३० हजारभन्दा बढी सनाखत नभएका शव व्यवस्थापन गरेका शेर्पालाई उपसचिव कार्कीको सहयोग


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी उप सचिव रोशनी कार्कीले बेवारिशे लासको व्यवस्थापन गर्ने एक बृद्धलाई सहयोग गरेकी छन् ।

स्वास्थ्य लाइभमा २७ मङ्सिरमा ‘बेवारिशे लासमाथिको बेवारिशे जिन्दगी’ शिर्षकमा प्रकाशित समाचार पढेर उप सचिव कार्कीले आफै बेवारिशे जीवन बिताएका दाबा नर्बु शेर्पालाई न्यायो कपडा र केही आर्थिक रकम सहयोग गरेकी हुन् ।

कार्कीको सहयोग स्वास्थ्य लाइभले शिक्षण अस्पताल पुगेर शेर्पालाई हस्तान्तरण गरेको छ । वर्षौ अगाडीदेखि बेवारिशे लासको व्यवस्थापन गर्ने शेर्पा आफै बेवारिशे छन् । शिक्षण अस्पताल परिसरको एक कुनामा उनलाई बस्ने ब्यवस्था अस्पतालले नै गरेको छ ।

४१ वर्षभन्दा अगाडिदेखि टिचिङ्ग परिसरमा रहेको करिब एक रोपनी जग्गामा उनले हजारौं सनाखत नभएका शवहरू गाडेका छन् ।

खातमाथि खात मृत शरीरहरू खप्ट्याएर पुरेका छन् । आफूले ३० हजार जति सनाखत नभएका शव पुरेको सम्झदै अब यो कामबाट विश्राम लिएको बताउछन् ।

उक्त शव गागिएको भुभागमा नयाँ भवन बन्न थालेपछि शेर्पाले पनि विश्राम लिएका हुन् ।

१७ वर्षको उमेरदेखि हनुमानढोकाबाट चिठ्ठी लिएर वीर अस्पालमा लास बोक्न थालेको शेर्पा सम्झन्छन् । शुरुमा दुईवटा टेम्पो लास बोक्नका लागि प्रयोग हुथ्यो । त्यसमध्ये एउटा लिलाम भयो र लास बोक्ने प्रयोजनका लागि एउटा बाँकी रह्यो ।

हनुमानढोका, केन्द्रीय कारागार लगायतका विभिन्न स्थानबाट कुहेर किरा परेका गन्धे लासहरूलाई डोरीले बाँधेर घिसार्दै टेम्पोमा हाल्ने र टेम्पोबाट झार्ने उनको काम थियो । त्यसका लागि वीर हस्पिटल र पछि गएर डीन कार्यालयले लुगा र पञ्जा दिन्थ्यो । लास बोक्ने टेम्पो चालक कान्छा तामाङ्ग भन्ने थियो जसको छोरी मन्त्री पशुपति शम्सेरको घरमा काम गर्थी शेर्पाले भने ।

टेम्पोमा एक पटकमा १५ वटा, ३० वटा, ४० वटा, ५० वटा जति पनि हुन सक्थे लासहरू दाउरा खप्ट्याए जस्तो गरी खप्ट्याएर हाल्ने शेर्पाको काम थियो । प्रहरीबाट सनाखत नभएका यी शवहरू नष्ट गर्नु भनेर चिठ्ठी आएपछि टेम्पोमा हालेर फोरेन्सिक विभाग अगाडिको खाली जमिनमा लास लिएर आउने शेर्पाको काम हुन्थ्यो ।

पोष्टमार्टमका लागि हनुमानढोका प्रहरीबाट आएको लास हो भने हनुमानढोका, बौद्धबाट आएको हो भने बौद्ध, कालीमाटीबाट लास आएको हो भने कालिमाटी त्यस्तै भक्तपुर प्रहरी मार्फत आएको लास हो भने भक्तपुर प्रहरीले नै सनाखत हुन नसकेका लास पुर्नु भनेर चिठ्ठी पठाउँने गरेको छ । त्यसैको आधारमा ठूलो खाल्डो खनेर एकै पटक धेरै लासहरू हालेर पुर्ने गरेको शेर्पाले बताए । यस्तो काम गर्ने शेर्पा अहिले सबैको बेसाहारा बनेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ