भोजपुरका सांसद सुदन किराँती स्वास्थ्यमन्त्री बन्न सक्लान ?
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । गृह, भौतिक पूर्वाधार, अर्थलगायतका मन्त्रालयले नेतृत्व पाएपनि सामाजिक विकास र सेवासँग जोडिएका स्वास्थ्य, शिक्षाजस्ता मन्त्रालय प्राथमिकतामा परेको देखिंदैन ।
मन्त्रिपरिषद् बिस्तारको पहिलो चरणमा स्वास्थ्य, शिक्षालगायतका मन्त्रालय प्राथमिकतामा नपरेपनि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले स्वास्थ्य मन्त्रालय आफ्नो भागमा पार्ने कोशिस गरिरहेको छ । त्यसो त स्वास्थ्य मन्त्रालयमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आँखा लगाएको छ । रास्वपाबाट स्वास्थ्य मन्त्रालयको नेतृत्वमा प्रा. डा. चन्दा कार्की र तोषिमा कार्कीको दाबी छ ।
भौतिक पूर्वाधार मन्त्रालयको दाबी गरिरहेका माओवादी केन्द्र भोजपुरका सांसद सुदन किराँतीको ध्यान पनि स्वास्थ्यमा गएको छ । २६ वर्षको उमेरमा सांसद बनेका किराँतीको संसद यात्रा तेस्रोपटक हो । उनी २६ वर्षकै उमेरमा२०६४ सालको पहिलो संविधानसभा चुनावमा भोजपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । संविधान जारी भएपछि २०७४ सालमा प्रतिनिधिसभा सदस्य भएका किराँती मन्त्री भने बन्न पाएनन् । अहिले एक मात्र प्रतिनिधसभा निर्वाचन क्षेत्र रहेको भोजपुरबाट तेस्रोपटक निर्वाचित भएका किराँती भौतिक विकाससँगै सामाजिक विकास र मानव विकास पनि महत्त्वपूर्ण रहेको बताउँछन् ।
भोजपुर जिल्लाबाट काठमाडौंमा आएर बसोबास गर्नेहरुले गरेको सम्मान कार्यक्रममा बोल्दै सांसद किराँतीले भोजपुरमा एम्बुलेन्स नपाएर गर्भवतीले ज्यान गुमाउनु परेको पीडा सुनाए । उनले सिटामोल नपाएर भोजपुर जनता प्रताडित बन्नु परेको प्रसंग झिके । भोजपुर जिल्लामा स्वास्थ्य र शिक्षाको अवस्था सुधार्नु पर्ने निष्कर्ष निकालेका सांसद किराँतीको रोजाईमा स्वास्थ्य मन्त्रालय परेको देखिन्छ ।
माओवादी केन्द्रले सुदन किराँती र अमनलाल मोदीलाई मन्त्री बनाउने सूचीको प्राथमिकतामा राखेको छ । त्यसैले किराँती मन्त्री बन्ने पक्का जस्तै छ । भोजपुरमा बाँदरले दुःख दिइरहेको र स्वास्थ्य र शिक्षाको अवस्था कमजोर हुँदा जिल्लाबाट बसाईसराई बढ्ने क्रममा रहेको तथ्य सार्वजनिक गरेका उनले स्वास्थ्य मन्त्रालय लिएर त्यतातर्फ ध्यान दिने विश्वास लिइएको छ ।
वरिष्ठ अधिवक्ता केदार कार्कीले किराँतीलगायत भोजपुरबाट नवनिर्वाचित सांसदहरुलाई भोजपुर डेभलपमेन्ट फोरम बनाएर भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा काम गर्नु पर्ने सुझाव दिए । ‘भोजपुरको आवश्यकता हेरेर कुन ठाउँमा सडक चाहिन्छ, कुन ठाउँमा अस्पताल चाहिन्छ, कुन ठाउँमा विद्यालय चाहिन्छ यो फोरम मार्फत घनिभूत छलफल गरेर भोजपुरको समग्र विकासमा जोड दिऔं’, वरिष्ठ अधिवक्ता कार्कीले सुझाएका छन् ।
यी कुरालाई ध्यान दिएर सुनेका सांसद किराँतीले भोजपुर जिल्लामा स्वास्थ्य सेवा र पूर्वाधारको अवस्था सुधार्न ध्यान दिनुपर्ने बताए । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले भोजपुर जिल्ला अस्पताल ५० शय्याको बनाउन लागिपरेको बताए । भोजपुरको स्वास्थ्य क्षेत्रमा कायापलट गर्नुपर्ने आवश्यकता बुझेका सांसद किराँतीले स्वास्थ्य मन्त्रालय रोज्ने र पाउने सम्भावना उत्तिकै छ । किराँती भने पार्टीले आवश्यकता ठानेमा आफू जनताको सेवामा समर्पित हुन तयार रहेको बताउँछन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस