वीर अस्पतालले एमआरआई गर्ने समय १२ घण्टा पुर्‍यायो


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै एमआरआई गर्ने समय बढाएर १२ घण्टा पुर्‍याएको छ । बिहान १० देखि साँझ ४ बजेसम्म गर्दै आएको एमआरआइको समय बढाएर अहिले बिहान ८ देखि साँझ ८ बजेसम्म पु¥याएको छ । तर, बिरामी धेरै भएकाले राति १० बजेसम्म पनि एमआरआई हुने गरेको रेडियोलोजी विभाग प्रमुख डा. सरोज शर्माले बताए ।

जनताले धेरै दु:ख पाएकाले समय बढाएको डा . शर्माले बताए । ‘हामीले बिहान ८ देखि साँझ ८ बजे सम्म भनेर सुरु गरेका हौं’, शर्माले भने, ‘तर सेवा बिचैमा छाड्न नमिल्ने भएकाले राती १० बज्ने गरेको छ ।’,

समय बढाएको पहिलो दिन २५, दोस्रो दिन २३, तेस्रो दिन ३१, चौथो दिन ३० र शुक्रबार ३१ जनाको भएको छ । एउटा एमआरआईले दिनमा पूरा सेवा दिँदा ३० जनालाई दिन्छ । विगतमा १० देखि १२ बजेसम्मको डिउटी मिलाएकोमा हाल दुई सिफ्ट तोकिएको छ । बिहान ८ देखि २ बजेसम्म र २ देखि ८ बजेसम्मको तोकिएको छ ।

डेढ महिना सम्म वीरमा एमआरआई गर्नका लागि पर्खनु पर्छ । समय बढाएर मात्रै पालो घट्ने अवस्था छैन । बिरामीहरु बढ्दो क्रममा भएकाले यसलाई सहज बनाउँन एमआरआईको संख्या बढाउनु पर्छ । दुईवटा एमआरआई भएको खण्डमा सेवामा चुस्त हुने डा. शर्माको भनाई छ ।

फाेटाे: रासस

वीर अस्पतालको तथ्यांक अनुसार बिहान १० देखि ४ बजेसम्म एमआरआइ सेवा दिदा ०७८ बैशाखमा २३८ जना, जेष्ठमा ८० जना, असारमा २३८ जना, साउनमा ३७९ जना, भदौंमा ४१० जना, असोजमा २८९ जना र कार्तिकमा ३१४ जनाले सेवा लिएका छन् । एक जनालाई एमआरआई गर्न ३० देखि १ घण्टा समय लाग्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ