सरकारले थाल्यो लकडाउनको तयारीः आइतबार निर्णय लिने


काठमाडौं । ओमिक्रोन भेरिएन्टको जोखिम बढेसँगै सरकारले लकडाउनको तयारी सुरु गरेको छ । शुक्रबार बसेको सिसिएमसीको बैठकमा व्यापक रुपमा लकडाउन गर्ने विषयमा छलफल भएको अधिकारीहरुले बताएका छन् । नेपाली सेना र स्वास्थ्य मन्त्रालयले लकडाउनको मोडालिटीबारे प्रस्तुती गरेका थिए ।

डेल्टा भेरिएन्ट भन्दा ओमिक्रोन थुप्रै गुणा बढी संक्रामक भएकाले यसबाट हुने क्षती कम गराउँन लकडाउनको विकल्प नभएको अधिकारीहरुले बताएका छन् ।

लकडाउन गर्ने विषयमा प्रस्ताव मन्त्रीपरिषद्मा पठाउन मुख्य सचिव समक्ष पेश गरिएको छ । तर, मुख्य सचिवले मन्त्रीपरिषद्मा पेश गर्नु पुर्व केही बुदागत छलफल गर्न आइतबार बैठक बोलाएका छन् । उक्त बैठकमा छलफल गरेपछि लकडाउन बारे निर्णय गर्न प्रस्ताव अगाडी बढाइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले पनि लकडाउनका विषयमा छलफल भएको पुष्टि गरे । तर, कस्तो र कुन मोडालिटीमा जाने भन्नेबारेमा बुदागत छलफल आइतबार हुदैछ उनले भने ।

अधिकारीहरुका अनुसार खोप लगाएको प्रतिशत, जनसंख्याको अनुपात, संक्रमितको अनुपात लगायत बिभिन्न क्षेत्रको अध्ययन गरेर मात्रै यसको निर्णय लिइने छ ।

एक देखि ५ प्रतिशत भित्र संक्रमित भएको क्षेत्रलाई हरियो जोनमा राखिएको छ । त्यस्तै ५ देखि ७ प्रतिशत संक्रमित भएको क्षेत्रलाई पहेलोमा राखिएको छ । उक्त क्षेत्रमा लकडाउन गर्ने बताइएको छ ।

त्यस्तै ७ देखि माथी रातो अर्थात अति जोखिम क्षेत्र भनिएको छ । अति जोखिम क्षेत्रमा लकडाउन सहित निषेधाज्ञा सम्म जान सक्ने बताइएको छ । नेपालमा शुक्रबार सत प्रतिशत नमुनामा ओमिक्रोन मेरिएन्ट पुष्टि भएपछि सरकारले लकडाउन बारे तयारी थालेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ