बालबालिकालाई लगाउने २२ लाख ३ हजार २ सय फाइजर खोप आयाे
काठमाडौं । बालबालिकालाई लगाउने फाइजर खोप नेपाल आइपुगेकाे छ । आइतबार बिहान २२ लाख ३ हजार २ सय मात्रा खाेप नेपाल आइपुगेको हाे । त्यसका लागि चाहिने २ लाख २० हजार ८ सय भायल घाेलक दुई दिन अगाडि आइपुगेको व्यवस्थापन महाशाखाका प्रमुख डा रुद्रप्रसाद मरासिनीले बताए ।
नेपालले कोरोनाविरुद्धको खोपमा उल्लेख्य प्रगति गरेको भन्दै कोभ्याक्सले बालबालिकाका लागि निःशुल्क फाइजर खोप दिएको हो । कोभ्याक्स सुविधामार्फत आएको सो खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ ।
सरकारले पहिलो चरणमा २७ जिल्लामा अभियान संचालन गर्ने भएको छ । कोभ्याक्स सुबिधा मार्फत ८४ लाख मात्रा खोप आउने भएको हो । यस अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
बालबालिकालाई दुई चरणमा खोप अभियान संचालन गरिने अधिकारीहरुले बताएका छन् । पहिलो चरणमा २७ जिल्लाका १९ लाख १९ हजार ४० जनालाई असार ९ देखि १५ गते सम्म दिइने भएको छ । त्यस्तै पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा २ साउन देखि ८ सम्म लगाउने कार्यतालिका बनाइएको छ ।
अधिकारीहरुका अनुसार बाँकी रहेका ५० जिल्लामा पहिलो चरण भाद्र ५ देखि ११ सम्म संचालन हुने छ । त्यस्तै दोस्रो चरण भाद्र २७ देखि असोज १ गते सम्म संचालन हुने बताईएको छ । सरकारले ‘पेडियाट्रिक’ फाइजर खोप संचालन गर्न आवश्यक पर्ने सबै तयारी पुरा गरेको छ । स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइसकेको छ ।
५ देखि ११ वर्षका बालबालिकाका लागि ० दशमलब २ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजर कम्पनीले जनाएको छ । १२ वर्षभन्दा माथिका सबै उमेर समूहमा ० दशमलब ३ एमएलका दरले दुई डोज लगाइएको थियो ।
फाईजर खोपको सेल्फ लाइफ पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ ।
९ असारमा संचालन हुने जिल्लाहरु
झापा, मोरङ्, सुनसरी,सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, बागलुङ्, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिल्वस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, डडेल्धुरा ।
तपाईको प्रतिक्रिया दिनुहोस