बागमतीमा स्वास्थ्य र पर्यटनका पूर्वाधार अलपत्र, मदन-आश्रितका ठेकेदार पनि भागे


काठमाडौं । बागमती प्रदेशमा स्वास्थ्य र पर्यटनका पूर्वाधार निर्माण गर्ने ठेकेदारहरु धमाधम भाग्न थालेका छन् ।

अस्पताल बनाउने जिम्मा पाइरहेका ठेकेदार भाग्न थालेको गुनासो आइरहेको बला बागमती प्रदेश सरकारले बनाउन खोजेको पर्यटन पूर्वाधारका ठेकेदार समेत काम अलपत्र छाडेर भागेका छन् ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले दासढुंगामा बनाउँदै गरेको मदन-आश्रित स्मृति पूर्वाधार निर्माणको ठेक्का पाएका ठेकेदार नै काम अलपत्र पारेर भागेका हुन् । मदन-आश्रित स्मृति प्रतिष्ठानको सहकार्यमा  दासढुंगा मदन-आश्रित स्मृति पूर्वाधार निर्माणको जिम्मा पाएका ठेकेदार फाैदनाथ सापकोटा काम अलपत्र छाडेर भागेका छन् ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले उक्त  मदन-आश्रित स्मृति पूर्वाधार निर्माण काम समयमै सम्पन्न गर्न ताकेता गरेपछि ठेकेदार सापकोटा काम छाडेर भागेको पाइएको हो । ३९ लाखमा मदन-आश्रित स्मृति स्मृति पूर्वाधार बनाउने ठेक्का पाएका निर्माण व्यवसायी फरार भएपछि पर्यटनमन्त्री श्रेष्ठले उक्त ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर  अर्को ठेकेदारमार्फत भएपनि काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

पर्यटन आयोजनका प्रमुख विष्णु भण्डारीका अनुसार मदन-आश्रित स्मृति पूर्वाधार निर्माणको ठेक्का एसएसपी कन्स्ट्रक्सनले पाएको हो । उक्त ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि ठेक्का रद्ध गरेर कालोसूचीमा राखी अर्को निर्माण कम्पनीमार्फत समयमै काम सम्पन्न गर्ने कसरतमा रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

निलकण्ठ – ३, धादिङ ठेगाना रहेको एसएसपी कन्स्ट्रक्सनका मालिक फौदनाथ सापकोटा सापकोटालाई पर्यटन मन्त्रालयले खोजी गर्दा उनी सम्पर्कबिहीन भएका हुन् ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #SSP कन्स्ट्रक्सन निलकण्ठ - ३, #धादिङ, #फौदनाथ सापकोटा, #मदन-आश्रीत स्मृति पूर्वाधार निर्माण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ