प्रविधिमैत्री सेवामा स्वास्थ्यभन्दा पर्यटन मन्त्रालय अगाडि
काठमाडौं । प्रविधिमैत्री सेवामा बागमती प्रदेशको स्वास्थ्यभन्दा पर्यटन मन्त्रालय अगाडि देखिएको छ । स्वास्थ्य मन्त्रालयभन्दा एक कदम अगाडि बढेर बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले विद्युतीय माध्यमबाट सेवा उपलब्ध गराउने प्रणालीको विकास गरेको छ ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीलाई अनलाइनमार्फत सेवा दिने योजना कार्यान्वयन गरेका छन् । सेवाग्राहीलाई सहज, सरल र सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले पर्यटन व्यवसायीलाई विद्युतीय माध्यमबाट सेवा दिने व्यवस्था गरिएको पर्यटनमन्त्री श्रेष्ठले बताए ।
‘पर्यटन व्यवसायीहरूको बृहत्तर हितलाई ध्यानमा राखी सेवाग्रहीलाई सर्वसुलभ तरिकाले सेवा प्रदान गरिने हेतुले विद्युतीय माध्यमबाट पर्यटकीय इजाजत सेवा शुभारम्भ गरिएको छ । यसले सेवाग्राहीलाई सहजता हुने विश्वास लिएको छु ।’, पर्यटनमन्त्री श्रेष्ठले भने ।
संघीय सरकारभन्दा एक कदम अगाडि बढेर बागमती प्रदेशको पर्यटन मन्त्रालयले विद्युतीय माध्यमबाट पर्यटकीय इजाजत सेवा दिने प्रणालीको विकास गरेको हो ।
पर्यटन मन्त्रालयले दिने सेवा अनलाइनमैत्री हुने पनि मन्त्री श्रेष्ठको घोषणा छ । यो सुरुवात मात्र भएको भन्दै उनले विस्तारै संस्कृति तथा पर्यटन मन्त्रालयले दिने सेवा अनलाइनमैत्री र झन्झटरहित हुने सुनाए ।
लाइनमा बसेर सेवा लिनुपर्ने र बिचौलिया समात्नु पर्ने अवस्था अन्त्य गर्न आफूले यो कदम चालेको पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको उपत्यका पर्यटन कार्यालय सेवाग्राहीको हितलाई ध्यानमा राखेर हात्तिवनबाट पायक पर्ने स्थानमा सार्नका लागि आफूले पहल गरिरहेको पर्यटनमन्त्री श्रेष्ठले जानकारी दिए ।
उक्त कार्यक्रममा बागमती प्रदेशका पर्यटन सचिव मदन कोइराला, उपत्यका पर्यटन कार्यालयका प्रमुख नेत्र भट्टराई, कर्मचारी र पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : सुशासन
तपाईको प्रतिक्रिया दिनुहोस