विवादित डा. भण्डारी फेरि राप्ती प्रतिष्ठान ताक्दै , यी हुन् उपकुलपतिका दाबेदार


काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा विवादित पूर्व उपकुलपति प्राडा संगिता सिंह भण्डारीसहित १६ जनाले दाबी गरेका छन् ।

पटकपटक विवादमा मुछिएकी डा. भण्डारीले फेरि राप्ती प्रतिष्ठानमा उपकुलपति दोहोर्‍याउने चाहना राखेकी छिन् । घरमा पालेको कुकुरको उपचार खर्चको बिल समेत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तिराउन लगाएर चर्चामा आएकी भण्डारीले पुन: उपकुलपति हुने दाबी पेश गरेपछि संवैधानक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतमाथि चुनौती थपिएको छ ।

करोडौंको अनियमितताको फाइल सिरानीमा राखेर उनलाई फेरि राप्ती प्रतिष्ठानको उपकुलपति बनाउने प्रपञ्च रचिएको स्वास्थ्यका अधिकारीहरुको भनाई छ ।

सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको उपकुलपतिका लागि गत ९ गते आवेदनको सूचना निकालेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदको लागि योग्यता पुगेका इच्छुक उम्मेदवारले ७ (सात) दिनभित्र सिफारिस समितिको सचिवालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना महाशाखामा आवेदन पेश गर्न उक्त सूचनामा भनिएको थियो  ।त्यही अनुसार १६ जनाले राप्ती प्रतिष्ठानको उपकुलपतिमा दरखास्त हालेका हुन् ।

सूचनामा स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ९ को उपदफा २ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिसम्बन्धी कार्यविधि, २०७८ मा उल्लेखित अनुभव र योग्यतासहित रितपूर्वकको निवेदन माग गरिएको छ । साथै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रभावकारी रुपमा संचालन गर्न तयार गरिएको व्यवसायिक कार्ययोजना (सिलबन्दी ) आवेदकनकर्तासँग मागिएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारीसहित १६ जनाले आवेदन दिएका छन् । डा. पवन जंग रायामाझी, प्राडा प्रदिप घिमिरे शर्मा, डा. लुमेश्वर आचार्य, डा. विकास लामिछानेले पनि राप्ती प्रतिष्ठानको उपकुलपतिका लागि दाबी गरेका छन् ।

डा. प्रबोध रेग्मी, प्राडा राजेन्द्रराज वाग्ले, डा. ऋषिकेेश नारायण श्रेष्ठ, डा. सञ्जयकुमार ठाकुर, डा. लक्ष्ममीनारायण सिंह, डा. प्रविन श्रेष्ठ, डा. जीत नारायण यादव, डा. विश्वनाथ यादव, प्राडा नारायण विक्रम थापा, डा. रमेश कोइराला र प्राडा रेवतीरमण मल्लले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन पेश गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले आवश्यक प्रक्रिया पूरा गरेर उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवासमक्ष सिफारिस गर्नेछ । तीन जनालाई उपकुलपतिका लागि समितिले सिफारिस गरेपछि त्यो मध्येबाट एकजना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त हुनेछन् ।

 

 

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ