देशमा ३० लाख फाइजर भ्याक्सिन अल्ट्रा कोल्डचेनमा राख्न सक्ने क्षमताको बिकास भयो


काठमाडौं । नेपालको भ्याक्सिन भण्डारण क्षमता ह्वातै बढेको छ । विगतमा ११५ क्युबिक लिटर क्षमता थियो । नियमित खोपका लागि १११ क्युबिक लिटर थियो । ४ क्युबिक लिटर अन्य भ्याक्सिन राख्न सक्ने क्षमता बाँकी थियो । करिब ६ लाख बालबालिकालाई दिइने नियमित खोप मात्रै भण्डारण गर्न पुग्ने कोल्डचेन रहेकोमा हाल लाखौं नागरिकलाई पुग्ने खोप भण्डारण क्षमताको बिकास भएको छ ।

नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी प्यानलिष्टहरुले देशको खोप भण्डारण क्षमता बिजुली गतिमा बिकास भएको बताएका हुन् । व्यवस्थापन महाशाखाका खरिद प्रमुख डा सुरेन्द्र चौरासियाले हाल फाइजर खोप नै अल्ट्राकोल्डचेनमा ३० लाख सम्म एकै पटक भण्डारण गर्न सक्ने क्षमता बिकास भएको बताए । फाइजर खोप माइनर ८० डिग्री सम्म चिस्यानमा राखिन्छ ।

चिकित्सक संघको दुई दिन सम्म चलेको सम्मेलनमा विभिन्न ७ वटा विषयमा छलफल भएको थियो । एउटा विषय भने औषधि, भ्याक्सिन ढुवानी, भण्डारण र वितरणमा केन्द्रित भएको थियो ।

कसले के भने

महानिर्देशक, स्वास्थ्य सेवा विभाग

छोटो समयमा कोभिड विरुद्धको खोप कसरी सम्भव भयो

कोरोना महामारी बिरुद्दको कोभिड खोप नेपालमा समयमा आउँन सक्नु राजनीतिक प्रतिवद्धता र सरोकारवाला सबैको सकारात्मक सहयोग हो । कार्यगत एकता निरन्तरता जस्वस्थ प्रति चासो र चनाखो भएर लाग्दाको परिणाम हो ।

बिस्तारै लागेको भए यो खोप बजारमा आउँन १० औं वर्ष लाग्ने थियो । तर, खोप सम्बन्धी वैज्ञानीकहरुको अहोरात्रको प्रयासबाट छोटो समयमा खोप तयार भयो ।

खोप तयार कहाँ कहाँ हुन्छ भन्ने विषयमा सरकार र सरोकारवाला निकाय सचेत थियो । त्यही अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि सक्रिय भएर खोपको उत्पादन गर्ने देशहरुको खोजिमा जुटेको थियो ।

त्यही बिचमा भारत र चीनमा खोप तयार भयो । हामीले आफ्नो तर्फबाट र पुरै सरकार समेत खोप ल्याउन दुई देश बिचमा छलफलमा जुटेकाले समय र जनताको सहज पहुंचमा खोप पुर्याउन सफल भएका हौं ।

कोभिड भ्याक्सिनको आकस्मिक प्रयोगका लागि अध्यादेशले बाटो खोल्यो

भरत भट्टराई, महानिर्देशक, औषधि व्यवस्था विभाग

तत्कालीन समयमा कोरोनाको भ्याक्सिन नेपाल ल्याउने विषयमा कानुनी प्रावधान थिएन । कानुनी रुपमा कुनै प्रावधान नभएपछि सरकारले अध्यादेश मार्फत कोभिड विरुद्ध तयार भएका खोप ल्याउने बाटो खोलेको थियो । जुन अध्यादेशले आकस्मिक प्रयोगका लागि बाटो खोलेको थियो । अहिले ऐन बनेको छ ।

औषधि व्यवस्था विभागले त्यस समयमा निकै चुनौतीको सामना गर्नु परेको थियो । विभिन्न निकायको सहयोगबाट ७ वटा भ्याक्सिनको आकस्मिक प्रयोग अनुमतीका लागि बाटो खोल्न सकेका हौं । सो बिरुद्द काम गर्न विभागलाई मानव शंसाधनको अभाव भयो । औषधि व्यवस्था विभागमा जनशक्ति ज्यादै कम छ । हामी सग भएको जनशक्तिलाई समय सापेक्ष तालिम तथा जानकारी दिन सकिएको छैन ।

भ्याक्सिन भण्डारण क्षमतामा तिब्र बिकास भयो

डा. सुरेन्द्र चौरासीया,  खरिद शाखा प्रमुख, व्यवस्थापन महाशाखा

कोरोना भाइरस कोभिड महामारीले देश आक्रान्त हुदा हामीले एउटा विकल्प खोप देखेका थियौं । सम्पन्न देशहरुमा भ्याक्सिनको उत्पादन भइरहेको थियो । नेपालले भ्याक्सिन प्राप्त गरेको खण्डमा कसरी भण्डारण र वितरण गर्ने भन्ने प्रश्नहरु व्यापक मात्रामा आएका थिए ।

त्यस समयमा नेपालको भ्याक्सिन भण्डारण क्षमता ११५ क्युबिक लिटर थियो । नियमित खोपका लागि १११ क्युबिक लिटर थियो । ४ क्युबिक लिटर अन्य भ्याक्सिन राख्न सक्ने क्षमता बाँकी थियो ।

भारत सरकारले हामीलाई जनवरी २०२१ मा १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । त्यस्तै चीन सरकारले मार्च २०२१ मा ८ लाख डोज भेरोसिल खोप अनुदानमा दिएको थियो । खोप प्राप्त हुना साथ वितरण र भण्डारण गर्यौं ।

त्रिभुवन विमान स्थलमा बिग्रिएर रहेको एउटा कोल्डचेन मर्मत गरेर संचालनमा ल्यायौं । यसले पनि सहयोग गरेको थियो । विगतमा लामो समय पुग्ने नियमीत खोप ल्याएर भण्डारण गरिदै आएकोमा तत्काल आवश्यकता पर्ने अन्य खोप मात्रै ल्याएर कोभिड भ्याक्सिनको भण्डारणमा सहजिकरण गर्दै लगियो ।

संकट नआओस् भनेर निजी क्षेत्रसँग भएका कोल्डचेनलाई पनि भ्याक्सिन भण्डारणमा परिणत गर्दै लगियो । सरकारसँग भएका रेफ्रिजेनेटर भ्यानहरुबाट नियमीत रुपमा ढुवानीको वातावरण मिलायौं ।

प्रदेश र जिल्लामा भएका भ्याक्सिन कोल्डचेनको भरपुर प्रयोग गरेर खोप लगाउने कार्यलाई पनि तिब्रता दिइयो । हामीले भ्याक्सिन भण्डारणमा मात्रै ध्यान दिएको भए सफल हुन सक्ने अवस्था नरहन सक्थ्यो । आवश्यकता अनुसार मापदण्ड बनाएर नियमित कोभिड खोप भण्डारण सँगसँगै ढुवानी र लगाउने कामलाई पनि तिब्रता दिएकाले ठुलो समस्या देखिएन । कोल्डचेनमा बिभिन्न दातृ निकायहरुले पनि सहयोग गरेकाले अहिले एकै साथ करोडौं भ्याक्सिन भण्डारण गर्ने क्षमता छ ।

अहिले ३० लाख फाइजर भ्याक्सिन अल्ट्रा कोल्डचेनमा राख्न सक्ने क्षमताको बिकास भएको छ । यसमा तीन तहको सरकार, निजी क्षेत्र, सरोकारवाला सबै तथा संचार जगत सबैको सहयोग रहेको छ ।

महामारी सगै बिगतमा धेरै भ्याक्सिनबारे जनचासो थियो । अहिले बिस्तारै घटेर गएको छ । हाल सम्म देशमा ६ करोड ३२ लाख भ्याक्सिन प्राप्त भएको छ । २ करोड खरिद भएको छ भने ४ करोड बढी अनुदानबाट प्राप्त भएको छ । खोप अभियानबाट नेपालले छोटो समयमा उल्लेख्य प्रगति हासिल गरेका कारण बिभिन्न देशले नेपाललाई अनुदानमा खोपहरु उपलब्ध गराएका हुन् ।

पछिल्लो दिनमा सरकारले बालबालिकालाई दिइने फाइजर खोप खरिद गर्न सरकारले निर्णय गरेको थियो । तर, नेपाल सरकारको राम्रो प्रगति गरेकै कारण कोभ्याक्सले निःशुल्क दिएको हो । जसबाट ६ अरब भन्दा बढी रकम बचेको छ ।

८४ लाख फाइजर खोप बच्चाका लागि अनुदानमा प्राप्त गरेको हो । यसले पनि विश्वसामु के देखायो भने सबै मिलेर काम गरेको खण्डमा जस्तो सुकै समस्या पनि समाधान गर्न सकिने रहेछ भन्ने सन्देश अन्तराष्ट्रिय जगतमा र नेपालको कोभिड बिरुद्दको खोप जनतालाई पुगेको सहजताले समेत संदेश दिएको छ ।

भ्याक्सिन हराएको कुरा के हो ?

काम गर्ने क्रममा केही त्रुटि भएको हो भ्याक्सिन हराएको हैन । तथ्यांकमा नमिलेका कारण भ्याक्सिन हरायो भन्ने प्रचार बाहिर आयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर गुणराज लोहनीको संयोजकत्वमा एक समिति गठन गरेर छानविन समेत गरेको थियो । उक्त समितिले भ्याक्सिन नहराएको तथ्याकंमा राख्न नसकिएको निष्कर्ष निकालेको थियो ।

महामारी आक्रान्त र जनशक्ति अभावका कारण गाउँ गाउँमा पुगेको भ्याक्सिन रिर्पोटिङ् समयमा कोभिडमा भएको थिएन । कार्यगत त्रुटिका कारण गलत सूचना प्रवाह भयो हराएको होईन।

नेपालमा क्यान्सरका समेत औषधि उत्पादन हुन थालेका छन्

प्रज्जवलजंग पाण्डे, अध्यक्ष, औषधि उत्पादक संघ

विश्व मानव जीवन माहामारीको त्रासमा हुँदा कोभिडको समयमा नेपाली औषधि उद्योगहरुले निकै सह्रायिन काम गरेका छन् ।

विश्वका धेरै देश भन्दा अगाडी भ्याक्सिन पाउने देशको सुचिमा नेपाल पनि हो । नेपालमा पहिलो पटक उत्पादन भएका औषधि पारासिटामोल नै हो । सन् १९९५ मा नेपालमा औषधि उत्पादन सम्बन्धी नीति बन्यो । यो नीतिमा पनि आधारभूत औषधिहरु ८० देखि ९० प्रतिशत नेपालमा बन्नुपर्छ भन्ने छ ।

अहिले १०५ वटा उद्योगहरु दर्तामा छन् । ६८ वटा उद्योगका उत्पादनहरु बजारमा छन् । हाल नेपालमा क्यान्सरका समेत औषधि बन्न थालेका छन् । आजका दिनमा नेपालको औषधि खपतको ५२ प्रतिशत बजार नेपाली औषधि उद्योगले ओगटेका छन् ।

आजको आवश्यकता भनेको स्वास्थ्य क्षेत्रको सुधार साथै नेपाली उत्पादनबाट आत्मनिर्भर बन्न आवश्यक छ । यसमा औषधि पनि अगाडी आउँछ । धेरै जसो औषधि नेपालमा बन्न थालिसकेका छन् । यस्तो अवस्थामा नेपालमा बनेका औषधिको उत्पादन, वितरण र प्रयोगमा सहज गर्ने नीति राज्यले ल्याउन जरुरी छ ।

उत्पादन भएका औषधीहरुमा हामीसँग सबै कुराहरु छन् त्यसैले पनि ७० देखि ७५ प्रतिशत आत्मानिर्भरमा हामी पुग्न सक्छौं ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ