भोली हुने आम निर्वाचनमा ३९२ मतदान केन्द्र पूर्ण अपांगमैत्री
काठमाडौं । नेपालमा भोली आम निर्वाचन हुदैछ । आम निर्वाचनका लागि निर्वाचन आयोगले २२ हजार २२७ मतदान केन्द्र तोकेको छ । उक्त निर्वाचन केन्द्र मध्ये तीन सय ९२ मतदान केन्द्र अपांगमैत्री छन् ।
काठमाडौं उपत्यकाभित्र र सातवटै प्रदेशका राजधानीमा गरी १० जिल्लाको तीन सय ९२ मतदान केन्द्र पूर्ण रूपले अपांगमैत्री बनाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
सरकारी तथ्यांक अनुसार देशको कुल जनसंख्यामा दुई प्रतिशत अपांगता भएका व्यक्ति छन् । ‘अपांगता भएका व्यक्ति सबै मतदान केन्द्रमा हुन सक्छन् । अहिले नमुनाका रूपमा सयवटा अपांगला मैत्री मतदानस्थल र तीन सय ९२ केन्द्रलाई पूर्ण रूपले अपांगमैत्री तोकेको थपलियाले बताए । एक हजार २८ पुरुष र आठ सय ३८ महिला गरी कुल एक हजार ८८६ अपांगता भएका मतदाता छन् ।
कहाँ कहाँ छन् केन्द्र
आयोगको तथ्यांकअनुसार प्रदेश १ को राजधानी मोरङस्थित विराटनगर महानगरपालिकामा आठ तथा बेलबारी र सुन्दरहरैँचा नगरपालिकामा एक–एक मतदानस्थल अपांगमैत्री रहेका छन् ।
मधेश प्रदेशमा धनुषास्थित जनकपुर उपमहानगरपालिकामा १० मतदानस्थल अपांगमैत्री छन् । बागमती प्रदेशको राजधानी मकवानपुरस्थित हेटौँडा उपमहानगरपालिकामा १०, काठमाडौं उपत्यकास्थित काठमाडौं महानगरमा नौ र गोकर्णेश्वर नगरपालिकामा एक, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकामा १०–१० गरी ४० वटा मतदानस्थल अपांगमैत्री छन् ।
गण्डकी प्रदेशको राजधानी कास्कीस्थित पोखरा महानगरपालिकामा १०, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकामा ६ र तिलोत्तमा नगरपालिकामा चार, कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्र नगरपालिकामा १०, सुदूरपश्चिमको राजधानी कैलालीस्थित धनगढी उपमहानगर र गोदावरी नगरपालिकामा पाँच–पाँच मतदानस्थल रहेका छन् ।
आयोगले अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी, किरियापुत्री, ज्येष्ठ नागरिक, बिरामी, अशक्त, यौनिक अल्पसंख्यक मतदाताको सहज पहुँच हुने गरी पूर्ण र सामान्य रूपमा अपांगमैत्री हुने गरी मतदान केन्द्र निर्माण गरेको छ । त्यस्तै दृष्टिविहीन, शारीरिक रूपले अशक्त वा अरू कुनै कारणले मत संकेत गर्न नसक्ने मतदाताले आफ्नो साथमा लिएर आएको सहयोगीलाई मतदान केन्द्रमा जान दिने व्यवस्थासमेत मिलाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस