छोरा डाक्टर भएपछि छरछिमेकीलाई भोज
मैले सन् १९५६ मा अंग्रेज सरकारको जमदारसम्मको नोकरी गरेर सेवाबाट राजीनामा गरेँ । मैले सेवा समाप्तिको अन्त्यमा सुवेदार बन्ने रोल पुग्दापुग्दै पेन्सनमा जाने निर्णय गरेर राजीनामा गरेँ । मलाई सबैले राम्रो सिपाही भन्थे र सोही अनुसारको माया गर्थे ।
नेपाल आएपछि सर्लाही जिल्लाको उत्तरी भागमा चार बिगाहा जमिन किने । विवाह पनि भयो । चार बिगाहा जमिनमा खेतीपाती सुरु गरेँ । तर मलाई भने हङकङ-बेलायतको चस्का थियो । हङकङ-बेलायत जहाँतहीँ सुविधा सम्पन्न सडक, बिजुली, अस्पताल बालबालिका पढ्न जहाँ खोज्यो त्यही विद्यालय तर नेपालमा छैन । मेरो कामप्रतिको लगाब सँगसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै रुची थियो । अझै पनि छ ।
मैले हङकङ-बेलायतमा जस्तो नभए पनि बालबालिकाले पढ्न चाहदा पढ्ने विद्यालय होस् भनेर सबैसँग सल्लाह गरियो । सबैको मन्जुरी मिल्यो तर यसका लागि लागिपर्नेहरुको टुंगो भएन । सहयोग माग्दै नपुगेको खण्डमा आफैंले लगाउँदै एउटा सिरुको छानो लगाएको कटेरो तयार पारियो । त्यति मात्र हैन, एक जना शिक्षक नियुक्त समेत गरियो । तर उक्त शिक्षकको सबै खर्च आफैले व्यक्तिगत रुपमा व्यहोरेको हो । यसैगरी अक्षराम्भ सुरु भएको हो । विद्यालयको प्रगति दिन दुई गुणा रात चौगुणाका दरले वृद्धि हुँदै गयो । सिरुको छानोबाट सुरु भएको विद्यालय माध्यमिक बन्न पुग्यो ।
मेरो छोरा दिवस मिश्रले त्यही विद्यालयबाट प्रथम श्रेणीमा एस.एल.सी पास गर्यो । डाक्टरी लाइनको पढाई गर्ने सोच बनाएको छोराले प्रथम श्रेणीमा एस.एल.सी पास गरेका करण छोराले हेल्थ असिस्टेन्टको पढाइ सुरु गर्यो । दुई वर्षपछि धादिङ हेल्थ पोष्टमा रोजगारि मिल्यो ।
मेरो जिन्दगीको गाडी ठिकठाकले दौडिरहयो । हेल्थ असिस्टेन्टको जागिरबाटै छोरा दिवसले शिक्षण अस्पतालमा एमबीबीएसको अध्ययन गर्न पायो । हामी श्रीमान् श्रीमति गाडी बढेर छोरा भेट्न शिक्षण अस्पताल पुगेका थियौं । तर, पढाइ निरन्तर चलेकाले बुबा आमालाई चार दिन बस्न अनुरोध गरे दिवसले ।
आमालाई बस्न मन भएको हुन सक्छ तर, मैले पढाइ बिग्रन्छ भन्दै नबस्ने निर्णय लिएँ । रात्रिबस चढेर हामी घर फर्कियौं । अचानक श्रीमती बिरामी परिन् । गानो दुख्ने, ढ्याउढ्याउ डकार आउँने, पेट दुख्ने, पेटमा गोलाजस्तो भएर अत्यन्त दुखाई हुने समस्या देखियो ।
वीरगञ्ज लगेर औषधि जाँच गराउँदा केही फाइदा भयो । छोरा दिवसले खबर पठायो, एमबीबीएस पास गरेर सोलु– अस्पतालको डाक्टरमा खटिएँ । छोरा डाक्टर भएकामा सारा गाउँलेहरुले डाक्टरका बुबा आमा भन्न थाले । हामीले छोरा डाक्टर भएको खुसियालीमा सत्यनारायणको पूजा लगाई गाउँका छरछिमेकलाई भोज ख्वायौंँ ।
छोराले तुरुन्त काठमाडौं आउँन खबर पठायो । म काठमाडौं आउँदा छोरा दिवसको विवाहको कुरा चलिरहेको रहेछ । नर्सिङ विषयमा बीएसी पास गरेकी केटी (हाल बुहारी) वीर अस्पतालमा कार्यरत रहिछन् । कुरा मिलेपछि परिवारभित्रका सिमित सदस्यहरुको उपस्थितिमा विवाह सम्पन्न गरियो । छोरा बुहारी पाहुनाजस्ता दुईचार दिन बसी काठमाडौँ गए ।
छोरा दिवस मिश्रको भक्तपुर अस्पतालमा सरुवा भइसकेको थियो । ससुरालीले दाइजो दिएको घरबाटै दुवैजना नोकरी गर्न जान थाले । अब छोराको गृहस्थाश्रम सुरु भयो । मेरो जीवन अत्यन्त सफल भयो, मलाई जन्म दिने मातापिता र भगवान् धन्य हुन् भन्ने सम्झिएँ ।
बिचमा हामीलाई पनि छोरा बुहारीले काठमाडौं बोलाए । छोरा बुहारी असाध्ये ब्यस्त हामीसँग कमै भेट हुने गर्दथ्यो । तर, घरमा बनाएर खान दिने मान्छे भएकाले उनीहरु नहुँदा पनि असहज थिएन । मंसिरको महिना भएकाले चिसो असाध्ये थियो । हामी काठमाडौंबाट तराई झर्यौं । सारा साथीभाइ भेट्न आए । तँविना गाउँनै शुन्य भयो विद्यालय पनि भद्रगोल छ भने ।
चैतको महिना सुरु भयो । श्रीमती पेट दुखेर ऐप्या, आथा, मरेँ, सकिएँ भन्न थालिन् । स्वास्थ्यचौकीका चिकित्सकलाई देखाएँ , काठमाडौं लगि राम्रोसँग अनुसन्धान गरि औषधि गर्नुपर्छ भने ।
छोरा दिवससँग सल्लाह गरेर पुनः काठमाडौं लगियो । स्वास्थ्य परिक्षण गर्दा क्यान्सर भएको पत्ता लाग्यो । सल्लाहमै दिल्ली लगियो । निकै महँगा महँगा औषधि गरियो । केही शीतलजस्तो त भयो तर डाक्टरले ६ महिना मात्रै आयु भएको सुनाए । त्यसपछि हामीले काठमाडौं फिर्ता ल्यायौं । बुहारीको सल्लाहअनुसार अस्पतालमै श्रीमतीलाई राख्यौं । भाइबुहारीले क्यान्सर सर्छ भनेर डराएर होला भाइसहित सबैलाई हेर्न आउन रोक लगाइछन् ।
अस्पतालबाट श्रीमतीले आफ्नै घर लगिदिन भन्दै जिद्धी गरिन् । मैले काठमाडौं नभएर मधेसको घर तिर लिएर आएँ । दिल्ली लाँदा डेढ लाख रुपैयाँ उपचार खर्च भएको थियो । बुहारी बिचरी ठूलो खानदान धनवान्की छोरी, कतैबाट सरसापटी गरि उक्त रकम ल्याएकी थिइन् । मैले तुरुन्त दश कठ्ठा जग्गा बिक्री गरी पठाइदिएँ । स्वास्थ्य सुधार हुने कुनै छाट थिएन । दिनप्रतिदिन अवस्था बिग्रदै जान थाल्यो । दशैको समय थियो । जमरा राख्ने दिन मलाई विधुर बनाएर रुवाउँदै बिदा भइन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस