कुकुरले मुखमा च्यापेर घुमाएको मृत बच्चाको भाइरल तस्विरबारे अस्पतालको विज्ञप्ति
काठमाडौं । कुकुरले मुखमा च्यापेर घुमाएको मृत बच्चाको सामाजिक सञ्जालम भाइरल तस्विर अस्पतालसँग सम्बन्धित नभएको दाबी गरिएको छ ।
कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर, सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त दाबी गरेको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कुकुरले एक मृत नवजात शिशु मुखमा च्यापेर घुमिरहेको तस्विर भाइरल छ । अस्पतालले प्रेस विज्ञप्तिमार्फत अस्पताल हाताभित्र मृत शिशुको लाश मुखमा च्यापी हिँडिरहेको तस्विर सामाजिक सञ्जालमा पाइएको हुँदा उक्त घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पतालको सिसिटिभी फुटेज हेर्दा अस्पतालको उत्तर दिसतिरको जंगलबाट कुकुरले मृत शिशु मुखमा च्यापी अस्पतालमा प्रवेश गरेको देखिएको अस्पतालका प्रवक्ता डा. विकास केसीले विज्ञप्ति जारी गरेर प्रस्ट पारेका छन् ।
अस्पतालले चिकित्सक तथा नर्सिङ अधिकृतहरूलाई परिचालन गरी नवजात शिशुको रेकर्ड छानबिन गर्दा विगत १ हप्तादेखि अस्पतालमा २ जना मात्र नवजात शिशुको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालमा सेवा लिने क्रममा नवजात शिशुको मृत्यु भएका अभिभावकलाई लास बुझाई उहाँहरुले आफ्नो संस्कार अनुसार सतगत गरेको समेत विज्ञप्तिमार्फत अस्पतालले स्पष्ट पार्ने प्रयास गरेको छ ।
उक्त घटनाको सत्य तथ्य पत्ता लगाई वास्तविकता जनमानस समक्ष जानकारी गराउन साथै दोषीलाई कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई अनुरोध गरिएको डा. केसीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
क्याटेगोरी : समाचारट्याग : #डा. विकास केसी, #सुर्खेत प्रादेशिक अस्पताल
तपाईको प्रतिक्रिया दिनुहोस