एचआईभी संक्रमितको स्वास्थ्य बीमा गर्न समस्या


काठमाडौं । एचआईभी संक्रमितको स्वास्थ्य बीमा गर्न समस्या देखिएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । सामाजिक विभेदका कारण घर परिवारमा नखुलेका उनीहरुको स्वास्थ्य बीमा गर्न समस्या देखिएको अधिकारीहरुको भनाई रहेको छ ।

रिकोभरिङ्ग नेपालले बागमती प्रदेशको चितवनमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले संक्रमितहरु विभेदमा परेका कारण वा पर्ने डरेले सम्बन्धित जिल्लाबाट सिफारिस ल्याउन नसक्दा स्वास्थ्य बीमा कार्यक्रमबाट बन्चित हुनु परेको गुनासो गरे । कार्यक्रममा सहभागी देव श्रेष्ठले विगतकोभन्दा अहिले केही खुल्न थालेपनि अझै ठूलो संख्यामा लुकेरै बस्न बाध्य भएको बताए । ‘समाजमा समलिङ्गी, तेस्रो लिङ्गीहरु जोखिम बर्गमा छन् श्रेष्ठले भने, ‘अझ संक्रमितलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन समस्या छ ।’

घर परिवार बाट टाढा बसेका संक्रमितहरु बीमाका लागि सिफारिस लिन गाउँ जानुपरेको छ, जुन कुरा उनिहरुमा सम्भव देखिएको छैन । यसलाई राज्यले कुनै पनि कोणबाट सम्बोधन गर्नुपर्ने अधिकारीहरुको भनाई छ ।

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको हो ।

चितवन सकृय महिला प्रतिष्ठानकी प्रतिनिधि कोपिला भण्डारीले पनि चितवनमा संक्रमितहरु अझै चरम विभेदमा परेको बताइन् । संस्थाले माइग्रेनमा केन्द्रित भएर काम गर्दै आएको छ । सस्थाले आर्थिक अवस्था कमजोर भएका संक्रमितहरुको उपचार खर्च समेत ब्यहोर्दै आएको छ । तर, कतिपय संक्रमित परिवारको डरले खुल्न नसक्दा यस्ता सस्थाहरुलाई मसेत सेवा दिन निकै कठिन भएको उनले बताईन् । कतिपय संक्रमितहरु परिवारको डरले खुट्टा भाँचिदा समेत ‘काप्रो’ बाधेर घरमा बस्न बाध्य भएका छन् भण्डारीले सुनाईन् । चितवनका अस्पतालहरुमा संक्रमितको उपचारमा समेत अल्झन देखिएको छ । बिशेषगरी चितवनको आँखा अस्पतालले संक्रमितको उपचार गर्न नमानेका घटनाहरु पनि कार्यक्रममा सहभागीहरुले सुनाएका थिए । रगतको जाँच गर्दा रिर्पोटमा एचआइभी पोजेटिभ देखिनासाथ चिकित्सकले सीधै तिलगंगा आँखा अस्पताल काठमाडौं लैजान भन्छन् यसले गर्दा कयौं संक्रमित बिरामीहरुले उपचार पाउँन सकेका छैनन् । भण्डारीका अनुसार हाल सम्म आँखा अस्पतालले तीनजना संक्रमित बिरामी रिफर गरेको छ । राज्यले यस्ता बिषयमा ध्यान नदिने हो भने गंभिर समस्या ल्याउने उनिको भनाई छ ।

यता महिला शशक्तिरण चितवन नेपालकी सचिव कमला सिलवालले महिला हिंसामा परेकाहरुको नागरिकता बनाउँन समस्या भएको बताईन् । ‘बाउ नभएकाहरु छन् उनिहरुको नागरिकता बनाउन सकिएको छैन हरेक ठाउँमा यसले ठुलो समस्या ल्याएको छ’, सिलवालले भनिन् । अहिले ७ जना भन्दा बढी नागरिकताको पर्खाइमा रहेका छन् । कार्यक्रममा सहभागीहरुले एचआइभी कानुन अभावका कारण यस्तो समस्या बढ्दै गएको बताए । समयमा कानुन आएको खण्डमा संक्रमितमाथि हुने विभेदमा कमी आउँने उनीहरुको बुझाइ रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ