दसैँ र नर्स

चिन्तै चिन्ताको दसैँभन्दा त त्यो बालापनको दशै कयौं गुणा बेश


परालको टौवा मुनी नाम्लोको पिङ्ग हालेर मच्चिनुको मज्जा म आधुनिक युगको लिङ्गे र रोटे पिङ्गमा पाउन सक्दिन। दसैँ आएपछि घरमै खसी काटेर मासुमा झोल हालेर खाएको स्वाद म अहिलेको दैनिक सहज हुने ‘मटन’मा पाउँन सक्दिन । गाउँ घरमा कोहिलीको कुहु-कुहुमा रमाउने यो मन अहिले भेन्टीलेटरको टुटुमा बानी परेको छ । दसैँ आएपछि उतिबेला छुट्टै रौनक हुन्थ्यो गाउँ घरमा । दाइ काठमाडौंमा बस्ने । लाग्थ्यो दसैँमा दाई घर आउदा कस्तो लुगा ल्याइदिनु हुन्छ भनेर ! दाइ आउने दिन गन्दाको मज्जा नै बेग्लै हुन्थ्यो ।

बाबा मम्मीको आँखा छलेर गाउँभरीका साथीहरु भेला भई घर पछाडि लगाएको पिङ्ग खेल्दा रात परेको पत्तो नै हुँदैन थियो । उता पल्लो घरमा खसी काटेर रक्ति खान बोलाउँद खुसीले मनै प्रफुल्ल हुन्थ्यो ।

दसैँ आएसँगै गाउँ र घर वरपरको सरसफाई बाटो घाटो मर्मत गर्ने रातो र सेतो कमेरोले घर लिप्ने-पोत्ने जस्ता काम हुने हुँदा यस समयमा सबै जना ब्यस्त पनि हुन्थ्यौं । दसैँका बेला छर छिमेकमा प्रतिस्पर्धा नै चल्थ्यो कस्को घर राम्रो र सुन्दर बन्ने भनेर । साँझमा गाउँ घर डुल्ने त म मात्रै  हुँदिनथे । साझँ परेपछि पानी लिन जाँदा गल्लीमा रहेको रुखको हाँगामा डोरीले बाधेर हालेको पिङ्गमा घण्टौ हराएका क्षणहरु स्मृृतिको मानसपटलमा अहिलेपनि ताजै छन् ।

अझ विजया दशमीको दिन आफन्तको घरघर-घरमा टीका थाप्न जादाँ काटेको एक एक टुक्रा केरा र मेवा खादै घर आएर पैसा गन्दाको मञ्जा र त्यो आनन्द अहिले मासिक थाप्ने ‘स्यालरी’बाट कदापी पाउन सकिँदैन । उसबेला टीका थापेर लिइने आशिर्वादको खासै महत्त्व थाहा थिएन । आर्शिवादभन्दा पनि नयाँ लुगा, र टीका लगाएपछि पाईने दक्षिणा अनी विद्यालयले दिने छुट्टी बढी प्राथमिकतामा पर्थे ।

टीका लगाएर सबैले दक्षिणा दिन्छन् र माइजुले बनाइको खसीको सुकुटी मिठो हुन्छ भनेर रमाउँदै थकानको महशुससम्म नगरि घण्टौं हिडेर मामाघर गईन्थो । चाहे घर या मामाघर सानालाई दिने दक्षिणा सबैकोभन्दा कम नै हुन्थ्यो । अरु आर्शिवादको लागि जाने गर्थे तर आफु सानै भएरपनि होला बढी दक्षिणाकै चासो र चिन्ता हुन्थ्यो । त्यति हुँदाहुँदै पनि सबैभन्दा थोरै दक्षिणा पाउदाँ मन सारै भारी भएर आउथ्यो । अनी लाग्थ्यो कहिले ठूली भएर धेरै दक्षिणा लिनु ।

आहा ! त्यो बालापनको दसैँ त्यो गाउँ घरको दसैँ अनी त्यति नै रमाइलो दसैँ । हुन त आजकाल पनि दसैँ नआउने हैन तर आजकालको दसैँमा म त्यो खुसी भेट्टाउन सक्दिन । अहिलेको दसैँ त्यो दसैँभन्दा बिल्कुलै फरक दसैँ लाग्छ । समय उमेर साथीहरु उही रहेनन् र यीसँगै आफ्ना खुसीहरु पनि उही रहन सकेनन् । सायद यो परिवर्तन मेरो मात्रै अवश्य नै हैन । पक्कै पनि यहाँहरुको दसैँमा पनि केही न केही परिवर्तन आएको हुनुपर्छ । मेरो अनुभवमा यो सहरको दसैँ गाउँको दसैँभन्दा बिल्कुल फरक हो । सहरमा दसैँ आयो की सबैको मुहारले पीडाबोध भएको दर्शाउँछ ।

दसैँ आयो भन्नासाथ अस्पतालका ईन्चार्जहरुमा नर्सहरुको काम गर्ने समय तालिका बनाउने विषय फलामको च्युुरा चपाउनु जस्तो हुन्छ । यता हामीहरुजस्ता अस्पतालमा कार्यरत नर्सहरुलाई छुट्टी पाइएला की नपाईएला भन्ने चिन्ता, टिकट पाउनै सास्ती पाएपनि सुरक्षषित रुपमा घर पुगिएला की नपुगिएला भन्ने ठूलो चिन्ता । यो चिन्तै चिन्ताको दसैँभन्दा त त्यो बालापनको निश्चिन्त दसैँ कयौं गुणा बेश । तर, के गर्नु बगेको खोला नफर्किए जस्तै गएको उमेर फर्कदैन । समयले जहाँ पुर्‍यायो त्यहाँ पुग्नुपर्ने बाध्यता त मेरो मात्र नभई सबैको उस्तै होला ! त्यसैले जहाँ जो जसरी रहेपनि त्यहि परिवेश अनुसार खुसीका साथ दसैँ मनाउनुस सबैलाई शुभकामना !!

स्टाफ नर्स कान्तिबाल अस्पताल

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ