अनामनगरको बाटो समयमै कालोपत्रे नहुँदा जनस्वास्थ्यमा असर
काठमाडौं । अनामनगरको बाटो समयमै कालोपत्रे नहुँदा जनस्वास्थ्यमा असर पर्न थालेको छ । अनामनगर र बानेश्वर जोड्ने धोबीखोला करिडोरको पुल निर्माण गर्ने ठेकेदारको लापरबाहीका कारण जनस्वास्थ्यमा समस्या देखिन थालेको हो ।
ठेकेदारले समयमै बाटो कालोपत्रे नगर्दा धुलो उडेर त्यो बाटो हिँड्न नसक्ने अवस्था छ । वरिपरिका स्थानीयहरु करिडोरको बाटोका कारण घरभित्र धुलो पस्ने गरेको गुनासो सुनाउँछन् । त्यो बाटो भएर हिँडने पैदलयात्री पनि धुलाम्मे हुने गरेका छन् ।
मदन भण्डारी कलेजमा पढ्ने विद्यार्थीलाई समेत उक्त सडकको धुलोले असर गर्न थालेको छ । सडकबाट उडेको धुलोले स्वास्थ्यमा असर पार्न थालेपछि स्थानीयहरु आक्रोशित हुन थालेका छन् । ठेकेदारले सडक अलपत्र पारेको विषयमा त्यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले चासो दिएका छन् । निर्माण सामग्रीको समस्याका कारण कालोपत्रेमा ढिलाई भएको ठेकेदार कम्पनीको भनाइ छ ।
ठेकेदार कम्पनीले २० देखि २२ गतेभित्र सडक कालोपत्रे गर्छु भनेपछि मन्त्री श्रेष्ठले तत्काल गर्न भनेका छन् । त्यो समयभित्र कालोपत्रे नभए फेरि ताकेता गर्ने उनको भनाइ छ । ठेकेदारले समयमै कालोपत्रे नगरेर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको देखिन्छ ।
धोबीखोला करिडोरको उक्त बाटोमा पैदलयात्री हिँड्ने ठाउँ समेत राखिएको छैन । भूमाफिया इन्द्र चाम्लिङ लगायतले सडकको मापदण्डविपरीत संरचना निर्माण गरेपछि पैदलयात्री हिँड्ने बाटो गायब भएको हो ।
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस