नेपाल स्वास्थ्य प्राविधिक संघमा बसन्त श्रेष्ठलाई किन जिताउने !
नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) बि.स २०३६ साल असार १५ गते स्थापना भएको हो । औषधि ऐन २०३५ को दफा २७ ले चिकित्सकबाहेक कसैले औषधिमा बोल्न र लेख्न नपाइने व्यवस्था राखेको थियो । तर, स्वास्थ्य संस्थामा बसेर २४ घण्टा सेवा दिनुपर्ने प्राविधिकहरुले यस बिषयमा बुलन्द विरोधका आवाज निकालिरहे । त्यस बेला देशमा पारामेडिक्स जनशक्ति नभएको भए स्वास्थ्य क्षतविक्षत हुन्थ्यो ।
चिकित्सक औँलामा गन्न सकिने मात्रै थिए । जसले स्वास्थ्य क्षेत्र जुरुक्क बोकेर हिँडेका थिए, उनीहरुलाई नै औषधि ऐनले बाधेपछि हामीले पूर्वको इटहरीमा बृहत्त भेलाको आयोजना गरेर संस्थागत रुपमा अधिकारको लडाइँ लड्ने भन्दै संस्था जन्माउने निर्णयमा पुगेका थियौं ।
संस्था जन्माउने बेला तत्कालीन पञ्चायतले कयौं साथीहरुको जागिर खोस्यो, कतिपयलाई पायक नपर्ने ठाउँमा सरुवा गरेर दुःख दियो । त्यसका विरुद्ध पनि भूमिगत रुपमा अधिवेशन गरेर अगाडि आएका हौं । तीन कार्यकाल भूमिगत रुपमा अधिवेशन भएको थियो ।
बि।स २०४७ सालको व्यवस्था परिवर्तन पछि अन्तरिम मन्त्रिपरिषद्को स्वास्थ्यमन्त्री मथुरा प्रसाद श्रेष्ठ थिए । उनीसँगको सहकार्यमा पारामेडिक्स जनशक्तिले मेडिकल काउन्सिल वा छुट्टै संस्थामा दर्ता हुने व्यवस्था मिलाउनु पर्छ भनेर अगाडि बढे । त्यही बेला मेडिकल काउन्सिलमा चिकित्सकको मात्रै गर्ने अन्यको हकमा छुट्टै काउन्सिल बनाउने निर्णयसहित हाल बाँसबारीमा रहेको स्वास्थ्य व्यवसायी परिषद् गठन गर्ने सैद्धान्तिक सहमती अनुसार बि।स २०५३ मा स्वास्थ्य व्यवसायी परिषद् ऐन ल्याउन सफल भएका हौं ।
हरेक तीनवर्षमा नेपाल स्वास्थ्य प्राविधिक संघको महाधिवेशन हुनुपर्ने हो । तर, बिचमा लामो ग्याप पछि अहिले हुँदैछ । जाम भएर संस्थाले कर्मचारीहरुको हक हितमा काम गर्न सक्दैन । यसलाई चलायमान बनाउँन मैले आफ्नो नेतृत्वमा संस्थालाई ल्याउनु पर्छ भन्ने ठानेको छु । विगत पाँचवर्ष यता सेवामा लागेका नयाँ साथीहरुलाई नेपाल स्वास्थ्य प्राविधिक संघबारे कुनै ज्ञान समेत छैन ।
अहिले दशौं अधिवेशन काठमाडौंमा हुँदैछ । उक्त अधिवेशनमा मैले आफ्नो उमेद्धारीलाई शसक्त रुपमा अध्यक्षमा खडा गरेको छु । किन अध्यक्षमा उमेद्धारी दिए भन्ने प्रश्न पनि आउँछ । यो प्रोफेसनल संस्था हो । कुनै पाटी विशेषज्ञको भातृ संस्था हैन ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुने स्वास्थ्यकर्मीहरुको साझा संस्था भएकाले यसलाई थप चलायमान र कर्मचारीहरुको हक हितमा आवाज बुलन्द्ध पारेर अगाडि बढ्नु पर्छ भनेर मैले अध्यक्षमा उठ्ने निर्णय गरेको हुँ । स्वास्थ्य क्षेत्रको विकृति विसंगतिविरुद्ध हामीले धेरै आवाज उठाउनु पर्ने छ । अझ समायोजनपछि पारामेडिक्स साथिहरुलाई परेको अन्यायको बारेमा कसैले बोल्ने जमर्को गरेको छैन । यसलाई मैले नेतृत्व हातमा लिएको २४ घण्टा पछि साथीहरुको अधिकारका लागि लड्नेछु ।
समायोजन ऐनले गरेको अधिकार समेत सम्बोधन भएको अवस्था छैन । प्रशासनका कर्मचारीहरु एक तहमाथि स्तरवृद्धि भएर स्थानीय तहमा गएका छन् तर, स्वास्थ्यमा त्यो लागु भएको छैन । दुई ग्रेड प्राविधिक ग्रेड दिने भनिएकोमा स्थानीय तहमा गएका कर्मचारीहरुलाई मनपरी दिइएको छ । स्तरवृद्धि तलबका लागि गरिएको छ, अधिकार छैन । क्षमतावान साथीहरुलाई स्थानीय तहमा लगेर डम्प गरिएको छ । यस्ता धेरै कुराहरु गर्नुपर्ने छ । यसका लागि पनि मैले आफ्नो नेतृत्व चाहेको छु ।
क्याटेगोरी : समाचारट्याग : ##नेपाल स्वास्थ्य प्राविधिक संघ, ##पान
तपाईको प्रतिक्रिया दिनुहोस