‘गर्भपतन गराउनै परे सुचिकृत स्वास्थ्य संस्था रोजौँ’


चितवन । पछिल्लो समय असुरक्षित गर्भपन चुनौती बन्दै गएको पाइएको छ ।

स्वास्थ्य लाइभ मिडियाले चितवनमा आयोजना गरेको एक कार्यक्रमा असुरक्षित गर्भपतन चुनौती बन्दै गएको बताइएको हो ।

देशमा प्रतिवर्ष करिब १ लाख महिलाले सुरक्षित रुपमा गर्भपतन गराउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार ४३ प्रतिशत गर्भपतन सुरक्षित भएको छ भने ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ ।

कार्यक्रममा सहभागी बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठले खुला नाका भएकाले भारतबाट गर्भपतन गराउने, औषधि दर्ता नगरी ल्याउने र त्यसको गुणस्तर पनि नहुने बताए । नेपालमा गर्भपतन गराउने औषधि ६ वटाले मान्यता पाएको उनके बताए ।

नेपालका औषधि निकै महँगा भएकाले भारतबाट लुकाएर नेपाल ल्याउने र दर्ता वाला औषधिको खोलमा हालेर सस्तोमा बिक्रि गर्ने गरेको पाइएको श्रेष्ठले बताए ।

‘हामीले निगरानी गर्न सकेनौं त्यो छुट्टै विषय हो’ श्रेष्ठले भने, अब जुन निकायले स्वीकृत दिएको छ उसलै यसको निगारनी गर्नुपर्छ ।’ श्रेष्ठ भन्छन्, ‘महिलाहरूले विभिन्न बाध्यताले गर्दा सुचिकृत स्वास्थथ्य सस्थाभन्दा बाहिर गएर गर्भपतन सेवा लिइरहेका छन् । जटिल अवस्थामा असुरक्षित गर्भपतन गराउँदा कतिपयको बाटोमै मृत्यु भएको छ ।’

श्रेष्ठका अनुसार आमाको मृत्यु हुने कारण मध्येको एउटा असुरक्षित गर्भपतन पनि हो । यसलाई सबै मिलेर कमगर्न सक्नुपर्छ ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर सुनिलमणि पोख्रेलले असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तश्राव, उच्च रक्तचाप र सङ्क्रमणका कारण मातृ मृत्युदर बढेको बताए ।

उनले भने, “एक त मुलुकी ऐनले आफैँमा बाझिएको छ । अर्को कुरा सचेतना र परिवार नियोजनका साधन प्रयोगमा कमी र लापरवाही छ ।”

समाजको डर, सामाजिक प्रतिष्ठा र जथाभाबी औषधिको प्रयोगले पनि असुरक्षित गर्भपतन बढेको उनको भनाइ छ ।

डा.पोखरेल भन्छन्, ‘पहिलो कुरा परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्छ । गर्भपतन गर्नु राम्रो हैन तर, गर्नै परेको खण्डमा सबैभन्दा सुरक्षित स्थानमा गएर गराउनु पर्छ । सर्भिस दिने निकाय पनि इमान्दार हुन आवश्यक छ । गर्भपतन गराउँनै परेको अवस्थामा सम्बन्धीत स्वास्थ्य सस्था सुचिकृत भए नभएको र व्यक्तिको बारेमा पूर्ण जानकारी हुनुपर्छ । सुचिकृत स्वास्थ्य सस्था भन्दा बाहिर गएर गर्भपतन गराउँदा विभिन्न सङ्क्रमण हुने डर हुन्छ ।’

मेरि स्टोप्स इन्टरनेशनलका उप निर्देशक अनिल यादवले कानुनी रुपमा गर्भपतनको सेवा लिन पाइन्छ भन्ने कुराको धेरैमा ज्ञान नभएको बताए ।

‘धेरै मानिसहरूलाई कानुनी रुपमा गर्भपतन सेवा लिन पाइन्छ, सेवा लिए वापत दण्ड सजाय हुँदैन भन्नेबारे ज्ञान छैन ।’ उनि भन्छन्, ‘गर्भपतन गैरकानुनी हो र यो सेवा लिएबापत दण्ड हुन्छ भन्ने आम महिलाको बुझाइ छ ।’

यादवका अनुसार नेपालको औषधि व्यवस्था विभागमा गर्भपतन गराउन ६ वटा मात्रै औषधि दर्ता भएको छ । यादवले बताए अनुसार खुला सिमानाका कारणले गर्दा दर्ता बिनाका र कम गुणस्तर भएका औषधिहरू पनि बजारमा प्रसस्ती पाइन्छ । यस्ता औषधि दुई दर्जन बढी छन् ।

बजारमा गर्भपतन गराउने औषधि दर्ता भएपनि त्यसको प्रयोग गर्ने बिधिबारे ज्ञान छैन । यसलाई सुरक्षित गर्न सकेको खण्डमा धेरैको ज्यान जोगाउन सकिने यादव बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेसम्म कुनै पनि व्यक्ति खुसी भएर गर्भपतन गराउन आएको पाएका छैनौं । मानिसहरू समस्या परेरै गर्भपतन गराउँन आएका हुन्छन् । दु:ख परेर आएका व्यक्तिहरूलाई सुरक्षित रुपमा गर्भपतन गराउनु पर्छ ।’

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ