४० लाख खोप लुकाएर मन्त्रालयले भन्यो, कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिन सक्छ
काठमाडौं । ४० लाख कोरोना भाइरस विरूद्ध प्रयोग गर्न ल्याइएको खोप खाल्डामा गाड्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज कोरोनाको जोखिम बढ्न सक्ने भन्दै विज्ञप्ती जारी गरेको छ । तर, चीनले उपलब्ध गराएको प्रयोगमै ल्याउन नमिल्ने ४० लाख खोपबारे बोलेको छैन ।
मन्त्रालयले कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । केही देशहरूमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि हुन थालेको भन्दै मन्त्रालयले प्रवेश बिन्दुका हेल्थ डेस्कहरू तथा स्वास्थ संस्थाहरूलाई आवश्यक तयारी थाल्न आग्रह गरेको हो ।
कोरोना सङ्क्रमण कम भएसँगै विगतका संरचना शून्यमा पुगेका छन् । ‘विश्वव्यापी रुपमा हेर्दा केहि देशहरूमा सङ्क्रमणका नयाँ स्वरुपका जोखिम बढीरहेका छन् । विशेषतः हाम्रै छिमेकी देशहरूमा सङ्क्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ ।’,
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नयाँ भेरियन्ट फैलिदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरूसँग समन्वय गर्ने कार्य गरिरहेको छ ।’
मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट बीए–२, बीए २.७५, बीए २.७५.१, बीए २.७५.२, बीए २.७५.३, बीए २.७५.५, बीए २.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५.२.१,बी.एम.१, बिएम १.१.३, बिएन १.३,बी क्यूब १.१,बिक्यूव १.२, बि.वाइ.१ पुष्टि भएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस