पदावधि सकिएपछि वीपी प्रतिष्ठानका उपकुलपति रौनियारले सफाइ पाए


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको पदावधि सकिएको तीन महिनापछि डा. राजकुमार रौनियार भ्रष्टचार विशेष अदालतबाट सफाइ पाएका छन् ।

घुस- रिसवत लिएको आरोपमा अख्तियार दुरुपायोग अनुसन्धान आयोग वीपी प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. रौनियारमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अदालतले रौनियारमाथि अख्तियारले लगाएको आरोपको दावी नपुगेको भन्दै सफाइ दिएको हो ।

अख्तियारले १ करोड २८ लाख घुस-रिसवत लिएको बिगो दावीसहित भ्रष्टाचार मुद्दा लगाएपछि डा. रौनियार उपकुलपतिबाट निलम्बित भएका थिए । विशेष अदालतले पदावधि सकिएपछि उक्त मुद्दामा सफाइ दिएकाले उनी निलम्बनकै अवस्थामा उपकुलपतिबाट विदाइ भएका छन् ।

वीपी प्रतिष्ठानको फार्मेसी, होस्टल लगायतका भवन निर्माणको ठेक्का पाएको श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँने क्रममा घुस लिँदै गर्दा उपकलपति डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई नियन्त्रणमा लिएर भ्रष्टाचार मुद्दा चलाएको हो । अख्तियारले डिजिटल प्रमाणसहित घुस रिसवत लिएको प्रमाण पनि विशेष अदालतमा पेश गरेको थियो । तर अख्तियारले पेश गरेको त्यो प्रमाणबाट भ्रष्टाचार गरेको दावी नपुग्ने अदालतको ठहर छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ