किष्टमा उपचाररत सत्यमोहन जोशी प्रस्ट बोल्न छाडे
काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरूष सत्यमोहन जोशी प्रस्ट बोल्न नसक्ने अवस्थामा पुगेका छन् ।
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वाङ्मय शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको जनाएको छ । डेंगु संक्रमित उनलाई खानामा बिल्कुल अरुची तथा खुलेर संवाद गर्न नसक्ने भएको पाइएको अस्पतालले जनाएको हो ।
युरिन इन्फेक्सन तथा छातीमा निमोनियाका कारण जोशीलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको अस्पतालको भनाइ छ ।
किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क गर्दै आएको छ । घरमा समेत नर्स पठाएर सेवा दिंदै आएको छ ।
शताब्दी पुरुष जोशीको चक्रसंवर पौभा निर्माण गर्ने जीवनको ‘अन्तिम इच्छा’ रहेको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको अग्रसरतामा उक्त पौभा निर्माण गर्ने कामका लागि ४५ लाख बजेट विनियोजन गरिएको छ । जोशीको निवासमा चक्रसंवर पौभा निर्माणको काम लोक चित्रकारको नेतृत्वमा धमाधम भइरहेको छ ।
क्याटेगोरी : मेडिकल शिक्षा
तपाईको प्रतिक्रिया दिनुहोस