“डाक्टर हाउस कल” मार्फत घरमै बसेर गुणस्तरीय स्वास्थ्य सेवा


काठमाडौं । विराटनगरको नोबेल मेडिकल कलेजमा दैनिक ओपिडि जाने बिरामीको संख्या ३ हजार, वीर अस्पतालमा २५ सय, शिक्षण अस्पतालमा २२ सय देखि २५ सय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ देखि २ हजार, काठमाडौं मेडिकल कलेजमा १५ सय, नेपाल मेडिकल कलेजमा १ हजार देखि १५ सय, नर्भिक अस्पतालमा ५ सय, ओम अस्पतालमा ३ देखि ५ सय, ग्राण्डी अस्पतालमा ३ देखि ५ सय, नेपाल मेडिसिटी अस्पतालमा २ देखि ३ सय गरी यी अस्पतालमा मात्रै दैनिक करिब १५ हजारको संख्यामा बिरामी स्वास्थ्य सेवाका लागि अस्पताल जाने गरेका छन् ।
स्वास्थ्य सेवा लिन जानेहरुको अचाक्लि भिडले समयमा टिकट लिन सकिएको छैन भने, टिकट लिएकाहरुले पनि चिकित्सकबाट चाहेको जस्तो सेवा लिन सकेका छैनन् । धेरै भिड भएकाले चिकित्सकले एउटा बिरामीलाई ५ मिने समय दिन सकेका छैनन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की अस्पतालमा आउँनै नपर्ने बिरामीहरुले गर्दा पनि ठुलो भिड हुने गरेको बताउँछन् ।

‘अस्पतालमा आएका धेरै जसो बिरामीहरुलाई आधारभूत सेवा मात्रै भए हुने देखिन्छ डा कार्कीले भने, ‘आधारभूत सेवाका लागि उनिहरु चरम दुख भोग्दै अस्पताल पुगेका छन् ।’ यस्ता सेवा गाउँघरमै हुनुपर्ने डा कार्की बताउँछन् । अस्पताल पुगेका मध्ये आधाभन्दा धेरै बिरामी अस्पताल जानै नपर्ने किसिमका हुन्छन् ।
बढ्दो ट्राफिक जाम, अस्पतालको अव्यवस्थित भिड र अनावश्यक खर्चको बचतका लागि चिकित्सकहरुले “डाक्टर हाउस कल” सेवा सुरु गरेका हुन् । सहि रुपमा यसको उपयोग गर्न सके यसले चिकित्सक हैन आम नागरिकलाई नै फाइदा पुग्छ ।
एक महिना देखि सेवा सुरु गरेपनि “डाक्टर हाउस कल” सेवालाई आइतबार औपचारीकता दिइएको छ । “डाक्टर हाउस कल” सर्भिस नेपाल प्रा.लिले गोठाटारमा कार्यालय स्थापना गरेर सेवा सुरु गरेको छ । “डाक्टर हाउस कल” सर्भिस नेपाल प्रालिकी सिइओ डा अनिता यादवले कोभिडको महामारीले सिकाएको पाठलाई पेशागत ब्यवहारमा लागु गरेको बताइन् ।

‘कोभिडको समयमा कोही मानिसहरु घरबाट बाहिर जान सकेनन् धेरैलाई घरघरमा आधारभूत स्वास्थ्य सेवाको आवश्यकता परेको थिइयो सिइओ डा यादवले भनिन् ‘कोभिडमा घरघरमा गएर जनताको सेवा गरेकाले यसलाई निरन्तरता दिनुपर्छ भनेर औपचारीक रुपमा  “डाक्टर हाउस कल” सेवा सुरु गरिएको हो ।’ यादवका अनुसार केस हेरेर कम्तिमा १ हजार देखि बढिमा २५ सय रुपैयाँसम्म सेवा बापतको रकम लिने गरिएको छ । नर्सिङ केयर आवश्यकता परे प्रति घण्टा १ सय रुपैयाँ लाग्छ ।

एक महिनाको बिचमा मात्रै २ सय बिरामीलाई घरमा गएर सेवा दिएको उनले बताइन् । सस्थामा चिकित्सक, नर्स, ल्याब, फिजियोथेरापिस्ट लगायत १ सय कर्मचारीले सेवा दिइरहेका छन् । विदेशमा यस्तो प्राक्टिस भइसकेको छ । नेपालबाट जाने चिकित्सक नर्सहरु होम सर्भिसमा बढि आवद्धता हुन्छन् । अब नेपालमा पनि यस्तो सेवा सुरु भएको छ । छोटो समयमा धेरै नागरिकहरुले यसलाई रुचाएका छन् ।

घरमा बसेरनै आकस्मिक स्वास्थ्य सेवा, डाक्टर तथा नर्सको सेवा लिने र ल्याब टेष्ट गराउन सकिन्छ । अधिकारीहरुले बताए अनुसार औषधी, डाक्टर, नर्स र प्रयोगशाला परीक्षणका लागि “डाक्टर हाउस कल” सर्भिस नेपाल प्रा.लिको वेभसाइटमा गएर वा ०१५१४८०३१, ९८१३१६५१८३ र ९८६१६१७९९८ मा फोन गरेर आफुलाई चाहिएको कुनै पनि स्वास्थ्य सेवा लिन सकिने छ ।

डा यादवका अनुसार आधारभूत सेवा घरमा दिने र अस्पतालनै पठाउनु पर्ने अवस्था भए सस्थासँग आवद्धभएका अस्पताल वा बिरामीको रोजाइका अस्पताल पठाइने छ । कुनै पनि ल्याव परिक्षणका लागि बिरामी अस्पताल जानुपर्ने छैन । “डाक्टर हाउस कल” सेवामा सम्र्पक गर्दा उनिहरुले घरमै नमुना संकलन गर्ने र प्रयोगशाला परिक्षण गरी बिरामीलाई दिने गरेका छन् । यति मात्रै हैन सस्थाले हेलिकोप्टर उद्धार समेत गर्दै आएको छ । कसैलाई बिरामीको उद्धार आवश्यक परे सम्पर्क गर्न सक्नुहुनेछ ।

चिकित्सक संघका डा लोचन कार्कीले “डाक्टर हाउस कल” जस्ता सेवाको नेपालमा आवश्यकता भएको बताए । धेरै अगाडि सुरु हुनुपर्ने सेवा नेपालमा ढिलो सुरु भयो तर, अत्यावश्यक थियो उनले भने । उनले महामारीको समयमा झन यस्ता सेवाले जनतामा आवश्यकता महशुस गराएको बताए । यो र यस्ता सेवा काठमाडौं केन्द्रित नभएर देशभर विस्तार गर्नुपर्ने डा कार्कीले सुझाव दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ