स्वास्थ्यमा बेथिति
डब्ल्यूएचओको भतेरले ९ महिनासम्म महाशाखाको प्रगति शून्य
घटना १
मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नेपालले आफ्नो क्षेत्राधिकारबाहिर गएर चन्द्रागिरी रिसोर्टमा एउटा ठूलो भतेरको आयोजना गरेको थियो । उक्त भतेरमा सहभागी हुन सातै प्रदेशबाट स्वास्थ्य सचिवहरु काठमाडौं आएका थिए । काठमाडौंमा भएका कर्मचारीहरु बोलाएकाभन्दा नबोलाएका बढी भतेरमा पुगेका थिए । ९० वटा कोठा बुक गरेको डब्ल्यूएचओले स्वास्थ्यका मात्रै भतेरमा १ सय ५० जना सहभागी भए ।
कोभिड १९ विषयमा दुई वर्षे समिक्षा कार्यक्रम नाम दिएर भतेरको आयोजना गरेको अधिकारीहरु बताउँछन् । भतेरमा खसीको मासु, कुखुराको मासु सहभागी सबैलाई ३ सयको टिसर्ट र पद अनुसार १ हजार देखि ३ हजार ५ सयसम्म भत्ता दिएको सहभागीहरुले स्वास्थ्य लाइभलाई जानकारी दिए । यत्तिका लागि दुईदिनको कामै छाडेर उच्च अधिकारी चन्द्रागिरी पुगेका थिए । यता मन्त्रालय सभा हलको कोठामा भने चाबी लागेको थियो । सेवाग्राहीका थुप्रै फायल चन्द्रागिरीको भतेरमा जाने कर्मचारीको कोठामा थुप्रिन पुग्यो ।
घटना २
स्वास्थ्यका अधिकांश कर्मचारीलाई मंगलबार र बुधबार चन्द्रागिरीमा भतेर खुवाएको डब्ल्यूएचओले बिहीबार फेरि काठमाडौंको पाँच तारे होटल याक एण्ड यतीमा अर्को भतेर आयोजना गरेको छ । भतेरमा सरिक हुन सबै महाशाखा शाखा प्रमुखलाई परिपत्र गरेको चिठी स्वास्थ्य लाइभले फेला पारेको छ ।
आज बिहान साढे ८ बजे डब्ल्युएचओकै खर्चमा भतेर आयोजना गरिएको हो । स्रोतका अनुसार भतेरको खर्च डब्ल्यूएचओले व्यहोर्ने तर कागजी रुपमा आयोजक भने परिवारकल्याण महाशाखा देखाइएको छ । टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भन्दै डब्ल्यूएचओको खर्चमा बिहीबार अर्को भतेर राखिएको हो । यी कार्यक्रम स्वास्थ्य मन्त्रालय आफैंले गर्नुपर्ने हो । मन्त्रालय स्वयंले गर्दा भत्ता, मासुभात खान नपाउने भएपछि डब्ल्यूएचओलाई अगाडि सारिएको स्वास्थ्य मन्त्रालयकै अधिकारीहरुको आरोप छ ।
काठमाडौं । यी भर्खरका दुई घटना एउटा प्रतिनिधिमुलक रुपमा देखाइएको हो । यस्ता कार्यक्रम स्वास्थ्य मन्त्रालय र मातहतमा महिनामा २० दिन हुन्छ । भतेर नभएका दिन कर्मचारी फिल्डमा अनुगमन मूल्यांकन भन्दै जाने गरेका छन् । फाट्टफाट्ट मात्रै कर्मचारी मन्त्रालय र विभागमा फेला पर्छन् । फेला परेपनि निःशुल्कको सेवामा उनीहरुको बोल्ने फुर्सद खासै हुँदैन ।
राज्यले जनताको सेवा गर्न दिएको जिम्मेवारीमाभन्दा पनि भोज, भतेर भत्ता र भेस्टका पछाडि लाग्दा तालुकदार निकायको कार्य प्रगति शून्य छ । तर यस विषयमा स्वास्थ्य मन्त्री स्वास्थ्य सचिवलाई कुनै चासो र चिन्ता छैन । किनकी उनीहरु स्यवं भतेरमा सरिक भइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशिलनाथ प्याकुरेल पछिल्लो समय स्वास्थ्य मन्त्रालय दङदङती गन्हाउन थालेको बताउँछन् । ‘आफूले गर्ने कार्यक्रमहरु एनजिओ-आइएनजिओलाई सुम्पिनु ज्यादै दुःखको कुरा हो ‘, उनी भन्छन् । यसमा पनि आफूले जिम्मा लिएको शाखा महाशाखाको खर्च हुन सकेन भने त्यो व्यक्ति र समग्र सिस्टमनै असक्षम साबित हुने प्याकुरेलको भनाइ छ ।
स्वास्थ्य लाइभले हरेक शाखा महाशाखाको प्रगतिकाबारेमा गम्भीर रुपले अनुसन्धान थालेको छ । अझ भत्ता र भतेरका लागि कामै छाडेर हिँड्न थालेपछि हामीले थप निगरानी बढाएका हौं । हामी स्पष्ट छौं मिडिया सधै प्रतिपक्ष हुन्छ । वाचडगका रुपमा मिडियाले काम गर्ने हो त्यसैले हामी कुनै स्वास्थ्यकर्मीको व्यक्तिगत रूपमा पछि लागेका छैनौं । समग्र सिस्टमका विरुद्ध लागेका हौं र लागिरहने छौं ।
तथ्यांक हेर्दा तपाईंहरुलाई पत्याउन निकै कठिन हुन्छ । तर, ९ महिना सम्म स्वास्थ्य मन्त्रालयका शाखा महाशाखाले कुनै आशा जगाउने काम गरेका छैनन् । अझ स्वास्थ्य समन्वय महाशाखको ९ महिनाको प्रगति शून्य छ । भएको प्रगति पनि टिओ लिएको देखिन्छ । महाशाखाको खर्च बजेट १ करोड ५९ लाख १० हजार रहेको छ । उक्त बजेट भित्र १७ वटा कार्यक्रम राखिएको छ । हाल सम्म (९ महिना) भएको खर्च ८ लाख ३० हजार रुपैयाँ मात्रै छ । १ करोड ५९ लाख १० हजार बजेट भएको महाशाखाले आर्थिक वर्षको ९ महिनामा ८ लाख ३० हजार मात्रै खर्च गर्ने सक्नु हास्यास्पद छ । यो खर्चचै केमा भयो होला भन्ने प्रश्न मनमा उब्जन सक्छ तर, हामी तपाइँहरुलाई यो पनि स्पष्ट पार्ने छौं । हाल समन्वय महाशाखाको नेतृत्व डा संगिता कौशल मिश्राले गरेकी छन् । उनी स्वास्थ्य मन्त्रालयको प्रवक्ता समेत हुन् । उनको महाशाखाको काम केही भएको छैन ।
उनले ९ महिनामा गरेको र रेकर्ड देखिएको प्रदेश तथा स्थानीय तहबाट संचालन भएका स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको चौमासिक समिक्षा कार्यक्रम गर्ने तथा प्रदेशमा संचालन हुनेहरुका लागि अनुगमन गर्ने । यही शीर्षकमा ८ लाख ३० हजार सकिएको छ । यस्ता महाशाखाको नेतृत्व सम्हालेर बसेका कर्मचारीले स्वास्थ्य सुधारका लागि के योगदान दिन सक्छन् र ?
सरकारले ठूला होटलमा कार्यक्रम नगर्ने यस अगाडि नै निर्णय गरेको छ । तर, सरकारी बजेटबाट कार्यक्रम गर्दा ठूलो भतेर र भत्ता नहुने भएपछि स्वास्थ्यका अधिकारीहरुको मिलेमतोमा ठूलो बजेट दातृनिकायमा राखिएको छ । लाज ढाक्ने टालै नभए पछि यस्तै हुन्छ । भारतीय नागरिक अर्थात् डब्ल्यूएचओका नेपाल प्रमुख पाण्डव बिना लाज क्षेत्राधिकारबाहिर गएर स्वास्थ्यमा ठाडो हस्तक्षेप गरिरहेका छन् ।
अधिकारीहरु भन्छन्, डब्लुआरको काम भतेरको व्यवस्थापन गर्ने हैन । उसको आफ्नै कार्यक्षेत्र हुन्छ ।’ नियम भित्र बसेर स्वास्थ्य मन्त्रालयलाई टेकनिकल सपोट मात्रै गर्ने हो । तर, नेपालमा कर्मचारीहरु नै ज्यादै लोभी भएर पनि होला भाते कार्यक्रमको व्यवस्थापन समेत डब्ल्यूएचओले गर्दै आएको छ । जुन संसारका अन्य देशमा हुँदैन । डब्ल्यूएचओलाई मन्त्रालयको कुनै सानो एउटा कोठा दिन सकिन्छ अथवा बाहिर राखेर आवश्यक पर्दा सहयोग लिन बोलाउने हो । तर, नेपालमा भाते कार्यक्रमको व्यवस्थापन गर्न र त्यस्ताकार्यक्रम तयार पार्न कोठा कोठामा डब्ल्यूएचओका कर्मचारी राखिएको छ । यसको अन्त्य गर्न सम्बन्धित सबै लाग्नै पर्छ ।
‘महाशाखाको बजेट खर्च सोधेर मात्र भन्न सक्छु’
डा. संगिता मिश्रा, अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख
मैलै नेतृत्व गरेको महाशाखाले कति बजेट खर्च गर्यो त्यो अहिले भन्न सक्ने अवस्था छैन । के शीर्षकमा कति खर्च भयो प्रगति विवरण कस्तो छ त्यो मेरो टिमसँग सोधेर मात्र भन्न सक्छु । सोचे जस्तो धेरै खर्च त भएको छैन होला तर हामी खर्च बढाउने प्रयासमा छौं । यो विषयमा थप कुरा बुझेर मात्र भन्न सक्छु । सबै कुरा मलाई थाहा भएन ।
क्याटेगोरी : सुशासन
तपाईको प्रतिक्रिया दिनुहोस