गतिलो अस्पताल नबनाई भ्यू टावर बनाउने प्रवृत्तिको सामाजिक सञ्जालमा व्यापक विरोध
काठमाडौं । जिल्लास्तरमा गतिलो अस्पताल नबनाई भ्यू टावर बनाउने प्रवृत्तिको सामाजिक सञ्जालमा व्यापक विरोध सुरु भएको छ ।
सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पामा पुगेर जनयुद्ध स्मृति भ्यू टावरको उद्घाटन गरेपछि यसले देशैभर बनेका भ्यूटावरको चर्चा सुरु भएको हो ।
रोल्पामा मात्र होइन झापाको दमकमा बन्दै गरेको भ्यू टावरलाई पनि अस्पतालमा रुपान्तरण गर्नुपर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको माग छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भ्यू टावर होइन अस्पताल बनाउँ भन्ने माग राखेका छन् ।
स्थानीय तहको चुनावी घोषणापत्रमै भ्यू टावर बनाउने छैन भन्ने प्रतिवद्धता खोज्न आवश्यक रहेको कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको माग छ । उनीहरूले भ्यू टावर बनाउने पैसा अस्पताल बनाउन र डाक्टर उत्पादन गर्न खर्चिएको भए देशमा स्वास्थ्य सेवाको अवस्था धेरै राम्रो हुने तर्क गरेका छन् ।
अस्पतालको सट्टा भ्यू टावरमा लगानी गर्नेहरुसँगै त्यसमा लागेको खर्च असूल उपर गर्नुपर्ने माग समेत सामाजिक सञ्जालमा उठेको छ । अब सगरमाथा शिरमा पनि यौटा भ्यू टावर ठोक्दिम्! त्यसो गरे कसो होला? भन्दै परीप्सा नामको फेसबुक प्रयोगकर्ताले भ्यूटावर विकासमाथि व्यंग्य गरेका छन् ।
जे होस् स्वास्थ्य पूर्वाधारभन्दा भ्यू टावरे विकासमा जोड दिने प्रवृत्तिको सचेत पुस्ताले सामाजिक सञ्जालमा व्यापक विरोध गरेको देखिन्छ ।
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस