प्रमुख विशेषज्ञका लागि तीन जनाको नाम पुन: भोलि पठाइने


काठमाडौं । अघिल्लो सरकारले सिफारिस गरेका फाइलहरू फिर्ता गर्ने क्रममा स्वास्थ्यमा प्रमुख विशेषज्ञ नियुक्तिका लागि पठाएको फाइल पनि फिर्ता भएको छ । सोमवार उक्त फाइल फिर्ता गरेर पुन: पठाउन प्रधानमन्त्री कार्यालयले भनेको छ ।

सरकार नै नभएको अवस्थामा त्यसलाई फिर्ता लगेर पुन: सिफारीस गर्न निर्देशन भए अनुसार फिर्ता ल्याइएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

उनले भने, ‘टिप्पणी मात्रै फेरिने हो तर, व्यक्ति फेरिने हैन । आजै पठाउन भनिएको थियो तर, समय अभावले गर्दा भोलि मात्रै पठाउने कुरा भएको छ ।’

स्वास्थ्य सेवा अन्तर्गतको १२ औं तह प्रमुख विशेषज्ञ बढुवाको फाइल शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले मन्त्रिपरिषद पठाएका थिए । फिर्ता गरिएका तीन जनाकै नाम पुन भोलि पठाइने छ ।

सरकारले सम्भवत:अब बस्ने मन्त्रिपरिषद् बैठकबाट तीन जना मध्ये सिनियरका आधारमा दुई जनालाई प्रमुख विशेषज्ञ पदमा बढुवा गर्नेछ ।

स्वास्थ्य मन्त्रालयले १२ औं तहमा बढुवाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका डा.टंक बराकोटीको नाम सिफारिस गरेको छ । उनीहरूलाई क्रमशः १,२ र ३ नम्बरमा सिफारिस गरेको हो । यही बरियतामा पुन:सिफारिस हुनेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ