा आफूलाई थाहा नभएको दाबी गरेका थिए ।

२०६७ जेष्ठ १९ गते एचआईभी एड्स तथा यौनरोग (नियन्त्रण, रोकथाम तथा अधिकार संरक्षण गर्ने) बसेको सम्बन्धमा बसेको स्टेरिङ कमिटीको बैठकको उनकै अध्यक्षतामा बसेकाले डा. मिश्रले किन ढाँटे भन्ने प्रश्न उठेको छ । उक्त बैठक राष्ट्रिय योजना आयोगको डा. हर्क गुरुङ सभाकक्षमा बसेको प्राप्त कागजातमा उल्लेख छ ।

 

उक्त बैठक तथा छलफलमा तत्कालीन स्वास्थ्य सचिव डा. मिश्रसहित, एचआईभी एड्स तथा यौनरोग नियन्त्रण समितिका उपाध्यक्ष/ कार्यकारी प्रमुख डा. श्याम सुन्दर मिश्र, राष्ट्रिय योजना आयोगका सहसचिव आत्माराम पाण्डे, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. कृष्ण कुमार राई र राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शंकर प्रसाद खरेलको उपस्थिति रहेको देखिन्छ ।

एचआईभी एड्स तथा यौनरोग नियन्त्रण समितिका निर्देशक/ सदस्य सचिव डम्बर प्रसाद घिमिरे, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका सहनिर्देशक डा. रमेश कुमार खरेल, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश लाल श्रेष्ठ, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्ली रमण अधिकारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी सहसचिव इन्दिरा दाहालसमेत उक्त छलफलमा सहभागी भएको पाइएको छ ।

त्यस्तै नानगानका अध्यक्ष तुलसा लता अमात्य, महिला, कानुन विकास मञ्चबाट अधिवक्ता रुप नारायण श्रेष्ठ, एचआईभी एड्स तथा यौनरोग नियन्त्रण समितिका सदस्य महेश शर्मा, समितिका अन्य सदस्यहरु राजिव काफ्ले, हरि प्रसाद अवस्थी, समितिका नीति अधिकृत दुर्गा मिश्र, कार्यक्रम संयोजक मधु कोइराला तथा अनुगमन मूल्यांकन अधिकृत संजय रिजालकोसमेत बैठकमा सहभागिता रहेको स्वास्थ्य लाइभले फेला पारेको छ ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका योजना अधिकृत तेज प्रसाद पन्थी, एचआईभी संक्रमितहरूको महासंघ, नेपालका महासचिव वसन्त क्षेत्री, एचआईभी एड्स तथा यौनरोग नियन्त्रण समितिका अनुगमन तथा मूल्यांकन सहायक कोमल बडाल र समितिको रिसेप्सनिष्ट/ सेक्रेटरी भगवती श्रेष्ठ गरी २२ जना स्टेरिङ कमिटीको बैठक तथा छलफलमा सहभागी भएको खुल्न आएको हो ।

एचआईभी बोर्डको विषयमा स्वास्थ्य लाइभको निरन्तर फलोअपपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचआईभी बोर्डको अवस्था र सम्पत्तिको खोजी सुरू गरेको छ ।

एचआईभी बोर्डसँग रहेका करोडौं मूल्यका दुईवटा गाडी, मोटरसाइकल लगायतका महँगा सामानहरू अज्ञात अवस्थामा छन् । ती गाडीको चाबी तत्कालीन स्वास्थ्य सचिव डा. मिश्रलाई बुझाएको बोर्डका सदस्य बिष्णु शर्माको दाबी छ । तर सचिव मिश्र भने बोर्डको विषयमा नै अनभिज्ञता प्रकट गर्छन् । त्यसपछि स्वास्थ्य लाइभले खोजी गर्दा डा. मिश्रले बोर्ड सदस्यको हैसियतमा स्टेरिङ कमिटीको बैठकको अध्यक्षता नै ग्रहण गरेको पछिल्लो प्रमाण फेला परेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ