दान दातव्यमै टर्यो कोभिड महामारीको चौथो लहर, ६६ लाख खोप मौज्दात छ तर अभियान शुन्य
कोल्डचेन, खोप तथा औषधि व्यवस्थापनको अवस्था कस्तो छ?
काठमाडौं । सन् २०१९ को नोभेम्बरमा चीनको वुहानमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि त्यसको असर अहिलेसम्म विश्वभर परिरहेके छ । नेपालमा कोरोनाको पहिलो केस बिक्रम सम्बत ०७६ साल ९ माघमा पुष्टि भएको थियो । चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यस यता नेपालमा चारपटक कोरोनाको छाल (भेरिएन्ट) आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७६ साल ९ माघ यता हालसम्म ९ लाख ९९ हजार २४१ जना पिसिआर र एन्टीजेन परीक्षणबाट १ लाख ५१ हजार ७९० जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ९ लाख ८५ हजार ३९५ जना निको भएका छन् । यता १२ हजार १६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । कोरोना नियन्त्रण गर्न सरकारले देशैभर खोप अभियान चलाएको छ । तर, खोप लगाउनेहरु न्युनमात्रै उपस्थित भएका छन् । देशभर लाखौं खोप मौज्दात रहेको छ तर, आइतबार खोप लगाउनेको संख्या शुन्य रहेको छ ।
किन सुस्तायो खोप अभियान
देशभर ६६ लाख भन्दा बढी कोभिड विरुद्धको खोप मौज्दात रहेको छ । तर, एक हप्ता देखि देशभर खोप अभियान ठप्प छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारी अभियान जारी रहेको तर, रिर्पोट नभएको बताउँछन् । केही पालिकाहरुको रिपोटिङमा समस्या भएकाले उपलब्ध नभएको हो तर, खोप रोकिएको छैन अधिकारीले भने । उनले सबै संकलन पछि सार्वजनिक गर्नेगरी काम भइरहेको बताए । विगतमा भने हरेक दिन खोप लगाएको तथ्यांक सार्वजनिक हुदै आएको थियो ।
भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप परीक्षण सफाल भएपछि नेपालले पहिलोपटक ०७७ फागुन ९ गते १० लाख ल्याएको हो । पहिलो चरणमा २० लाख डोज निशुल्क दिने भनिएपनि विभिन्न समस्याले गर्दा १० लाख डोज मात्रै आएको थियो । त्यस यता नेपालले विभिन्न प्रकारका कोरोनाविरुद्धको खोप प्रयोग गर्न थालेको हो ।
सरकारी तथ्यांक अनुसार हालसम्म ६ करोड १७ लाख ७६ हजार ७ सय ७० मात्रा खोप आएको छ । भरत सरकारको सहयोगमा सन् २०२१ जनवरी २१ मा १० लाख मात्रा खोप आएको थियो । दुई पक्षीय सम्झौतामा फेब्रुअरी २२ मा पुनः १० लाख डोज मात्रा कोभिसिल्ड खोप आएको थियो ।
हालसम्म ६ करोड १७ लाख ७६ हजार ७ सय ७० मात्रा खोप प्राप्त हुदा अधिकाशं सरकारले दान दातव्यमा जुटाएको छ । आफुले न्युन मात्रै खरिद गरेको छ । नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन, फाइजर, मोर्डना, अस्ट्राजेनेका खोप प्रयोगमा छन् । कोरोनाविरुद्ध खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख २७ हजार ६१९ जना हुन् ।
मन्त्रालयको तथ्यांक अनुसार ५ करोड ३५ लाख ६ हजार २०७ मात्रा खोप लगाइएको छ । पहिलो मात्रा २ करोड ३२ लाख ८ हजार ४८३ जना र पूर्ण मात्रा २ करोड २३ लाख २४ हजार ९३३ मात्रा लगाइएको छ । त्यस्तै बुस्टर मात्रा ७९ लाख ७२ हजार ७९१ लगाइएको छ ।
हाल सम्म प्राप्त खोप र संख्या
सरकारले १० लाख खरिद
नेपाल सरकारले २ करोड बढी दुई पक्षीय साझेदारीमा खोप खरिद गरेको छ । सरकार आफ्नो मात्रै लगानीमा १० लाख डोज खोप खरिद गरेको छ । योबाहेक सबै खोप दान दातव्यमार्फत जुटेको छ । अनुदान कै खोपबाट सरकारले खोप अभियान सफल पारेको देखिन्छ र पार्दै आएको छ ।
पाइपलाइनमा भएको खोप
सरकारको तथ्यांक अनसार केही खोपहरु अझै आउने क्रममा छन् । कोभ्याक्स सुविधामार्फत फाइजर ९२ लाख दिएको छ । त्यस मध्ये १४ लाख ९८ हजार ७७० डोज आएको छ भने, ७७ लाख १२ सय ३० डोज आउँन बाँकी छ । ५ देखि ११ वर्षका लागि प्रयोग गर्ने खोप भने हालै ८३ लाख ९५ हजार २०० मात्रा प्राप्त भइसकेको छ ।
सबै भन्दा बढी भेरोसेल र एस्ट्राजेनेका
नेपालमा हालसम्म प्रयोग भएको खोपमध्ये सबैभन्दा बढी सिनोफार्मले उत्पादन गरेको भेरोसेल प्रायेग भएको छ । व्यवस्थापन महाशाखाले दिएको तथ्यांक अनुसार प्राप्त खोपमध्ये उक्त खोप ३१ दशमलब ९ प्रतिशत प्रयोग भएको छ । त्यस्तै अस्ट्राजेनेकाको कोभिसिल्ड खोप २५ दशमलब ९ प्रतिशत प्रयोग भएको छ । बालबालिकालाई प्रयोग गरेको बायोएनटेकको फाइजर १३ दशमलब ६ प्रतिशत प्रयोग भएको छ । मोडोर्ना १२ दशमलब ४ प्रतिशत, सिनोभ्याकको ६ दशमलब ५ प्रतिशत, जोन्सनको ६ प्रतिशत, फाइजर बायोएनटेकको ३ दशमलब ७ प्रतिशत खोप प्रयोग भएको छ ।
कुन प्रदेशमा कति खोप मौज्दात छ
प्रदेश १
२ लाख ६४ हजार २४२
मधेस प्रदेश
३ लाख २२ हजार ५५०
गण्डकी प्रदेश
१ लाख ९२ हजार ३२
लुम्बिनी प्रदेश
५ लाख ३६ हजार ७२१
कर्णाली प्रदेश
२ लाख ६८ हजार ५६७
सुदुरपश्चिम प्रदेश
२ लाख १३ हजार ३७७
काठमाडौं १० जिल्ला
७ लाख ९० हजार ५१०
हेटौंडा स्टोर
७३ हजार ८७३
सेन्टर स्टोर टेकु
४० लाख ४८ हजार
जम्मा मौज्दात
६६ लाख ६६ हजार ६७२
कोल्डचेन, खोप तथा औषधि व्यवस्थापनको अवस्था
केन्द्रीय स्टोर
केन्द्रीय स्टोर तथा स्वास्थ्य सेवा विभाग टेकुमा कोभिड अगाडि आठ वटा कोल्डरुम थिए । एउटा अभलै बिग्रिएको छ । कोभिड देखिएपछि खोप भण्डारणका लागि तीनवटा कोल्डरुम थपिएको वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले बताए । नियमित औषधि र खोप भण्डारणका लागि ४५ हजार ५ सय लिटरको क्षमताको कोल्डरुम थियो । कोभिडमा थप ४० हजार लिटरको क्षमता बृद्धि गरिएको छ ।
पथलैया स्टोर
कोभिड अगाडि पथलैया मेडिकल स्टोरमा तीनवटा कोल्डरुममा औषधि र भ्याक्सिन भण्डारण हुँदै आएको थियो । कोभिडमा कोभिडविरुद्ध प्रयोग हुने भ्याक्सिनको भण्डारण गर्नुपर्ने भएपछि तीनवटा थप गरिएको छ । विगतमा ११ हजार २ सय ५ लिटर क्षमतामा भण्डारण हुने गरेको थियो । तर, हाल ३० हजार लिटर क्षमताको कोल्डरुम थप गरी ४१ हजार २५० लिटर पुर्याइएको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र, बिराटनगर
प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्था केन्द्र, बिराटनगरमा विगतमा तीनवटा कोल्डरुम थिए । सबै कोल्डरुममा नियमित खोप भण्डारण गरिएको थियो । तर, कोरोनापछि दुईवटामा नियमित खोप र अन्य औषधि भण्डारण गरेर एउटामा कोभिड खोप राखिएको थियो । त्यसले पनि नपुगेपछि २० हजार लिटर क्षमताका दुईवटा कोल्डरुम थप गरिएको हो । त्यस अगाडी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र, बिराटनगरमा ९ हजार ७५० लिटर क्षमताका कोल्डरुम थिए ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र, जनकपुर
बडेबाबु थापाका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र, जनकपुरमा कुनै मेडिकल स्टोर थिएन । तर, कोरोनाले गर्दा यहाँ पनि कोल्डरुम खोल्न बाध्य बनाएको हो । थापाका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र, जनकपुरमा कोभिडमा ३० हजार लिटर क्षमताको तीनवटा कोल्डरुम थपिएको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र, हेटौडा
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र हेटौंडामा २ हजार २५० लिटर क्षमताको एकवटा मात्रै कोल्डरुम प्रयोग हुँदै आएको थियो । तर, कोरोनाले गर्दा सरकारले २० हजार लिटरको दुई वटा कोल्डरुम थप गरेको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र, पोखरा
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र पोखरामा कोभिडभन्दा अगाडी तीनवटा कोल्डरुम संचालनमा थिए । तीनवटाको क्षमता ९ हजार ७५० लिटर थियो । कोभिडमा छुट्टै र दुईवटा कोल्डरुम २० हजार लिटरको थपिएको छ । हाल पोखरामा २९ हजार ७५० लिटरको कोल्डरुम संचालनमा रहेको छ । जहाँ औषधि र भ्यासिन भण्डारण गरिन्छन् ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र, बुटवल
स्वास्थ्य सेवा विभागले दिएको तथ्यांक अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र बुटवलमा ११ हजार २ सय ५० लिटर क्षमताको तीनवटा कोल्डरुम थिए । उक्त स्टोरमा औषधि देखि चाहिने भ्याक्सिन भण्डारण हुदै आएको थियो । त्यसमध्ये एउटा ३ हजार ७५० लिटरलाई खाली गरेर कोभिड भ्याक्सिन राखिएको थियो । नपुगे पछि २ वटा थपिएको छ । त्यसको क्षमता २० हाजर लिटरको छ । बुटवलमा विगत र नयाँ थप गरेपछि २९ हजार २५० लिटर क्षमताको कोल्डरुम तयार भएको छ ।
प्रदेश आपूर्ति व्यवस्था केन्द्र, नेपालगंज
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र नेपालगंजमा विगतमा तीन वटा कोल्डरुम थिए । तर, एउटा २२ सय ५० लिटरको संचालनमा छैन । बाँकी ७ हजार ५ सय लिटरको संचालनमा छ । यसले नपुगेपछि सरकारले १० हजार लिटर क्षमताको एउटा र ३ हजार ७५० लिटर क्षमताको अर्को गरी १३ हजार ७५० लिटरको नयाँ थप गरेको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र, धनगढी
विभागका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र धनगढीमा जम्मा ९ हजार ७५० लिटर क्षमताका तीनवटा कोल्डरुम थिए । तर, कोरोनाले १०–१० हजारका दुईवटा गरी २० हजार लिटर नयाँ थप गरेको छ ।
उपकरण खरिद
सरकारले दान आएका स्वास्थ्य उपकरणकै भरमा कोरोना महामारीको चौथो लहर गुजारेको छ । सरकारले आफैँ समयमै अत्यावश्यक उपकरणको जोहो नगर्दा देशले बढी मानवीय क्षति व्यहोर्नुपरेको थियो । कोरोनाबाट १२ हजार १६ जनाले ज्यान गुमाएका छन् । यीमध्ये कैयौँले देशको कमजोर स्वास्थ्य प्रणाली र आवश्यक स्वास्थ्य उपकरणको अभावमा ज्यान गुमाएका छन् ।
चार चरणको कोरोना महामारीको अवधिमा सरकारले ९ सय पाँच थान इन्फारेड थर्मोमिटर र ५० थान आइसियू भेन्टिलेटर मात्रै खरिद गरेको देखिन्छ । यो अवधिमा २३ हजार ७३ थान विभिन्न उपकरण दाताहरूबाट प्राप्त गरेको सरकारी तथ्यांक छ ।
महामारी सुरु हुँदा तत्कालीन केपी ओली सरकारले ओम्नी कम्पनीसँग कोरोना परीक्षण किट खरिद सम्झौतामा अनियमितता गरेको भेटिएपछि व्यापक आलोचना भएको थियो । त्यसपछि उपकरण खरिदमा ध्यान नदिएको सरकारले दाताबाट प्राप्त उपकरणबाटै महामारी टार्दै आएको छ । महामारीको दोस्रो छालमा धेरै मानवीय क्षति भएको थियो । आइसियू, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्युदर बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी बताउँछन् । त्यतिबेला सरकारले दातृ निकाय गुहारेपछि उपकरणहरू प्राप्त गरेको थियो ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार दाताबाट १० देखि ५० लिटरसम्मका आठ हजार सात सय ३६ थान अक्सिजन सिलिन्डर प्राप्त भएको छ । विभिन्न लिटरका अक्सिजन कन्सन्ट्रेटर ९ हजार तीन सय ७५ थान आएको छ । भेन्टिलेटरमा प्रयोग हुने सिप्याप मेसिन तीनसय पाँच थान र बाइप्याप मेसिन सात सय ८८ थान, पाँच प्रकारका इलेक्ट्रोनिक्स बेड ६६ थान, आइसियू बेड चार सय ४० थान प्राप्त भएको छ । इन्फारेड थर्मोमिटर दुई हजार पाँच सय ७० थान, पोर्टेबल भेन्टिलेटर, ८२ र पोर्टेबल भेन्टिलेटर सेट सय थान प्राप्त भएको छ । त्यस्तै, बच्चा र वयस्कका लागि गरी ६ सय ११ थान भेन्टिलेटर, आइसियू बेड चार सय ४० थान र इलेक्ट्रोनिक बेड ६६ थान दाताबाट आएको विभागको तथ्यांक छ ।
डा. अधिकारी सरकारले मेडिकल उपकरण खासै खरिद नगरेको बताउँछन । ‘सरकारले मेडिकल उपकरणहरू खासै किनेको छैन, सबैजसो दातृ निकायहरूबाट सहयोग प्राप्त भएका छन । दाताकै सहयोगबाट चलेको छ । सरकारले आवश्यकताअनुसार देशैभरका स्वास्थ्य संस्थामा पठाएको छ,’ उनले भने ।
साढे १७ करोड मूल्यबराबरका कोभिसिल्ड खोपको ‘डेट एक्स्पायर’
गत साउनमा एकैदिन साढे १७ करोड मूल्य बराबरका कोभिसिल्ड खोपको ‘डेट एक्स्पायर’ भएको छ । सरकारले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन नसक्दा एकै दिन साढे १७ करोड ६४ लाख मूल्य पर्ने दुई लाख डोज खेर गएको हो ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार दुई लाख डोज कोभिसिल्डको म्याद सकिएको हो । अझै दुर्गमबाट विवरण नदिएकाले खेर गएको खोप बारे एकीन बताउँन नसकेको फार्मेसी अधिकृत बडेबाबु थापाले बताए ।
विभागमा एक लाख ६४ हजार एक सय ७० डोज खेर गएको तथ्यांक आइसकेको छ भने बाँकीको आधिकारिक तथ्यांक संकलन भइरहेको छ । तथ्यांकअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा १० हजार डोज र बागमती प्रदेशमा ८५ हजार एक सय २० डोज कोभिसिल्डको म्याद सकिएको छ । त्यस्तै, प्रदेश १ मा ११ हजार, हेटौँडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकु कोल्ड चेन स्टोरमा १९ हजार चार सय ८० र गण्डकी प्रदेशमा दुई हजार पाँच सय ७० डोज मौज्दात रहेकामा सबैको म्याद शनिबारदेखि सकिएको छ । स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत बडेबाबु थापाले खोप कति बाँकी छ र कतिको म्याद सकियो भनेर अन्तिम विवरण संकलनको काम भइरहेको बताए ।
म्याद सकिएर खेर गएको खोप विभिन्न समयमा दातृ राष्ट्रबाट अनुदानमा आएको थियो । सरकारले तेस्रो डोज लगाउनसमेत अनुरोध गरेको छ । तर, पनि खोपप्रति उत्साहजनक आकर्षण देखिएको छैन । विगतमा दैनिक पाँच लाखसम्मले खोप लगाएकामा अहिले ५० हजारदेखि एक लाखसम्मले मात्रै लगाउने गरेका छन । त्यसमा पनि खोप अभियान निरन्तर चलेको छैन ।
यता, ५ महिना अघि काठमाडौं स्वास्थ्य कार्यालयमै तीन हजार डोज मोडर्ना खोप बिग्रिएको थियो । गत चैतमा काठमाडौं स्वास्थ्य कार्यालयमै मोडर्नाको तीन हजार डोज खोप बिग्रिएको थियो । आवश्यक तापक्रम मिलाइएको भण्डारणबाट निकालेर निश्चित अवधिभित्र प्रयोग गर्न नसक्दा उक्त खोप खेर गएको थियो । मोडर्नाको खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ । त्यहाँबाट निकालेपछि ३० दिनसम्म दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गरेर प्रयोग गर्न सकिन्छ । तर, ३१ दिनपछि उक्त खोपको आयु सकिन्छ ।
एक वर्षमा १ अरब ९३ करोडको खरिद सम्झौता
स्वास्थ्य सेवा विभागले ०७८ मा २ अर्ब ४५ करोड अनुमानित लागतको खरिद प्रक्रिया शुरु गरेको थियो । जसमध्ये करिब १ अरब ९३ करोडको खरिद सम्झौता भएको छ । गत वर्ष सुरु भएका ७० वटा खरिद क्रियाकलापहरुमध्ये ५७ वटा क्रियाकलापका ६३ वटा खरिद सम्झौता भएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका खरिद प्रमुख डा. सुरेन्द्र चौरासियाले बताए । विभागले नियमित औषधि उपकरण खरिद गरेको हो । कोभिड खोपको हकमा भने मुल्य नखुलाउने सरकारबाट निर्णय भएपछि एकिन खर्च पुष्टि गर्न सकिएको छैन । स्रोतका अनुसार ३० अरब बढी खर्च भएको छ ।
महामारीमा ३५ करोडभन्दा बढीको सहयोग, हजारौंलाई तालिम दियौं
नेपाल चिकित्सक संघले आफ्ना सदस्यहरुका लागि मास्क, पीपीई, स्यानिटाइजरलगायत सुरक्षा कबजका उपकरणहरु खरिद गरेको छ । बिस्तारै सहज हुँदै गएपछि विभिन्न सहयोगी मनहरुले उपलब्ध गराउनु भएको थियो । त्यसबाट हामीले विभिन्न स्वास्थ्य संस्था र त्यहा कार्यरत कर्मचारीहरुलाई उपलब्ध गराएका थियौं । दाताको सहयोगमा भेन्टिलेटर, अक्सिजन प्लान्ट, पीपीई, वेडहरु उपलब्ध गराएका थियौं ।
देशभर ३५ करोडभन्दा बढी मुल्यका स्वास्थ्य उपकरण वितरण गरेका थियौं । बैंक, वित्तीय संस्था, विश्व स्वास्थ्य संगठन र गैरआवासीय नेपालीहरुबाट राम्रो सहयोग भएको थियो । महामारीकोबीचमा चिकित्सक संघले २५ वटा विभिन्न विषयमा भर्चुअल तालिमको आयोजना गरेको थियो ।
महामारीबाट ठूलो क्षति हुन नदिन आइसियूको तालिम संचालन गरेको थियो । एउटा तालिमबाट १२ हजार भन्दा बढी स्वास्थ्यकर्मी लाभाम्वित भएका थिए । मानसिक रोगबाट बच्ने उपाय, कोभिड व्यवस्थापन र कसरी सबैलाई सुरक्षित रहने भन्ने जस्ता विषयमा तालिम संघले दिएको थियो ।
महामारीको बेला नेपाल मात्रै हैन संसारका देशमा समस्या हुन्छ । नेपालमा पनि सीमित औषधि र भ्याक्सिन भण्डारण गर्ने कोल्डरुमहरु थिए । त्यसले तत्काल व्यवस्थापनमा समस्या गराएको थियो । राज्यले अहिलेको महामारीबाट पाठ सिकेर भण्डारणको उचित व्यवस्थापन गराउनु पर्छ । अहिले चिकित्सक संघले आफ्ना सदस्यहरुलाई असहज नहोस भनेर विभिन्न स्थानमा सहयोग माग्दै वितरण गरेको थियो । तर,सधै त्यस्तो हुँदैन । यसमा राज्यले पनि गम्भीर भएर सोच्नुपर्छ । एकदिन सम्झने र त्यसपछि बिर्सिएर जाने भए महामारीले हामीलाई कुनै पनि बेला फेरि थला पार्नेछ । यसमा सरोकारवालाहरू सबै एकसाथ अगाडि बढ्नु पर्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस