कांग्रेस कोषाध्यक्षमा हस्पिटल सञ्चालक चौधरीदेखि सञ्चारमन्त्री कार्कीसम्मको चर्चा


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा हस्पिटल सञ्चालक विनोद चौधरीदेखि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसम्मको चर्चा चलेको छ ।

पदाधिकारीमा महिलाको उपस्थिति कम रहेकाले महिलालाई कोषाध्यक्ष बनाउनुपर्ने ‘लबिइङ’ चलिरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा चौधरी र कार्कीमध्ये एकजनालाई कोषाध्यक्षमा मनोनित गर्ने मनस्थितिमा रहेको उनी निकट स्रोतको दाबी छ ।

कांग्रेसको कोषाध्यक्षमा सभापतिको प्रस्तावमा केन्द्रीय सदस्यमध्येबाट एकजनालाई केन्द्रीय कार्य समितिले मनोनित गर्न सक्ने व्यवस्था छ ।

नर्भिक इन्टरनेसनल हस्पिटलका लगानीकर्ता विनोद चौधरी मधेशी कोटाबाट र सञ्चारमन्त्री कार्की खुलाबाट ‘टप टेन’भित्र निर्वाचित केन्द्रीय सदस्य हुन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका कार्की देउवाको विश्वास पात्र हुन् । उनलाई देउवाले आफू प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनाउँनुका साथै कांग्रेसको १४ औं महाधिवेशनमा खर्च जुटाउनका लागि बनाएको अर्थ संकलन समितिको संयोजकको जिम्मेवारी पनि उनै कार्कीलाई दिएका थिए । त्यसैले चौधरीको भन्दा कार्कीको कोषाध्यक्ष हुने सम्भावना बलियो रहेको देउवा निकट स्रोत बताउँछ ।

यता महिलामा चित्रलेखा यादव, डिला संग्रौला, पुष्पा भुसाल, अम्बिका बस्नेतलगायतको पनि कोषाध्यक्षमा चर्चा छ । तर देउवाको जोड कार्की र चौधरीमै बढी देखिन्छ ।

यता नेपाली कांग्रेसको प्रवक्तामा रमेश लेखक र एनपी साउदको दाबी रहेको छ । सभापति देउवा भने लेखकलाई प्रवक्ताको भूमिकामा अघि सार्ने तयारीमा रहेका छन् ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ