मुटुरोग उपचारमा नेपालकाे इतिहास


संसारमा प्रत्येक वर्ष लाखौँ मानिसको ज्यान लिने मुटुरोग हाम्रो देशको पनि एउटा प्रमुख स्वास्थ्य समस्या रहिआएको छ । यो रोग घट्ने दिशामा भन्दा पनि बढ्ने क्रममा रहेको छ । यसै पृष्ठभूमिमा २९ सेप्टेम्बरमा विश्वभर मनाइने मुटु दिवस मुटुरोग नियन्त्रणका लागि व्यक्तिगत र सामूहिक सबैखाले कदम चाल्न प्रण गर्ने दिनका रूपमा साताव्यापी रूपमा देशैभरि मनाइँदै छ । यसै सन्दर्भमा नेपालमा मुटुरोग र यसको उपचार सेवाको विकासक्रमलाई नियाल्दा बढो अनौठोलाग्दो तरिकाले यो विकासक्रम देशको राजनीतिक व्यवस्थाको विकासक्रमसँग मिल्दोजुल्दो अवस्थामा रहेको देखिन्छ । नेपालमा मुटुरोग र यसको उपचारको इतिहासलाई निम्न कालखण्डमा बाँडेर हेर्दा फरक पर्दैन ।
क) पञ्चायत काल (वि.सं. २०१७ देखि २०४६)
पञ्चायतकालमा शाहवंशको इतिहास हेर्ने हो भने मुटुरोगसम्बन्धी समस्या अर्थात् हृदयाघात वंशाणुगत रोगजस्तै देखिन्छ । राजा त्रिभुवनको हृदयाघातका कारण स्विट्जरल्यान्डको जुरिचमा मुत्यु भएको थियो । राजा त्रिभुवनका तीनै छोराहरू महेन्द्र, हिमालय र वसुन्धराको पनि हृदयाघातकै कारण मृत्यु भएको थियो । राजा वीरेन्द्रलाई समेत हृदयाघात भयो । उनका भाइहरू ज्ञानेन्द्र, धीरेन्द्र र रवीन्द्र शाह तथा भतिजा पारस शाहलाई पनि हृदयाघात भएकै हो ।

उपचारको पाटो हेर्दा मुटुरोग निदानको आधारभूत र निकै महत्वपूर्ण एक परीक्षण जसलाई इसिजी भनिन्छ, त्यो नेपालमा पहिलोपटक शान्त भवन अस्पतालमा एड्गर मिलरले वि.सं. २०१३ मा ल्याएको देखिन्छ । डा. मृगेन्द्रराज पाण्डेको सक्रियतामा २०१७ सालमा वीर अस्पतालमा इसिजी परीक्षण सेवा सुरु भयो । २०२४ सालमा पहिलोपटक हृदयाघात भएका राजा महेन्द्रलाई ०२८ मा पुनः हृदयाघात भयो जसको उपचार भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) का डा. भाटिया र नेपालका डा. मृगेन्द्रराज पाण्डेले गरेका थिए । सोही कालखण्डमा मुटुरोग विशेषज्ञका कुरा गर्दा डा. एनके श्रेष्ठले मुटुरोगको उच्च विशेषज्ञता डिग्री डिएम कार्डियोलोजी सकेर वीर अस्पतालमा सेवा सुरु गरे ।

भलै, उनले वीरमा सेवा निरन्तर गर्न भने सकेनन् । त्यसैगरी मुटुको अप्रेसन सेवा सुरु गर्ने प्रयास पनि भएको देखिन्छ, तर सफल रूपमा विस्तार हुन भने सकेन । सन् १९८० मा डा. डिएन गंगोलको नेतृत्वमा मुटुको अप्रेसन र अस्ट्रेलियन डाक्टरबाट ओपन हार्ट सर्जरी वीर अस्पतालमा सम्पन्न भयो । देशको सबैभन्दा पुरानो वीर अस्पतालमा डा. लोकविक्रम थापा र पछि डा. दामोदर पोखरेललगायतले त्यसलाई अघि बढाउने प्रयास गरे । त्यसैगरी मुटुको एन्जियोग्राफी पनि १९८६ मा अस्ट्रेलियन डाक्टरको समूहले वीरमा सुरु गरायो । डा. डिबी कार्कीले वीरको कार्डियोलोजी विभाग प्रमुखका रूपमा नेतृत्व गरे । त्यतिखेर डा. एमआर बज्राचार्यले मुटुको पेसमेकर राख्ने उपचार नेपालमै गरेर देखाए ।यसरी मुटुरोगको इतिहास नेपालमा पुरानै देखिन्छ । एउटा इसिजी वीर अस्पतालमा २०१७ सालमा आएको इतिहासबाटै आमसर्वसाधरणमा मुटुरोगको अवस्था कस्तो थियो भन्ने अनुमान मात्र गर्न सकिने विषय बन्यो ।
ख) संवैधानिक राजतन्त्र काल (विसं. २०४६ देखि २०६२)
२०४६ पश्चात् जसरी देशमा व्यवस्था परिवर्तन भई बहुदलीय प्रजातन्त्रात्मक संवैधानिक राजतन्त्र आयो, मुटुरोगको उपचार सेवामा पनि व्यवस्थित विकास हुँदै गयो । पंक्तिकारले सन् १९८९ मा बंगलादेशबाट मुटुरोगसम्बन्धी विशेषज्ञता (एमडी कार्डियोलोजी) हासिल गरी त्रिवि शिक्षण अस्पतालमा सेवा सुरु गर्दा मुटुरोगको उपचार गर्ने छुट्टै कार्डियोलोजी युनिटसमेत स्थापित भइसकेको थिएन । सन् १९९० मा पंक्तिकारकै नेतृत्वमा डा. सुनीलचन्द्र झा, डा. रत्नराज पौड्याल र डा. विकास दलीसमेत भएर कार्डियोलोजी युनिट बन्यो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट १२ वैशाख ०६६ मा भयो । डा. भगवान् कोइराला गंगालालका कार्यकारी निर्देशकको कार्यकाल सकेर मनमोहन सेन्टरमै आएपछि यसमा मुटुका सबैखाले शल्यक्रिया हुने गरी सेवा विस्तार भयो । मुटुरोगको उपचार सेवा बिस्तारै बढ्दै फैलँदै गएको परिप्रेक्ष्यमा मुटु रोग विशेषज्ञ उत्पादन गर्ने कार्य अस्पताल बनाउनभन्दा पनि महत्वपूर्ण हुने देखेर विशिष्ट जनशक्ति उत्पादन गर्नेतर्फ चिकित्साशास्त्र अध्ययन संस्थालाई डोहोर्‍याउने प्रयास पनि सुरु गरिएको छ । ०६५ मा एमसिएच सिटिभिएस तथा ०६७ मा डिएम कार्डियोलोजीको अध्ययन अध्यापन चिकित्साशास्त्र अध्ययन संस्थानमै गराउन सफल भइएको छ, जुन पछि काठमाडौं विश्वविद्यालय र वीर अस्पताल तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले समेत सुरु गरेका छन् । पछिल्लो १० वर्षमा उत्पादन भएका विशेषज्ञ डाक्टरले अहिले देशका प्रमुख अस्तालको मुटु उपचारको नेतृत्व गरिरहेका छन् ।

अनैकौँ अनुसन्धान चलिरहेका छन् र अनुसन्धान कृति पनि प्रकाशित भइरहेका छन् । यसले देशको मुटु उपचारको क्षेत्रलाई अझै विकसित र परिष्कृत बनाउँदै लैजानेछ । हाल जस्तोसुकै मुटुरोगको उपचार नेपालमै सम्भव छ । सर्वसाधारण गरिब नेपाली जनतादेखि देशका मन्त्री, प्रधानमन्त्रीसम्मको मुटुको उपचार स्वदेशमै भइरहेको छ ।

संसारका कुनै पनि देशमा विरलै उपलब्ध मुटुरोग उपचार सहुलियत तथा निःशुल्क उपचार कार्यक्रम नेपालमा राज्यले सञ्चालन गरेको छ । हाल १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको अस्पाल भर्ना गरेर गर्नुपर्ने मुटुको उपचार निःशुल्क छ । त्यस्तै, अन्य निःशुल्क बाथरोग उपचार कार्यक्रम, अन्य मुटुरोगीका लागि एक लाख रुपैयाँसम्मको सहुलियत आदि कार्यक्रमले मुटुरोगको उपचार सेवा सर्वसाधरणको पहुँचमा पुर्‍याउन निकै महत्वपूर्ण भूमिका खेलेको छ ।

अन्त्यमा, मुटुरोगसम्बन्धी उपचार, पठनपाठन, अनुसन्धानमा जति प्रगति गरे पनि सबैभन्दा महत्वपूर्ण भनेको रोकथाम, निवारण नै हो । यस वर्ष विश्व मुटु दिवसको अवसरमा वर्ल्ड हार्ट फेडरेसनले दिएको नारा पनि ‘मेरो मुटु तिम्रो मुटु’ नारा पनि आफ्नो मुटु र अरूको मुटुलाई पनि रोग लाग्नबाट बचाऔँ भन्ने नै हो । अब आफ्नो मुटुलाई रोग लाग्नबाट बचाउन के गर्नुपर्‍यो त भन्दा एकछिन पनि विश्राम नगरी जीवनभर धड्किने मुटुलाई माया गरेर बचाइ राख्नुपर्‍यो । यसलाई बचाउन अंग्रेजी शब्द ‘डियर’लाई सम्झनु पर्‍यो । ‘डि’ भनेको डाइट, खाना स्वस्थकर हुनुपर्‍यो । ‘ई’ भनेको एक्सरसाइज, नियमित व्यायाम गर्ने भनेको हो । ‘ए’ भनेको एडिक्सन फ्री हुने भनेको हो । चुरोट नखाने, रक्सी बढी मात्रामा सेवन नगर्ने । ‘आर’ भनेको रिल्याक्सेसन, तनावमुक्त भएर बाँच्ने भनेको हो । यही सूत्र जीवनमा अवलम्बन गर्न सके मुटुरोगको उपचार गराउने होइन, मुटुरोग लाग्नै नदिन सकिन्छ । विश्व मुटु दिवसको मूल सन्देश पनि यही हो । आजै र अहील्यैदेखि आफ्नो मुटु स्वस्थ राख्ने प्रण गरौँ ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ