स्वास्थ्यमा बेथिति
पानीको सुनिश्चितता बिना ठडियो छातीरोग अस्पताल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मातहतका निकायमा एक पछि अर्को बेथितिको चाङ थपिँदै गएको छ । मन्त्रालय मातहत रहेको राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा नयाँ बनेको अस्पताल विवादमा आएको छ । तर, विवादबाहिर नल्याई मिलाउने पक्षमा निर्देशक देखिएका छन् ।
सन् २०१८ मा डा केदारनरसिंह केसीले गम्भीर प्रकारका क्षयरोगीको उपचार गर्ने भनेर १ सय वेडको छातीरोग अस्पताल बनाउने निर्णय गराएका थिए । डा. केसीकाअनुसार तत्कालीन केन्द्रका निर्देशक डा. राजेन्द्र पन्तले भवन निमार्ण अगाडि बढाए पनि भक्तपुर नगरपालिकाले मापदण्ड नपुगेको भन्दै रोकेको थियो । डा. केसी निर्देशक भएपछि यसलाई अगाडि बढाएका हुन् ।
८ करोड लागतमा निर्माण भएको सय शय्याको छातीरोग अस्पताल पानीको सुनिश्चितता बिना बनाइएको छ । अहिले सबै काम समेर हस्तान्तरणको तयारीमा छ । तर, पानि नहुदा हस्तान्तरण भएपनि अस्पताल चल्ने आधार छैन कर्मचारीहरु भन्छन् । अस्पतालमा पानी अत्यावश्यक हुन्छ । पानी बिना अस्पताल चलाउँन सकिँदैन । तर, ८ करोड लागतमा बनाएको छातीरोग अस्पतालमा पानीको स्रोत नै छैन । यसले स्पष्ट रुपमा ठूलो आर्थिक अनियमितता भएको अनुमान गर्न सकिन्छ ।
डा. केसीका अनुसार व्यवसायी विशाल पण्डितको कम्पनी हस्पिटक नाम संस्थाले भवन बनाउने ठेक्का पाएको थियो । यसको सबै डिजाइनर सहरी विकास तथा भवन विभागले गरेको हो ।
क्षयरोग केन्द्र स्रोतले बताए अनुसार पानीको सुनिश्चितता बिना तयार भएको भवन हस्तान्तरणको चरणमा पुगेको छ । ठेकेदार सरकारलाई जिम्मा लगाएर तर्किने दाउमा देखिएको छ । तर, अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पानीको सुनिश्चितता बिना भवन निर्माण गर्नु आफैमा राम्रो हैन ।
सामान्यतयाः भवन निमार्णको काम सुरु गर्नुभन्दा पहिला पानीको स्रोत सुनिश्चित गर्ने र तानेपछि मात्रै भवन निर्माणको थालनी हुन्छ । तर, क्षयरोग केन्द्रमा १ सय वेडको अस्पताल बनाउँदा पानीको डिजाइननै नभएको अधिकारीहरु बताउँछन् ।
मापदण्ड बिना तयार भएको भवन स्वास्थ्य मन्त्रालय वा क्षयरोग केन्द्रले लिन मिल्दैन । राज्यले ८ करोड खर्च गरेपछि त्यसको मापदण्ड पुगेको हुनुपर्छ । तर, पानीको सुनिश्चितता बिना भवन बनाएर राज्यले ग्रहण गर्नु नीतिगत भ्रष्टाचारको पराकाष्ठा मात्रै हुनेछ ।
’अस्पताल पानि बिना कसरी संचालन गर्न सकिन्छ ? सुतेर बसेको मन्त्रालय र त्यकाको नेतृत्व सम्हालेका अधिकारीहरुको आँखा खुल्छकी भनेर हामीले यो विषय उठान गरेका हौं ।’, केन्द्रका एक अधिकारीले भने,
’हामीले यस बारेमा केन्द्रका अधिकांश कर्मचारीलाई सोधेका थियौं तर, सबैको एउटै जवाफ थियो हामीलाई यो भवनबारे कुनै जानकारी छैन ।’,
अधिकारीहरुले बताए अनुसार नेपालमा क्षयरोगको अवस्था निकै डरलाग्दो देखिन्छ । नेपालमा क्षयरोगका कारण वार्षिक १६ हजारले ज्यान गुमाउने गरेका छन् । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण, २०७४,७५ का अनुसार नेपालमा वार्षिक रुपमा नयाँ तथा पुराना गरी १ लाख १७ हजार क्षयरोग बिरामी हुन्छन् । त्यस्तै नयाँ क्षयरोगका बिरामीहरु भने वार्षिक रुपमा ६९ हजार थपिने उक्त सर्वेक्षणको निष्कर्ष छ ।
आर्थिक वर्ष २०७७–७८ को तथ्याङ्क हेर्दा नेपालमा २८ हजार ६ सय ७७ जना क्षयरोगका बिरामी उपचारमा दर्ता भएका छन् । क्षयरोगको उपचार सफलता भने ९१ प्रतिशत रहेको सरकारी दाबी छ । उक्त संख्यामध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र ७ प्रतिशत बालबालिकालाई उक्त आर्थिक वर्षमा क्षयरोगको उपचार गरिएको छ ।
अनुमानित संख्या र उपचारमा आएको बिरामीको संख्या हेर्दा वार्षिक झन्डै ४० हजारभन्दा बढी व्यक्तिलाई उपचारको दायरमा ल्याउन आवश्यक रहेको छ ।
क्याटेगोरी : सुशासन
तपाईको प्रतिक्रिया दिनुहोस