सत्यमोहनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरमा लगिदै


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरमा लगिदै छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रह अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि महानगर परिसरमा लग्न लागिएको हो ।

जोशीको पार्थिव शरीरलाई राज्यका उच्च पदस्थ कर्मचारी र सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गर्ने गरी महानगरपालिकाको प्राङ्गणमा राख्न लागिएको ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले जानकारी दिए । उनको पार्थिव शरीरलाई साढे १२ बजेदेखि ४ बजेसम्म ललितपुर महानगरपालिकाको प्राङ्गणमा राख्न लागिएको हो । त्यसपछि उक्त पार्थिव शरीर किष्ट मेडिकल कलेजलाई नै हस्तान्तरण गरिने छ ।

जोशीको पार्थिव शरीरमा नगल्ने केमिकल प्रयोग गरेर अध्ययनका लागि किष्ट मेडिकल कलेजमै राखिने भएको छ । उनको शरीर दान गरिसकेकाले नजलाइने अस्पतालले जनाएको छ ।

जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन राष्ट्रपति, प्रधानमन्त्रीलगायत राज्यका उच्च अधिकारीहरु ललितपुर महानगरपालिकामा जाने भएका छन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंह, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, पूर्व सांसद मदन अमात्यलगायत बिहानै जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन मेडिकल कलेज पुगेका थिए ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ