स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने योजनाकार सचिव ढुंगाना ‘रिटायर्ड’


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सार्ने गुरुयोजना बनाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगाना ५ वर्षे सेवा अवधिका कारण सेवाबाट अवकाश पाएका छन् ।

ढुंगाना सचिवमा बढुवा भएको जेठ १९ गते पाँच वर्ष पुगेको छ । आज सार्वजनिक बिदा परेकाले उनलाई हिजै मुख्य सचिव शंकरदास बैरागी खनालले बिदाई गरेका हुन्न् ।

सचिव ढुंगानाको नेतृत्वमा सिंहदरबार केन्द्रीय सचिवालय व्यवस्थापन निर्देशक उपसमितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सार्ने गरी गुरूयोजना तयार पारेको हो । उनी सेवाबाट हटेपनि स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने गुरूयोजना अघि बढ्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए ।

अर्थ मन्त्रालयको राजस्व सचिवबाट सचिवको यात्रा सुरू गरेका ढुंगाना केपी शर्मा ओली नेतृत्वको सरकार आएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए । उनी तत्कालिन प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र आइटी विज्ञ अस्गर अलीसँग सेटिङ मिलाएर अर्थ सचिवको रूपमा फेरि अर्थ मन्त्रालय फर्किए । त्यसपछि लामोसमयसम्म अर्थ सचिवको रुपमा काम गरेका ढुंगानाको शेरबहादुर देउवा नेतृत्वको सरकार आउनेवित्तिकै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि मुख्य सचिव बैरागीलाई हटाएर ढुंगानाले मुख्य सचिव बन्न निकै दौडधुप गरेका थिए । तर उनको त्यो प्रयास सफल हुन सकेन । डाटाको व्यापार गर्ने निजी कम्पनी एक्सटेन्सो डाटा खोलेर सरकारी डाटा कब्जा गर्ने रणनीतिमा लागेका तत्कालिन प्रधानमन्त्री ओलीका आईटी विज्ञ अस्गर अलीको मतियार बनेको उनीमाथि आरोप लाग्दै आएको छ ।

ढुंगानाले अर्थ सचिव हुनुभन्दा अगाडि निर्वाचन आयोगकी तत्कालिन सचिव देवकुमारी गुरागाईंलगायतलाई फोन गरेर अलीलाई डाटा नदिए आफ्नो जागिर नै जाने भनेको डाटा माग्ने काम गरेको चर्चा चल्ने गरेको छ । मालदार ठाउँमा जान उनी जे पनि गर्न तयार रहेको ढुंगानासँग नजिक रहेर काम गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरु सुनाउँछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ