अस्पतालमा कुकुरले बच्चा च्यापेर हिँडेको भाइरल तस्विरको वास्तविकता के हो ?


काठमाडौं । आज सामाजिक सञ्जालमा एउटा तस्विर बिहानैदेखि भाइरल बनेको छ । तस्विरमा एउटा बच्चाको शरीर मुखमा च्यापेर खैरो रङको कुकुर हिँडिरहेको छ । पृष्ठभूमिमा अस्पताल भवन प्रस्टै देखिन्छ ।

यो दृश्य कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतको हो ।अस्पतालमा कुकुरले बच्चा च्यापेर हिँडेको तस्विर भाइरल भएपछि यसको वास्तविकता खोजी गर्दा उक्त फोटो कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँकै रहेको पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेतका प्रवक्ता डा. विकास केसीका अनुसार कुकुरले च्यापेर हिँडिरहेको उक्त बच्चाको शरीर पहिचान र पोस्टमार्टमका लागि प्रहरीलाई जिम्मा लगाइएको छ ।

उक्त मृतक बच्चा अस्पतालकै हो की बाहिरको भन्ने स्वास्थ्य लाइभको प्रश्नमा अस्पतालका प्रवक्ता डा. केसीले अस्पताल बाहिरैबाट कुकुरले उक्त बच्चा ल्याएको हुन सक्ने अनुमान गरे । कुकुरले मुखमा च्यापेर हिँडेको एक हप्ता जतिको बच्चाको शरीर रहेको उनले जानकारी दिए । त्यही अनुसार अस्पतालले पनि एक हप्ता अगाडिदेखिको डेलिभरी रेकर्ड हेरेर थप अध्ययन गरिरहेको बताए ।

एकहप्ता अगाडि दैलेखतिरकी एक महिलाले मृतक बच्चा जन्माएको र आफैं शव व्यवस्थापन गर्ने भनेर अस्पतालबाट लगेको सुनाउँदै प्रवक्ता डा. केसीले कतै त्यहिँ बच्चा त होइन भनेर समेत खोजी भइरहेको जनाए । उनले प्रहरी र अस्पताल प्रशासन कुकुरले मुखमा च्यापेर अस्पताल वरिपरि घुमिरहेको बच्चाको पहिचान गर्न लागेकाले त्यसपछि थप भन्न सकिने स्पष्ट पारे ।

आज बिहान ७ बजे एउटा कुकुरले मरेको बच्चाको शरीर च्यापेर कुकुर अस्पताल वरीपरी फनफनी घुमिरहेको तस्विर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा भाइरल छ ।  उक्त भाइरल तस्विरको विषयमा स्वास्थ्य लाइभले थप खोजी गर्दा प्रदेश अस्पताल सुर्खेतकै प्राङ्गणमा कुकुरले मुखमा बच्चा च्यापेर घुमेको खुल्न आएको हो ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ