एनएचआरसीले भन्यो, ‘नेपालमा पनि गाँजा औषधिका रुपमा प्रयोग भएको पाईयो, क्लिनिकल ट्रायल सुरु गरौं’


काठमाडौं । नेपालको स्वास्थ्य अनुसन्धान परिषद्(एनएचआरसी)ले पहिलोपटक नेपालमा प्रतिबन्धित गाँजाको विषयमा बोलेको छ । गाँजा विज्ञहरुको लामो अध्ययन अनुसन्धानपछि परिषद्ले नेपाल सरकारलाई गाँजाको क्लिनिकल ट्रायल गर्न र औषधिजन्य गाँजाको खोजीका लागि फिण्डको अध्ययन गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य लाइभले पाएको जानकारी अनुसार अनुसन्धानबाट देखिएका विषयवस्तुहरुलाई समेटेर नेपालको स्वास्थ्य अनुसन्धान परिषद्ले केही दिनमा सरकारलाई रिपोर्ट बुझाउँदैछ । देशमा नसर्ने रोगको भयावह अवस्था देखिन थालेको छ । नसर्ने रोगले २१ औं शताब्दीमा विश्वलाई चिन्तित बनाइरहेको छ । यस्तो अवस्थामा नेपालले पनि औषधिको विकल्पका रुपमा गाँजाको खोजी सुरु गरेको हो ।

नसर्ने रोगको उपचारमा हुने पीडाको निदानका लागि गाँजामा औषधिय गुण भएको विभिन्न वैज्ञानिक अनुसन्धानले पनि स्विकारिरहेको अवस्था छ । मानिसमा मात्रै नभई वर्तमान समयमा पनि गाउँघरतिर गाई वस्तुहरूलाई अपच हुने समस्याको निराकरणका लागि गाँजाको प्रयोग भएको र हुनेगरेको अध्ययनका क्रममा पाइएको छ ।

एक जना अनुसन्धानकर्ताले स्वास्थ्य लाइभसँग भने, ‘गाँजामा दुई वटा तत्व देखिएको छ । एउटा सिबिडी र अर्को टिएचसी । सिबिडी औषधिका रुपमा प्रयोग गरिन्छ भने टिएचसी मनोरन्जनका रुपमा प्रयोग गरिन्छ ।’, गाँजा उपचारका लागि प्रयोग हुने कुरा विगतका प्रमाण र हालका अध्ययनबाट पुष्टि भएको छ । तर, नेपालमा उत्पादन भएका गाँजा सिबिडी हो वा टिएचसी हो पुष्टि गर्न फिल्ड अध्ययन अनुसन्धानको जरुरी देखिएको छ ।

गाँजालाई कानुनले प्रतिबन्ध लगाएकाले सरकारले नियम नबनाउँदासम्म फिल्डमा गएर अध्ययन अनुसन्धा गर्न पाईदैन । परम्परागत आयुर्वेद चिकित्सकलाई स्वतन्त्र रूपमा ती सुत्रहरू तयार गर्न अनुमति दिएमा स्थानीय मानिसहरूको लागि थप फाइदा हुनेछ । ऐनको लागु औषधको दुर्व्यसनी रोक्ने उद्देश्य कार्यन्वयन गर्ने कुरामा सतर्क रहदै गाँजाको औषधीय अनुसन्धान, कार्यन्वयन गर्न ऐनको प्रावधानले नै नियमावलीमार्फत थप व्यवस्था गरी ऐनको उद्देश्य कार्यान्वयन गर्न आवश्यक नियमावली र कार्यविधि जारी गर्नुपर्ने हुन्छ । यसका लागि गृह मन्त्रालयले गाँजासम्बन्धी नियमावली तत्काल ल्याउनु पर्छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विभिन्न समयमा देश तथा विदेशमा गाँजाबारे गरिएका अध्ययन र त्यसबाट तयार पारेको बुकलेटको अध्ययन अनुसन्धान माध्यमबाट प्रतिवेदन तयार पारेको हो ।

यस्तो थियो अध्ययनको आधार

टोलिले वनस्पतिसँग सम्बन्धीत १३९ वटा पब्लिकेशन हेरेका थिए । यता खाद्य र पोषणमा ४२५ पब्लिकेशन हेरेका थिए । त्यस्तै आयुर्वेदका बुकलेटहरु ८० वटा र क्लिनिकल रिपोर्ट ६ सयको हेरेर प्रतिवेदन तयार पारिएको हो । तर, क्लिनिकल अध्ययन नेपालमा हालसम्म भएको छैन । क्लिनिकल अध्ययन विदेशको वेशमा गरिएको थियो ।

आयुर्वेदिक औषधिको प्रक्षेपणका लागि यो अनुसन्धान भएको हो । गाँजाको विषयमा नेपालमा कुनै क्लिनिकल रिसर्च नभएकाले यसका लागि बाटो खोल्न आग्रह गरिएको हो । नेपालमा गाँजाको क्यानाबेस इन्डिका र सबिसेस इन्डिका गरी दुई प्रजाती पाइएको छ । त्यसैले फिल्डमा गएर अध्ययन गर्न आवश्यक छ ।

अध्ययनले देखाएको नतिजा

विज्ञहरुले तयार पारेको प्रतिवेदनले गाउँ घरमा गाँजाको प्रयोग शरीर दुखाईको बेला हुने गरेको पाइयो । त्यस्तै मानसिक रोग, क्यान्सर रोग, प्यारालाईसिस, नसोको समस्या भएको बिरामीले गाँजाबाट उपचार गर्ने गरेको पाइएको छ ।

आयुर्वेदका लागि सिंहदरबार वैद्यखानाको विवरण अनुसार २१ वटा औषधि गाँजाबाट बनेर प्रयोगमा आएको पाइएको छ । प्रतिवेदनले गाँजाबाट विभिन्न औषधि बनेको र वर्तमान समयमा पनि गाउँ घर तिर औषधिका रुपमा प्रयोग हुँदै आएकाले यसलाई विधिवत रुपमा प्रयोग गर्ने अनुसन्धानहरु सुरु गर्नुपर्छ भनेको छ ।

विकसित मुलुकमा अपनाएको यस्ता नियन्त्रित नीतिहरूलाई आधार मानेर नेपाल जस्तो विकासोन्मुख देशले गाँजाखेतीलाई वैधानिकता दिनुअघि पूर्व तयारी गर्नुपर्ने पक्षले धेरै महत्त्व राख्छ । नेपालमा वैज्ञानिक अनुसन्धानका लागि दक्ष जनशक्ति, अनुसन्धानका स्रोत साधनहरूको व्यवस्थापन गरिनु आवश्यक पर्ने देखिन्छ । नेपालमा पाइने गाँजामा कस्ता खालका प्रजातिहरू छन् ? औषधीय महत्त्वका रसायनको मात्रा कति पाइन्छ र कति प्रयोगमा ल्याउन सकिन्छ ? भन्ने जस्ता प्रश्नहरूको उत्तर  अझै पनि यकिन छैन ।

नेपालका लागि पनि यसको वैज्ञानिक अध्ययनबाट परिवेश सुहाउँदो मानक तयार गरिनु पर्छ । व्यापक अध्ययन र अनुसन्धानको नेपालमा अझै पनि खाँचो देखिन्छ र यदि यसलाई  समयसापेक्षताका आधारमा अध्ययन निरन्तरता दिइयो भने यसलाई धेरै प्रकारले फाइदाजन्य हिसाबले अगाडि बढाउन सकिन्छ । र गाँजा सम्बन्धित औधोगिकरण र नेपालमै औषधि निर्माणका विषयमा नियोचित योजना बनाउन सकिन्छ ।

अधिकारीहरु भन्छन्, ‘गाँजाबारे पहिला फिल्डमा गएर सर्भे गर्न जरुरी देखिएको छ । प्रतिवेदनमा  सरकारले गाँजा प्रयोग सम्बन्धी नियमावली तत्काल बनाएको अवस्थामा अनुसन्धान गर्न, औषधि प्रयोग गर्न, विभिन्न औधोगिकरणका लागि सुरु गर्न सकिन्छ भन्ने माग रहेको छ ।’,

यता नेपालमा भएको गाँजामा टिएचसी र सिबिडी  के छ एकिन नहुदा सम्म गाँजा खेती गर्न आवश्यक हुदैन । गाँजा सम्बन्धी नियमावली गृह मन्त्रालयले बनाएको खण्डमा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले क्लिनिकल ट्रायल सुरु गर्ने थियो । यसरी गर्दा विदेशमा अनुमति पाएका गाँजाका औषधिहरु नेपालमा ल्याएर समेत प्रयोग गर्न बाटो खुल्ने थियो ।

अध्ययनको मुख्य सुझाव

ऐनको लागु औषध दुर्व्यसनी रोक्ने उदेश्य कार्यान्वयन गर्ने कुरामा सतर्क रहदै गाँजाको औषधिय उत्पादन, अनुसन्धान, उपभोग गर्न मिल्ने व्यवस्थाको कार्यान्वयन गर्न ऐनको प्रावधानले नै नियमावलीमार्फत थप व्यवस्था गरी ऐनको उदेश्य कार्यान्वयन गर्ने आवश्यक नियमावली र कार्यविधि जारी गर्नुपर्ने ।

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विद्येयक अहिलेको आवश्यकता महशुस सबैले गरेको भएतापनि यस विद्येयकलाई कानुनको रुपमा मान्यता प्रदान गर्दा अझै गम्भिर अध्ययन र तयारी आवश्यक पर्ने देखिन्छ ।

गाँजा स्थानीय तहलाई स्थानीय अधिकार क्षेत्र कृषि अन्तर्गत राखी उत्पादन र नियमन गर्ने संरचनाको विकास गर्न सकिने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ