‘ज्यानमारा’ इँटाभट्टाको वायु प्रदूषणले निसासिँदै काठमाडौं उपत्यका


काठमाडौं । इँटाभट्टाबाट निस्किएको धुवाँका कारण काठमाडौं उपत्यका निसासिँदै गएको छ ।

काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा जथाभावी खुलेका इँटाभट्टाबाट निस्किएको धुवाँले वायु प्रदूषण हुँदा वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पर्दै जान थालेको छ । भक्तपुरको इँटाभट्टाबाट निस्किएको धुवाँ हेर्दा राजाधानीवासीको फोक्सोका साथै काठमाडौं उपत्यकाकै वातावरणको फोक्सो  बिगार्ने काम गरिरहेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार काठमाडौं विश्वका प्रदूषित एक सय सहरमध्ये एक हो । जहाँको हावामा हानिकारक कणको मात्रा धेरै छ । प्रतिघनमिटर क्षेत्रमा २.५ माइक्रोमिटरभन्दा सानो व्यास भएका धुलोका कणको मात्रा दैनिक २५ र वार्षिक १० माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । राजधानीमा मात्रै ५० वटा इँटाभट्टा चलिरहेका छन् । सहरबाट थोरै दायाँ बायाँ लागेर हेर्दा ज्यानमारा धुवााँको मुस्लो पतपत गर्दै आकाशतर्फ मडारिरहेको देखिन्छ ।

 

काठमाडौं उपत्यकामा वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले बनाएको कार्ययोजना अलपत्र परेको छ । वातावरण विभागले ‘सफा र स्वच्छ वायुयुक्त काठमाडौं उपत्यका’ नारासहित दुई वर्षअघि वायु गुणस्तर कार्ययोजना बनाएको थियो, जुन कार्यान्वयन हुन सकेको छैन । धुलाम्य सडक, फोहोर र इँटाभट्टाबाट निस्किने धुवाँलगायतले राजधानीमा प्रदूषण अस्वाभाविक रूपमा बढ्दै गएको विज्ञहरू बताउँछन ।

सर्वोच्च अदालतले तीन वर्षअघि वायु प्रदूषण नियन्त्रणमा ठोस कदम चाल्न आदेश दिएको थियो । तर, कार्यान्वयन भएको छैन । प्रदूषित हावामा हुने स-साना कण मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । काठमाडौंको वायुमा त्यस्ता कणको मात्रा मापदण्डभन्दा पाँच गुणा बढीसम्म रहेको विज्ञहरू बताउँछन । तर, प्रदूषण न्यूनीकरणमा सरकारी पहल कमजोर देखिँदै आएको छ ।

सबै प्रदूषण कचौरा आकारको उपत्यकामा भरिएको छ । चिसोका कारण तातोका लागि आगो बाल्नेलगायतका गतिविधि पनि बढेको छ । वायु प्रदूषणका स्रोतहरु बढे, तर प्रदूषण कहीं जान पाएन । बाहिरबाट काठमाडौं खाल्डोमा प्रदूषण भित्रिन्छ ।

विज्ञका अनुसार जाडोमा वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ । जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ । अमेरिकाको हार्वड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा केही महिना अगाडि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण बढी हुने देखिएको छ । उक्त अध्ययन नेपालमा पनि मिल्दोजुल्दो देखिएको छ । वायु प्रदूषण बढी भएको राजधानीमा कोरोना संक्रमणदर पनि अन्यको अनुपातमा बढी छ ।

उक्त अध्ययनले कोभिड–१९ बाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको थियो । काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी छ । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ ।

सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । जाडो महिना मंसिर, पुस र माघमा हानिकारक कण २.५ को मात्रा सबभन्दा अधिक हुने गरेको छ ।

‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणका कारण वर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।

वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक) जस्ता रोगको समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक करिब ७० लाख जनाको मृत्यु हुने गरेको छ ।

काठमाडौं उपत्यका पीएम २.५ को मारमा हुन्छ । २.५ माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ । मानिसको कपालको औसत मोटाइ ६० माइक्रोग्राम हुन्छ । सानो कण श्वास नलीमार्फत फोक्सोसम्म पुग्छ । अधिकारीहरुका अनुसार काठमाडौं उपत्यकामा यातायातका साधन र इँटाभट्टाबाट निस्कने धुवाँ वायु प्रदूषणका मुख्य स्रोत हुन् ।

नेपालमा सन् १९९० देखि वायु प्रदूषणका मुद्दा उठान हुँदै आएका छन् । वायु प्रदूषणका कारण श्वासप्रश्वासका बिरामी बढेका छन् । सडकछेउमा काम गर्ने मजदुर, साना व्यापारी, पैदलयात्री, साइकल-मोटरसाइकल चालक वायु प्रदूषणको चपेटामा परेका मुख्य पीडित हुन । डब्लुएचओले २०७५ मा जारी गरेको अध्ययन प्रतिवेदनअनुसार निम्न र मध्यम आय भएका मुलुकमा पाँच वर्षमुनिका ९८ प्रतिशत र उच्च आय भएका देशका ५२ प्रतिशत बालबालिका वायु प्रदूषणको चपेटामा छन् ।

हाल नेपालमा प्रदूषणका कारण हरेक वर्ष कम्तीमा ३३ हजार पाँच सयजनाको अकालमा मृत्यु हुने गरेको छ । यद्यपि, सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सकिएमा यो मृत्युदर वार्षिक आठ हजार आठ सयमा झर्ने अनुमान विश्व बैंकको छ । तर, बढ्दै गएको वायु प्रदूषणले लक्ष्य हासिल गर्न निकै चुनौती छ ।

२०१९ मा जन्मिने नेपालीहरु औषत ७१ बर्ष बाच्ने देखिन्छ भने सोहि बर्षमा जन्मिने नेपाली महिलाहरु (७३ वर्ष) पुरुष (६९ वर्ष) भन्दा ४ बर्ष बढि बाच्ने देखिन्छ । सन् १९९० को तुलनामा नेपालीहरुको औषत आयुमा लगभग १३ वर्ष को वृद्धि देखिएको छ ।

सन् २०१९ मा नेपालमा कुल मृत्यु संख्या १ लाख ९३ हजार ३ सय ३१ रहेको पाइएको छ । मृत्युको प्रमुख कारण नसर्ने रोग रहेको पाइएको छ । कुल मृत्युमध्ये नसर्ने रोगहरुबाट हुने मृत्यु ७१% र चोटपटकबाट हुने मृत्यु ८% रहेको छ । बाँकि २१% मृत्यु चाहिँ सरुवा रोगहरु, मातृ नवजात शिशु तथा पोषणसम्बन्धी रोगबाट भएको पाइएको छ ।

सन् २०१९ मा मृत्युको पाँच प्रमुख कारणहरूमध्ये चार कारण नसर्ने रोगहरू रहेका छन् । सो बर्षमा भएका मृत्युहरुको प्रमुख कारणहरुमा कुल मृत्युको १६% श्वास-प्श्वाससम्बन्धी दीर्घ रोगबाट, १२% मुटु रोगबाट, ५% तल्लो श्वास नलिको संक्रमणबाट, ४% मस्तिष्क रक्तस्रावबाट र ४% दमबाट भएको पाइएको छ ।

यसै गरि सन् २०१९ मा नेपालीहरुमा भएको मृत्युलाई प्रभाव पर्ने प्रमुख जोखिम तत्वहरुमा क्रमशः धूम्रपानले १८%, उच्च रक्तचापले १२%, मृत्यु घरभित्रको वायु प्रदूषणले ११%, बाह्य वायु प्रदूषणले ९% र रगतमा चिनीको मात्रा बढी हुने अवस्थाले ८% मृत्युमा प्रभाव पारेको पाइएको छ ।

छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास वायु प्रदूषणलगायतका कारण पछिल्लो समय रोग्न लाग्ने ग्राफ पनि उकालो लागिरहेको बताउँछन् । काठमाडौं उपत्यकामा तुलनात्मक रूपमा वायु प्रदूषणलगायतका कारणले नसर्ने रोगको बिरामी बढ्न थालेको उनको भनाइ छ ।  वातावरण विभागलगायतका सम्बन्धित संस्थाको अध्ययनबाट पनि वायु प्रदूषणले काठमाडौं उपत्यकाको वातावरणमा गम्भीर असर पुगेको पाइन्छ । वायु प्रदूषणको मुख्य कारणमध्ये इँट्टाभट्टाबाट निस्किएको धुवाँ पनि रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #ईट्टाभट्टा, #काठमाडौं उपत्यका, #ज्यानमारा, #डा. सन्तकुमार दास, #भक्तपुर वातावरण प्रदूषण, #वातावरण विभाग, #वायु प्रदूषण, #सर्वोच्च अदालत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ