वीपीका विवादीत उपकुलपति गिरीको ठाउँमा यादवलाई पठाइयो


काठमाडौं । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विवादीत उपकुलपति डा. ज्ञानेन्द्र गिरीको ठाउँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्याम सुन्दर यादवलाई पठाएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विवादीत उपकुलपति तथा किर्ते प्राध्यापक गिरीको ठाउँमा यादवलाई तदर्थ जिम्मेवारी दिने निर्णय गरेको हो । अब यादवले वीपीमा गएर सुधार र विवादीत पदाधिकारी हटाउन सहजिकरण गर्नेछन् ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगमा हुँदा ओम्नीलाई सेकेन्ड ह्यान्ड प्रिन्टरको भुक्तानी दिलाउने विवादीत सहसचिव शंकर खरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।  माघ ४ गते ५८ वर्ष पुगेर घर जान लागेका खरेललाई प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालयमा विशेष दरबन्दी थपेर बढुवा गरिएको हो । एउटा व्यक्तिका लागि सरकार ‘सती’ गएको र प्रधानमन्त्री कार्यालयमा सचिवको ताँती लगाएको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारको चर्को आलोचना सुरु भएको छ ।

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले सहसचिवहरू रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो । तर तेस्रो नम्बरमा सिफारिस एक हप्ता पनि समय बाँकी नरहेका ओम्नी संरक्षक खरेललाई देउवा नेतृत्वको सरकारले सचिवमा बढुवा गरेर राज्यलाई अनावश्यक व्यभार थपेको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ