स्वास्थ्यसहितका सचिवको दरबन्दी कटौती गर्ने प्रस्ताव दराजमा थन्क्याएर संयोजक अर्याल मुम्बईमा, प्रतिवेदन औचित्यहीन बन्ने खतरा


काठमाडौं । स्वास्थ्यसहितका सचिवको दरबन्दी कटौती गर्ने प्रस्ताव दराजमा थन्क्याएर कार्यदलका संयोजक सचिव लक्ष्मण अर्याल पारिवारिक घुमफिरका लागि भारतको गोवा र मुम्बई पुगेका छन् ।

सचिव र सहसचिवको दरबन्दी पुनरावलोकन गर्न गठित उच्च स्तरीय कार्यदलका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्यालनै घुमघामका निस्किएपछि उक्त प्रतिवेदनले हावा खाने सम्भावना रहेको सिंहदरबारमा चर्चा छ ।

संघीय मन्त्रालयका सचिव र प्रदेश सचिव पुनरावलोकन गर्ने कार्यदलको प्रतिवेदननै दराजमा थन्क्याएर संयोजक अर्याल श्रीमती भेट्न दिल्लीतिर लागेपछि उक्त प्रतिवेदन काम न काजको बन्ने सम्भावना बढेको कार्यदलका एक सदस्यको गुनासो छ ।

ती सदस्यका अनुसार कार्यदलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिँचाई, ऊर्जा तथा जलस्रोत मन्त्रालय, अर्थ मन्त्रालयसहित दुई सचिव रहेका मन्त्रालयमा एक मात्र सचिव राख्न प्रस्ताव गरेको छ । तर संघीय निजामती ऐन आउने तयारीमा रहेकाले निकै ठूलो मेहनत गरेर तयार पारिएको प्रतिवेदन नबुझाउँदा औचित्यहीन बन्ने खतरा बढेको छ ।

कार्यदलले तयार पारेको उक्त प्रतिवेदनमा समेटिएका धेरै कुराहरू संघीय निजामती ऐन मार्फत सम्बोधन गर्न सकिने खालका रहेको बताउँदै ती सदस्यले सरकारलाई प्रतिवेदन नबुझाइ संयोजक दिल्लीतिर प्रस्थान गर्नु गलत भएको बताए ।

‘हामीले बनाएको प्रतिवेदन समयमै बुझाएको भए अहिले अध्यादेशमार्फत ल्याउन लागिएको संघीय निजामती ऐनमा सचिवको दरबन्दी कटौतीदेखि धेरै कुराहरु सम्बोधन हुने थिए । यो उपयुक्त मौकामा बुझाउनु पर्ने प्रतिवेदन दराजमा थन्किदा यसको औचित्य समाप्त हुने सम्भावना देखिन्छ । यसमा संयोजकज्यूले ध्यान नदिँदा हाम्रो मेहनत खेर जाला जस्तो छ ।’, उनले भने ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गत आइतबार दिल्लीतिर गएका सचिव अर्याल परिवारसहित नियोगको गाडी लिएर गोवा र मुम्बई घुम्न निस्किएका छन् । उनी केही समय भारतमै रहने परराष्ट्र मन्त्रालय उच्च स्रोतको भनाइ छ ।

सचिव अर्यालकी श्रीमती निता अर्याल भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा इकोनोमिक मिनिस्टर छिन् । त्यसैले उनी उता गएका हुन् । कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएर संयोजक सचिव अर्याल दिल्ली गएको भए धेरै राम्रो हुने कार्यदलका सदस्यहरुकै भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ