मेयर बालेनले ७० वर्षमाथिका नागरिकको घरघरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने पहिलो निर्णय गर्लान् ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा वालेन्द्र(बालेन) साह निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेलाई भारी मत अन्तरले पछाडि पार्दै बालेन काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित भएलगत्तै धन्यवाद ज्ञापन गर्न र्याली लिएर बालेन काठमाडौं महानगरपालिकाभित्र घुमिरहेका छन् । बालेनको धन्यवाद र्यालीमा उत्साहजनक सहभागिता देखिन्छ ।
मेयरमा उठ्दा घरघरमै गएर ७० वर्षमाथिका वृद्ध-वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरिदिने प्रतिबद्धता जनाएका बालेनले निर्वाचित भएपछि यो विषयलाई पहिलो निर्णयमा समावेश गर्छन् कि गर्दैनन् धेरैले यो कुरालाई चासोका साथ हेरेका छन् ।
प्रायजसो स्थानीय तहका नवनिर्वाचित पालिकाभित्र एम्बुलेन्स सेवा प्रदान गर्ने विषयमा कुनै न कुनै निर्णय गरेको देखिन्छ । मेयर बालेनको चुनावी प्रतिबद्धतामा पनि काठमाडौं महानगरपालिकाको पूर्ण स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारू गरिने र सेवाहरू कल सेन्टरबाट सञ्चालन गरिनेछ भन्ने उल्लेख छ । यो प्रतिबद्धतालाई पनि पहिलो निर्णयबाटै कार्यान्वयन गर्दा उपयुक्त हुने देखिन्छ ।
प्रत्येक वडामा योग्य चिकित्सको व्यवस्था, नर्सिङ प्रोफेसनल, फार्मसिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोष्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिक सुरुवात गर्ने मेयर बालेन साहको चुनावी प्रतिबद्धता छ । यो काम पनि सुरुवात गरिहाल्दा राम्रो हुन्छ ।
हाल भइरहेका अस्पतालहरूको पूर्वधारमा गुणस्तरीय, उचित सेवा-सुविधा उपलब्ध गराउने, स्वास्थ्य वातावरणसहितको सरसफाइ तथा विद्यमान स्वास्थ्यकर्मीको सेवा सुविधामा वृद्धि गराइने उनको अर्को चुनाव प्रतिबद्धता रहेको छ ।
मधुमेह र रक्तचाप जस्ता दीर्घकालीन रोगहरूको लागि दिगो नियन्त्रणका उपायको रुपमा जगिङ तथा व्यायाम गर्न पार्कहरुको निर्माण गरिने बालेन साहको महत्त्वपूर्ण चुनावी प्रतिबद्धता रहेको छ । काठमाडौंको अधिकांश सरकारी/सार्वजनिक जग्गा भूमाफियाको कब्जामा रहेको र खुला ठाउँको अभाव भइरहेको अवस्थामा उनको यो प्रतिबद्धता अत्यान्तै महत्त्वपूर्ण देखिन्छ ।
नदी तथा खोला किनारमा सार्वजनिक जग्गा हडप्नेहरूलाई कारबाहीको दायरामा ल्याएर नदी तथा खोला किनारमा सुन्दर पार्क बनाउन सके बालेनको चुनावी प्रतिबद्धताले सार्थकता पाउन सक्छ । सिंहदरबार छेउमै रहेको अनामनगर-देवीनगरमा भूमाफिया इन्द्रकुमार चाम्लिङले हडपेको जग्गा यस अघिकाका मेयर विद्यासुन्दर शाक्यको मिलेमतोका कारण राज्यको स्वामित्वमा आउन सकेको छैन । त्यस क्षेत्रका प्रदेश सभा सदस्य एवं बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ पनि भूमाफियाले हडपेको आफ्नो क्षेत्रका जग्गा फिर्ता ल्याउन निरन्तर सक्रिय छन् । उनीसँगको सहकार्यमा नवनिर्वाचित मेयर बालेनले धेरै सार्वजनिक जग्गा संरक्षण गर्ने र पार्क बनाउने उद्देश्य पूरा गर्न सक्छन् ।
मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाभित्र बालेनको प्रतिबद्धतामा उल्लेख भएजस्ता पार्क बनाउँदै आएका छन् । बुद्धनगरमा यस्तै प्रकृतिको पार्क बनाउन दिपेन्द्रले बजेट विनियोजन गर्दा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर शाक्यले अबरोध खडा गरेर बजेटनै फ्रिज गराईदिएका थिए । बालेनले यस्ता कुरामा विशेष ध्यान दिन जरुरी छ ।
काठमाडौंको सार्वजनिक जग्गा खान विभिन्न संघसंस्था सक्रिय छन् । यस्ता गतिविधिबाट बच्न पनि नवनिर्वाचित मेयर बालेन चनाखो हुनुपर्छ ।
स्वास्थ्य सेवा कार्डको प्रावधान गरिने र सबै निजी र सार्वजनिक रेकर्ड राखिने पनि मेयर बालेनको प्रतिबद्धता छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस