स्वास्थ्यमा हुँदा कारबाहीमा परेकी सहसचिव रेग्मी राष्ट्रपति कार्यालय


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुँदा तोकिएको पोशाक ‘ड्रेस कोर्ड’ पालना नगरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको कारबाहीमा परेकी सहसचिव शैलजा रेग्मी, भट्टराईको राष्ट्रपति कार्यालयमा सरूवा भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहसचिवमा हुँदा रेग्मीले ‘ड्रेस कोर्ड’ पालना नगरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले उनलाई सचेत गराएको थियो । रेग्मीलाई सचेतको कारबाही गर्दै आइन्दा त्यस्तो गल्ती नदोर्‍याउन सतर्कता केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनिक नेतृत्वलाई निर्देशन दिएको थियो ।  उनै सहसचिव रेग्मी राष्ट्रिय महिला आयोगबाट मुलुकको सर्वोच्च निकाय राष्ट्रपति कार्यालयमा सरुवा भएकी छिन् ।

सतर्कता केन्द्रले छड्के हान्दा कारबाहीमा परेपछि उनको राष्ट्रिय महिला आयोगमा सरुवा भएको थियो । अहिले उनलाई राष्ट्रपति कार्यालय लगिएको छ ।

सतर्कता केन्द्रले स्वास्थ्य मन्त्रालयमा छड्के हान्दा प्रशासनतर्फकी सहसचिव रेग्मी हरियो साडीमा ठाँटिएर आएको फेला पारेको थियो । केन्द्रले छड्के हान्दा सरकारले तोकेको पोशाक नलगाएको फेला पारेपछि सचेतको कारबाही गर्न निर्देशन दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव रेग्मीसहित ३२ सहसचिवको आज सरुवा गरेको छ । सरुवा सूचीमा राजेश्वर ज्ञवालीदेखि मदन कोइराला, बाबुराम खतिवडा, नारायण सापकोटा हुँदै  आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसम्म परेका छन् ।

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ