आज दोस्रो ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाइँदै
काठमाडौं । सरकारले ११ पुस अर्थात् आज दोस्रो ज्येष्ठ नागरिक राष्ट्रिय दिवस मनाउँदैछ । यस वर्षको नारा ‘हामी सबैको सरोकारः ज्येष्ठ नागरिको अधिकार’ भन्ने रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी उप सचिव रोशनी कार्कीले देशमा २१ लाखभन्दा बढी ज्येष्ठ नागरिक भएको बताईन् ।
उनका अनुसार २१ लाख ५४ हजार रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले गरेको अध्ययन अनुसार विश्वमै ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या ४३ करोड ४० लाख बढी रहेको छ ।
तथ्याङ्क अनुसार प्रदेश १ मा ३ लाख ९३ हजार, मधेश प्रदेशमा ४ लाख ५ हजार ६ सय ९८, वाग्मती प्रदेशमा ४ लाख ५५ हजार ९ सय ८७, गण्डकी प्रदेशमा २ लाख ८२ हजार ९ सय ८१, लुम्बिनी प्रदेशमा ३ हजार ३६ हजार ३ सय ५१, कर्णाली प्रदेशमा ८७ हजार ६ सय ३६, सुदूरपश्चिम प्रदेशमा १ लाख ९२ हजार ७ सय ६६ जना रहेका छन् ।
मन्त्रालयले ज्येष्ठ नागरिक लक्षित जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी मापदण्ड जारी गरेको छ । उक्त मापदण्डले ज्येष्ठ नागरिकको विशेष संरक्षण र सामाजिक सुरक्षासहित स्वास्थ्य सेवामा सरल, सहज, निःशुल्क पहुँच पुर्याई जेरियाट्रिक स्वास्थ्य सेवा संचालन भएका अस्पतालहरूमा औषधि, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार, उपकरण तथा औजार लगायतका सामग्री व्यवस्थापन गर्न ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन मापदण्ड, २०७८ जारी भएको छ ।
उद्देश्य
प्रचलित कानुनले तोकेबमोजिम ज्येष्ठ नागरिकलाई सरल, सहज, निःशुल्क, सहुलियतपूर्ण छुट सुविधा सहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने रहेको छ ।
ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन भएका अस्पतालहरूमा यथेष्ट मात्रामा स्रोतसाधन तथा सहायक सामग्रीको व्यवस्थापन मिलाउने उप सचिव कार्कीले बताईन् ।
उनका अनुसार ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, शय्या, (बेड) सहायक सामग्री, मेशिन, औजार ज्येष्ठ नागरिकको पहुँचसहित स्वास्थ्य सेवालाई ज्येष्ठ नागरिक मैत्री बनाउने छ । त्यस्तै ज्येष्ठ नागरिकहरुको बढ्दो उमेरलाई स्वस्थ, निरोगी र अर्थपूर्ण बनाउने रहेको छ ।
ज्येष्ठ नागरिक स्वास्थ्य सेवा प्रवाह प्रक्रिया
ज्येष्ठ नागरिक स्वास्थ्य सेवा प्रवाह ः ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा प्रवाह गर्दा स्वास्थ्य संस्थाको बहिरङ्ग विभाग दर्ता, जेरियाट्रिक बहिरङ्ग विभाग सञ्चालन, जेरियाट्रिक बहिरङ्ग विभागमा जाच्ने प्रक्रिया, जेरीयाट्रिक बहिरङ्ग विभाग संवाद विधि, स्वास्थ्य सेवा बहिरंग विभागमा मानव संसाधनको व्यवस्थापन, ज्येष्ठ नागरिक स्वास्थ समीक्षा, जेरियाट्रिक वार्ड सञ्चालन, ज्येष्ठ नागरिक वार्डमा मानव संसाधनको व्यवस्थापन, जेरियाट्रिक वार्ड बाहेक अन्य वार्डमा उपचाररत ज्येष्ठ नागरिको जेरियाट्रिक स्वास्थ्य सेवा, ज्येष्ठ नागरिक आश्रम/वृद्धाश्रम र ज्येष्ठ नागरिक मिलन केन्द्र वा दिवा–सेवा केन्द्रसँग समन्वयमा मापदण्ड तोकिएको छ ।
निर्देशिकाले जेष्ठ नागरिक वार्डमा मानव संसाधनको व्यवस्थापन गरेको
जेरियाट्रिक वार्डको प्रभावकारी सञ्चालनका निम्ति जेरियाट्रिक स्वास्थ्य सेवा विषयमा तालिमप्राप्त नर्सिङ्ग स्टाफः हरेक ५ बिरामी बराबर हरेक सिफ्टमा १ जना रहेको छ ।
जेरियाट्रिक स्वास्थ्य सेवा विषयमा तालिमप्राप्त मेडिकल अधिकृतः हरेक २० बिरामी बराबर १ जना,जेरियाट्रिक विशेषज्ञः हरेक ४० बिरामी बराबर १ जना रहेको छ ।
जेरियाट्रिक विशेषज्ञ उपलब्ध हुन नसकेको खण्डमा जेरियाट्रिक चिकित्सामा तालिमप्राप्त विशेषज्ञ हुनुपर्नेछ । सो पनि उपलब्ध हुन नसकेको खण्डमा विशेषज्ञ चिकित्सक हुनुपर्नेछ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस