डा. डीलाका श्रीमानलाई स्पष्टीकरण, डीनाका श्रीमानलाई हाइसञ्चो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वास्थ्य र अर्थमा गरेको दुई नियुक्ति विवादमा आयो । उक्त नियुक्तिका कारण सुनसरी र मकवानपुर कांग्रेसलाई ठूलो धक्का समेत पुग्न गएको छ ।
देउवा नेतृत्वको सरकारले विवादकाबीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिष्ट्रारमा कांग्रेस नेतृ डा. डीला संग्रौलाका श्रीमान डा. सूर्य संग्रौलालाई नियुक्त गर्यो । वीपी प्रतिष्ठानका उपकुलपतिसहितका पदाधिकारीलाई कारबाही गर्न शुद्धीकरणको आन्दोलन भइरहेको अवस्थामा वीपीका विवादास्पद उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई सहज हुने गरी डीलाका श्रीमान डा. सूर्यलाई रजिष्ट्रार बनाएपछि सुनसरीका जनता कांग्रेससँग चिढिए ।
अघिल्लोपटक प्रतिनिधिसभा सुनसरीका ३ क्षेत्र जितेको कांग्रेस मुस्किलले एक क्षेत्र मात्र जित्न पुग्यो । वीपीका उपकुलपति डा. गिरीलाई बचाउने उद्देश्यले डीलाका श्रीमान रजिष्ट्रार बनाउन भूमिका खेल्ने तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मुस्किलले निर्वाचित भएका छन् । तर कांग्रेसलाई नै क्षति पुग्नेगरी उनीहरूले वीपीको रजिष्ट्रार बनाएका डा. सूर्यलगायतलाई भने अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ ।
वीपी प्रतिष्ठानको रजिष्ट्रार बनाएपछि विभिन्न फण्डा निकाल्दै आएका डा. सूर्यका कारण प्रजातान्त्रिकधारका चिकित्सकहरु चिढिएका छन् । यसले सुनसरीमा कांग्रेसले थप क्षति बेहोर्ने निश्चित जस्तै छ ।
डा. डीलाका श्रीमान सूर्यलाई वीपी प्रतिष्ठानको रजिष्ट्रार बनाएर आलोचित बनेको कांग्रेस सभापति देउवा नेतृत्वको सरकार अर्की नेतृ महालक्ष्मी उपाध्याय (डीना)का श्रीमानलाई नियुक्ति दिएर विवादमा आयो । डीनाका श्रीमान दिनेश उपाध्यायलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष बनाएपछि त्यसले कांग्रेसलाई थप क्षति पुगेको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको वडाध्यक्षमा पराजित डीनका श्रीमान दिनेशलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष बनाएपछि त्यसको असर देशव्यापी पर्यो । अहिले शेरबहादुर देउवाकी श्रीमती आरजु देउवा र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणलाई समानुपातिकमा राखेर कांग्रेसको मत घटेको आरोप लागिरहेका डीला र डीनाका श्रीमानको नियुक्तिले गरेको असरको चर्चा छैन ।
विवादित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेटेको विषयले विवादमा तानिएकी डीना वडाध्यक्षमा पराजित श्रीमानलाई बीमाको अध्यक्ष बनाएपछि झन विवादित बनिन् ।
स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा लोकप्रिय मत ल्याएका दीपक सिंहसामु उनी उठ्न सकिनन् । श्रीमानलाई वडाध्यक्षमा जीताउन नसक्ने डीना आफूलाई हराएको भनेर रुवावासी गरिरहेकी छिन् । डीलाका श्रीमानलाई स्पष्टीकरण सोधिसकेको अवस्थामा निगाहबाट जागिर खाएका डीनाका श्रीमानलाई भने हाइसञ्चो भएको देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस